करोडौंको सरकारी भवन प्रयोग विहीन, भाडाको घरमा गाउँपालिका

काठमाडौं । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका-१ गौरीपुर स्थित लक्ष्मीनियाँधार किनारमा निर्माण गरिएको करोडौं लगानीको ‘विष्णु भवन’ वर्षोंदेखि प्रयोग विहीन अवस्थामा छ । वृद्धाश्रम सञ्चालनको उद्देश्यले करिब ३ करोड रुपैयाँमा बनेको उक्त भवन अहिले जर्जर बन्दै गएको छ । भवन निर्माणका लागि सुरुमा २ करोड ५० लाख रुपैयाँको बजेट ल्याइएको थियो भने ठेक्का सम्झौता २ करोड रुपैयाँमा गरिएको थियो पछि भान्साघर निर्माणका लागि थप १ करोड रुपैयाँ खर्च भएको पूर्ववडाध्यक्ष गोविन्द्र यादवले जानकारी दिए । ‘मैले जुन उद्देश्यले भवन बनाएको थिएँ, त्यो हुन नसके पनि अहिले कम्तीमा पालिकाको कार्यालय चलाउँदा भवनको सुरक्षा र सरकारी रकमको बचत हुन्थ्यो,’ उनले भने ।  २४ वटा कोठा, छुट्टै भान्साघर र आवश्यक पूर्वाधार रहेको सो भवनको झ्याल, ढोका, शौचालयमा क्षति हुन थालेको छ ।  स्थानीय नागेश्वर यादवले भने, ‘सरकारी रकमले बनेको भवन यतिकै अलपत्र छ । तर पालिकाले लाखौँ तिरेर भाडामा बसिरहेको छ ।’ गाउँपालिकाका लेखा सहायक गङ्गाप्रसाद यादवका अनुसार पालिकाले हाल चारवटा छुट्टा छुट्टै भवन भाडामा लिएको छ, जसमा वार्षिक १२ लाख रुपैयाँभन्दा बढी खर्च भइरहेको छ । पालिका अध्यक्ष सत्यनारायण यादवले भवनमा प्राविधिक शिक्षालय सञ्चालन गर्ने पहल गरिरहेकाले सिटिइभिटीसँग समन्वय भइरहेको जानकारी दिए । तर, अन्य जनप्रतिनिधिले अध्यक्षको भनाइ भ्रम छर्ने प्रयास मात्र भएको आरोप लगाएका छन् ।

बसे पनि सहर, गाउँकै खाने रहर नीति, एचआइभी सङ्क्रमितलाई १ हजार रुपैयाँ भत्ता

काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिकाले अर्गानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसे पनि सहर: गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसे पनि सहर गाउँकै खाने रहर’ को नीति अन्तर्गत अर्गानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री गरिने उल्लेख छ । नियमानुसार कोदोको रक्सी उत्पादन गर्नेलाई अनुदान सहायता प्रदान गर्ने नीति लिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले स्थानीय कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने नीति लिइएको उल्लेख गरे ।  स्थानीय उद्यमीले उत्पादन गरेको झोल साबुन, टोपी, अचार, गुन्द्रुक, मह, आदि गाउँपालिकाले खरिद गरी बिक्रीको व्यवस्था मिलाउने तथा व्यावसायिक रुपमा दुधालु गाई तथा भैँसी खरिद गरी दूध र दूध जन्य उत्पादन गर्ने किसानलाई लागत साझेदारीमा गाई तथा भैँसी खरिद अनुदान उपलब्ध गराइने श्रेष्ठले बताए ।  अनुदानमा ४० लाख रुपैयाँ गाउँपालिकाले विभिन्न क्षेत्रमा अनुदान दिनका लागि ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार एचआइभी सङ्क्रमितलाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराइनेछ । त्यस्तै गम्भीर मनोसामाजिक पीडितलाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराइने बताउँदै घिमिरेले अन्तर्जातीय दाइजो मुक्त जोडीलाई ५० हजार रुपैयाँ अनुदान दिइने बताए।  त्यस्तै गाउँपालिकाको लोगोसहित सगरमाथा आरोहण गर्ने युवालाई ५ लाख रुपैयाँ प्रोत्साहन, अति गरिब तथा विपन्नलाई विद्युत महसुलमा ३ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ । 

पहिरो पन्छाउने प्रयास नगरेपछि वडा कार्यालयमा तालाबन्दी

बैतडी । वर्षाका कारण अवरुद्ध भएकोे सडक खुलाउन माग गर्दै स्थानीयले पुर्चौंडी नगरपालिका–१० को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।  पुर्चौंडी नगरपालिका–१० विजयपुरदेखि दोगडाकेदार हुँदै जिल्ला  सदरमुकाम जोड्ने प्रमुख सडकखण्ड पहिरोको जोखिममा परेपछि स्थानीयले वडा कार्यालयमा पहिरो पन्छाउन माग गर्दै वडा कार्यालयमा ताला लगाएका सोही वडाका अम्मर महराले बताए । उक्त सडकखण्डको भङाड बस्तीमा पहिरो खस्दा छवटा घर जोखिममा छन् । बितेका १३ दिनसम्म पनि पहिरो पन्छाउने प्रयास नभएकाले आफूहरु ताला लगाउन बाध्य भएको उनले बताए ।   यसैबीच, वडाअध्यक्ष हिक्मतबहादुर बिष्टले मेसिन बिग्रेका कारण पहिरो पन्छाउन विलम्ब भएको बताए ।