आजदेखि ७५३ वटै स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्‍ताह सुरु हुँदै

काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्‍ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रह बमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । यसकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्‍ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ । विभागले गत चैतको अन्तिम साता नै सबै स्थानीय तहलाई परिपत्र गर्दै विविध कार्यक्रमसहित सप्‍ताह मनाउन आग्रह गरिसकेको छ ।

काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु: वाइफाइ र सीसीटिभीको सुविधा, नगर प्रहरीले सुरक्षा दिने

काठमाडौं ।  काठमाडौंमा आजदेखि वाइफाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ । यो सेवाले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुल्चोकबाट सुरु गरिएको हो ।  काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरेका हुन् ।  बस सञ्चालनको प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् । हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सीसीटिभी क्यामराबाट निगरानी हुनेछ । यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले सामान हराउने हुँदैन । गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरुको सुरक्षाका लागि काठमाडौं महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी पोशाकमा खटाएको छ ।  सेवा प्रारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन सेवालाई दिगो बनाउने र विहानी सेवालाई प्रारम्भ गर्ने योजना रहेको बताइन् । ‘नयाँ बर्ष शुरुवातसँगै महत्वपूर्ण निर्णयको कार्यान्वयन भएको उनले बताइन् । विगतको अभ्यासबाट प्राप्त पृष्ठपोषणका विषय उल्लेख गर्दै भनिन, ‘हिजोको अभ्यास लगानीको आर्थिक प्रतिफलमा केन्द्रीत थियो । आज हामीले आर्थिक प्रतिफलमा होइन, चुस्त र गुणस्तरीय सेवालाई लक्ष्य मानेका छौं । उपत्यकाका स्थानीय तहका बिचमा समन्वय गरेर लागत सहभागिताको मोडल बनाउँछौं । अब हाम्रो योजना भनेको रात्रि सेवालाई दिगो बनाएर विहानी सेवालाई प्रारम्भ गर्ने हो । ’ सेवा सञ्चालनका विषयमा हामी उपत्यकाका स्थानीय तहका बिचमा एक मत छ । ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले भने, ‘आर्थिक साझेदारितामा सबैको साझा मत नै सेवा दिगो हुने महत्वपूर्ण आधार हो । यो सेवाबाट धेरै नागरिक लाभान्वित हुने भएकोले म पनि धेरै उत्साहित छु ।’  चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले थानकोट नाकाबाट दैनिक ५० हजार व्यक्ति काठमाडौं आवतजावत गर्ने गरेको बताए । चन्द्रागिरिका पर्यटकीय स्थानहरुमा काठमाडौंबाट जान आउन सजिलो हुने भएपछि यसले आर्थिक र सामाजिक क्रियाकलापमा स्वतः योगदान गर्ने प्रमुख गिरीको भनाइ छ । बुढानीलकण्ठ नगरका प्रमुख मिठाराम अधिकारीले रात्रि बस सेवाका विषयमा स्थानीयहरुसँग आफूले लिएको प्रतिक्रियाका बारेमा जानकारी गराउँदै भने, ‘स्थानीयबासी धेरै खुशी हुनुहुन्छ । यसलाई विकास र विस्तार गर्दै लैजानुपर्छ । ’  नगरपालिकाहरुले साझा यातायातसँगको सहकार्यमा यो सेवा प्रारम्भ गरेका हुन् । आउँदो असार मसान्तसम्म सेवाको लागत साझा यातायातले व्यहार्नेछ । यस अवधिमा खर्चको विश्लेषण गरेर पालिकाहरुले लागत सहभागिता व्यहार्ने प्रतिवद्धता हाम्रा लागि महत्वपूर्ण छ । साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलको धारणा राखे ।   रात्रिकालीन बस सेवा सञ्चालनका लागि गरिएको पूर्व अभ्यासमा वुढानीलकण्ठदेखि बेलुका ८ बजे छुटेको बस १६ मिनेटमा महाराजगञ्ज चोक पुगेको थियो । लगनखेल पुग्दा ८ बजेर ४६ मिनेट भएको थियो । सवारी चापका कारण यो बसले जमल क्षेत्रमा केही समय रोकिनु परेको थियो । थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलंकी चोक र ४५ मिनेटमा एअरपोर्ट पुगेको थियो ।  बस सेवाहरु हरेक रुटका सुरु र अन्तिम विन्दुबाट गुड्नेछन् । अर्थात् दक्षिण रुटमा चल्ने एउटा सवारी साधन ललितपुरको लगनखेलबाट सुरु भएर पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ ।  अर्को बस बुढानीलकण्ठबाट गंगालाल अस्पताल, महाराजगञ्ज चोक, पानीपोखरी, लाजिम्पाट, जमल,, थापाथली, पुल्चोक हुँदै लगनखेल पुग्नेछ । नयाँ सडक गेट अर्थात् एनएसी अगाडिबाट एउटा बस छुट्नेछ । यसरी ३ वटा विन्दुबाट बस गुडेपछि हरेक बस विसौनीमा २० मिनेटको अन्तरमा बस आइ पुग्नेछ । यो सडकको एकतर्फी दुरी १६ किलोमिटर हो ।  पूर्वपश्चिम रुटको दुरी २० किलोमिटर छ । यो रुटमा एउटा बस थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जमल, भद्रकाली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमान स्थलका लागि छुट्नेछ । अर्को बस विमानस्थलबाट, तीनकुने, मीनभवन, नयाँ बानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कालीमाटी, सोल्टीमोड, रविभवन, कलंकी हुँदै थानकोटतर्फ गुड्नेछ ।   नयाँ सडक गेट अगाडि अर्थात् एनएसीबाट एउटा बस थानकोटतर्फ र अर्को बस विमानस्थल तर्फ छुट्नेछ । यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।

