तारकेश्वर गाँउपालिका-६ का वडाध्यक्ष रिमालको निधन

त्रिशूली । नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ। गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो । नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित थिए । उनको निधन प्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाँउपालिकाले आज शोक बिदा दिएको छ । गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल)ले शोक वक्तव्य जारी गर्दै वडाध्यक्ष एवम् कार्यपालिका सदस्य रिमालको निधनमा आज ‘तारकेश्वर शोकको दिन’ घोषणा गर्दै गाँउपालिका, वडा कार्यालयहरू, सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा शोक बिदा दिएर राष्ट्रिय झण्डा आधा झुकाउने उल्लेख गरिएको छ ।   

बजेट खर्चमा काठमाडौं महानगरको बिजोग, २५ अर्बमा १३ अर्बमात्रै खर्च

काठमाडौं । काठमाडौं महानगरले गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कुल १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ खर्च गरेको छ ।  जुन कुल बजेटको ५२.१३ हो । महानगरले गत आवमा कुल २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याएको थियो । महानगरले असारसम्ममा पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ विनियोजन भएकोमा ६ अर्ब ७३ करोड १३ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जुन कुल बजेटको ४४.६८ प्रतिशत हुन आउँछ । त्यस्तै, आव २०८१/८२ मा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार विनियोजन भएकोमा ६ अर्ब २२ करोड ९१ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ६३.४१ प्रतिशत हो । काठमाडौं महानगरको लागि मात्रै गत आवमा कुल २० अर्ब २७ करोड ५८ लाख ३२ हजार रुपैयाँ बजेट छुट्एको थियो । महानगरले कुल बजेटको ५०.२१ प्रतिशत खर्च गरेको छ ।  महानगरले चालुतर्फ ९ अर्ब ६ करोड ११ लाख रुपैयाँ र पुँजीगततर्फ ११ अर्ब ८ करोड ६७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा खर्च क्रमशः ५ अर्ब ६७ करोड ६ लाख रुपैयाँ र चार लाख ४४ करोड १ लाख रुपैयाँ भएको छ। काठमाडौं महानगर वडा न १ को लागि वार्षिक कुल १८ करोड ३ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ६ करोड ३७ लाख ३३ हजार रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ३५.३४ प्रतिशत खर्च हो । उक्त वडाले पुँजीगततर्फ ५ करोड ४६ लाख ५६ हजार रुपैयाँ ५६ हजार रुपैयाँ खर्च गरेको छ ।  वडा नं १ को लागि गत आवमा पुँजीगतर्फ १६ करोड २९ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएको थियो । त्यस्तै चालुतर्फ उक्त वडाको लागि १ करोड ७४ लाख १८ हजार रुपैयाँ विनियोजन गरेकोमा ९० लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । वडा नं २ ले गत आवमा कुल बजेटको ६२.३८ प्रतिशत खर्च गरेको छ । उक्त वडाको लागि महानगरले १३ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ८ करोड ३६ लाख रुपैयाँ खर्च गरेको छ ।  वडा नं २ को लागि महानगरले चालुतर्फ एक करोड एक लाख रुपैयाँ बजेट विनियोज गरेकोमा ६९ लाख रुपैयौँ खर्च भएको छ । त्यस्तै पुँजीगतर्फ १२ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएकोमा ७ करोड ६७ लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ ।  वडा नं ३ ले आव २०८१/८२ मा कुल बजेटको ६३.८६ प्रतिशत खर्च गरेको छ । उक्त वडाको लागि गत आवमा १८ करोड २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्‍याउने

सिरहा । लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्‍याउने महत्वाकाङ्क्‌षी योजना सार्वजनिक गरेको छ ।  नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएकोे बताए ।  नगर प्रमुख चौधरीले भने, ‘हामीले २०३० सम्म २४ वटै वडामा पानी पुर्‍याउने योजना बनाएका छौं ।’ योजनाअनुसार प्रारम्भिक चरणमा वडा नम्बर १३, १४, १६ र २४ मा पाइपलाइन जडान गरिनेछ भने आगामी वर्षभित्र वडा नम्बर ११, १२, १८ र २० मा योजना विस्तार गरिनेछ ।  नगरका चार सय दलित तथा विपन्न परिवारलाई निःशुल्क धारा जडान गरिनेछ जनाइएको छ । खानेपानीसँगै लहानालाई खुला दिसामुक्त क्षेत्र सुनिश्चित गर्ने लक्ष्य सार्वजनिक गरिएको छ ।  आगामी वर्षभित्र तीन हजार शौचालय निर्माण गरिने नगरप्रमुख चौधरीले जानकारी दिए ।