नयाँ शक्तिको नाममा स्थानीय सरकारका प्रतिनिधिलाई धम्की
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघले नयाँ शक्तिको नाममा स्थानीय सरकारका प्रतिनिधि तथा पदाधिकारीहरुलाई धम्क्याउने कार्य बन्द गर्न आग्रह गरेको छ । चैत २५ र २६ गते नुवाकोटको ककनीमा बसेको महासंघको केन्द्रीय कार्यसमितिको दशौं बैठकले १५ बुँदे ककनी घोषणा सार्वजनिक गरी नयाँ शक्तिको नाममा देशभरका स्थानीय सरकारका प्रतिनिधि तथा पदाधिकारीलाई अनावश्यक दबाब दिन थालिएकोमा ध्यानाकर्षणसहित सो आग्रह गरेको हो । पछिल्लो समयमा स्थानीय सरकारका प्रतिनिधिलाई विभिन्न प्रकारका धाकधम्की आउन थालेपछि महासंघ बैठकले यस्तो निर्णय गरेको जनाएको छ । त्यस्तै, महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट बढेको महँगी नियन्त्रण तथा राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । यस्ता छन् महासंघका १५ बुँदे घोषणा १. विगतका लोकतान्त्रिक आन्दोलन तथा भाद्र २३–२४ को जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना २. प्रतिनिधि सभा र प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई तथा संघीयता, सुशासन र समृद्धिका लागि सफल कार्यकालको शुभकामना। ३. ऐतिहासिक धरोहर, पूर्वाधार र निजी सम्पत्तिको क्षतिपूर्ति, सुरक्षा, पुनःस्थापना तथा दोषीलाई कानुनी कारबाहीको माग । ४. नयाँ शक्तिको नाममा स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुलाई अनावश्यक दबाब र तर्साउने गतिविधि रोक्न आग्रह गर्दै कानुनसम्मत सहकार्य र उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आह्वान । ५. मध्यपूर्वमा अशान्तिका कारण प्रभावित नेपाली युवाहरूको सुरक्षा, उद्धार र संरक्षणका लागि सरकारको ध्यानाकर्षण । ६. पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट बढेको महँगी नियन्त्रण तथा राहत प्याकेज घोषणा गर्न आग्रह । ७. किसानको मागअनुसार मल उपलब्ध गराउन तथा पारदर्शी वितरण सुनिश्चित गर्न अनुरोध । ८. संविधान संशोधन बहस समितिमा स्थानीय सरकारका संघरमहासंघको अनिवार्य प्रतिनिधित्वको माग । ९. स्थानीय तहको संख्या र सीमाना पुनरावलोकनका लागि विज्ञ आयोग गठन गरी औपचारिक बहस प्रारम्भ गर्न आग्रह । १०. संघीय निजामती, शिक्षा लगायतका विधेयक शीघ्र पारित गर्न तथा स्थानीय सरकारको ओएण्डएम सर्वेक्षणका लागि मापदण्ड जारी गर्न माग । ११. वित्तीय हस्तान्तरण अन्तर्गतको समानिकरण अनुदान कटौती नगर्न जोडदार माग । १२. संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्व कायम गर्न तथा आदेशमुखी प्रवृत्ति अन्त्य गर्न आग्रह । १३. सम्भावित प्राकृतिक विपद्को तयारी गर्न स्थानीय सरकारलाई आह्वान तथा संघ–प्रदेशसँग सहयोगको अनुरोध। १४. बाँदर, बँदेल र नीलगाईको नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न माग । १५. स्थानीय सरकारको दोस्रो कार्यकालको लागि निर्वाचित जनप्रतिनिधिहरु बाँकी कार्यकालमा बेरुजु फस्र्योट, वित्तीय अनुशासन, असल अभ्यासको अभिलेखीकरण र स्थानीय शासन सुदृढीकरणमा प्राथमिकता दिन आह्वान तथा महासंघको सहकार्य प्रतिबद्धता ।
असनको ‘प्राचीन शाख’ फर्काउने तयारी, शनिबार सवारी प्रवेशमा रोक
काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेशलाई निषेध गरिने भएको छ । सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन यस्तो निर्णय भएको हो । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लब र समुदायका प्रतिनिधिको उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि स्थानीय संघसंस्था, क्लब तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बैशाख ५ गतेबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो,’ बैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔं ।’ आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो । ‘स्थानीय, संघसंस्था, क्लव तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो,’ वडाध्यक्ष योगेशकुमार खड्गी भन्छन्, ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजवुत बनाइने बताए । ‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ । यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवद्र्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।
काठमाडौं महानगरले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्ने
काठमाडौं । काठमाडौं महानगरले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि कामपाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो । विभागका प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण (आरएचडी/सिएचडी स्क्रीनिङ) गराउने भएको छ । ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने प्रमुख केसीले जानकारी दिए । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमन) सञ्चालन गरिनेछ । कामपाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ । ‘बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिन्छ । समय बितेपछि समस्या पत्ता लाग्यो भने महङ्गो उपचारले पारिवारिक अवस्थालाई खराब बनाउँछ । यसकारण हामीले बालबालिकाको मुटु बाथको परीक्षण कार्यक्रम गरेका हौं,’ स्वास्थ्य विभागका प्रमुख केसी भन्छन्, ‘यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्नेछौं ।’ कामपाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुनेछ । भविष्यका कर्णधारहरूको जीवन बचाउन कामपाले पुण्यको काम गरेको छ । प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठको प्रतिक्रिया छ ।