ललितपुर महानगरको नयाँ फड्को : फोहोर संकलनमा विद्युतीय गाडी, वार्षिक ७० लाख बचत

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति अन्तर्गत ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो ।  महानगर प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमकाबीच यी गाडीहरू हस्तान्तरण गरे । फोटोन कम्पनीका  यी गाडीहरू विशेष गरी ललितपुरका पुराना र साँघुरा गल्लीहरूमा सहजै जानसक्ने गरी डिजाइन गरिएका छन् । ४.९ मिटरको टर्निङ रेडियस भएका यी गाडीहरूले महानगरको फोहोर व्यवस्थापनमा क्रान्तिकारी सुधार ल्याउने विश्वास गरिएको छ ।  उनले उपलब्ध भएसम्म अब पेट्रोल र डिजेलबाट चल्ने गाडी नचल्ने बताए । महानगरकाअनुसार यी गाडीहरूमा ‘इलेक्ट्रिक बुम’ जडान गरिएको छ, जसले गर्दा फोहोर खन्याउन थप जनशक्तिको आवश्यकता पर्दैन । साथै, सबै गाडीहरूमा जडान गरिएको छ, जसले गर्दा गाडीको अवस्था र रुटको रियल–टाइम अनुगमन गर्न सकिनेछ ।   उनले भने, ‘हामीले एउटा नीति बनाएका छौं, जहाँसम्म उपलब्ध हुन्छ, हामी पेट्रोल र डिजेलबाट चल्ने गाडी किन्दैनौं । यो हाम्रो नगर सभाबाट अनुमोदन भएको नीति हो । ललितपुरलाई उज्यालो र हरियाली सहर बनाउने हाम्रो साझा प्रयासमा यो नयाँ अध्याय थपिएको छ ।’  यो पहलले वातावरण संरक्षण मात्र नभई महानगरको खर्चमा पनि ठूलो कटौती गर्ने उनको विश्वास छ । डिजेल गाडीको तुलनामा विद्युतीय गाडी सञ्चालन गर्दा वार्षिक करिव ७० लाख रुपैयाँ वचत हुने महानगरको प्राविधिक अध्ययनले देखाएको छ ।