अस्पतालकै भवनबाट गाउँपालिका सञ्चालन, अस्पतालका नियमित सेवा प्रभावित
काठमाडौं । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सिरहाको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ । कार्यालय सञ्चालनका लागि अर्को विकल्प नहुँदा गाउँपालिकाले अस्पतालको माथिल्लो तला प्रयोग गरेर सेवा प्रवाह भइरहेको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताए । उनका अनुसार नयाँ भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालमा नै कार्यालय सञ्चालन गर्नुपर्ने बाध्यता आएको हो । अध्यक्ष यादवले भने, ‘पुरानो भवन कामै नलाग्ने गरी ध्वस्त भयो । हाल अर्को विकल्प नहुँदा अस्पतालसँग सहकार्य गरेर काम गरिरहेको छौँ । गत वर्षदेखि निर्माण सुरु गरिएको नयाँ प्रशासकीय भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्न दूर्त गतिमा काम गर्न लगाएका छौँ ।’ उनका अनुसार ७ करोड ९४ लाख १८ हजार ८९० रुपैयाँमा नयाँ भवन निर्माणको काम भइरहेको छ । अस्पताल र गाउँपालिका एउटै भवनमा सञ्चालन हुन थालेपछि बिरामीले पाउनुपर्ने स्वास्थ्य सेवामा समस्या भइरहेको छ भने अर्कातर्फ गाउँपालिका कार्यालयका कर्मचारीलाई पर्याप्त स्थान अभावका कारण प्रशासनिक काम गर्न कठिनाइ भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवशरण यादवले बताए । हाल अस्पतालको माथिल्लो तलामा गाउँपालिकाको प्रमुख प्रशासकीय कक्षसहित शिक्षा र स्वास्थ्य शाखा सञ्चालनमा छन् । कोठा अभावका कारण अस्पतालकै माथिल्लो तलामा रहेको न्यायिक समितिको हलमै अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष व्यवस्थापन गरिएको छ । कृषि, राजस्व र पशु शाखा भने कृषि तथा पशुपन्छी सेवा केन्द्रको छुट्टै भवनबाट सञ्चालन भइरहेको छ । अस्पताल प्रमुख उपेन्द्र यादवले गाउँपालिकाको प्रशासनिक कामकाज सञ्चालन हुन थालेपछि अस्पतालका नियमित सेवाहरू प्रभावित भएको बताए । उनले भने, ‘गाउँपालिकाका सेवाग्राहीको भीडभाडले गर्दा बिरामीलाई स्वास्थ्य सेवा दिन असहज भइरहेको छ । कोठा अभावमा बहिरङ्ग सेवा, प्रसूति सेवा र अस्पतालको प्रशासनिक कामकाज प्रभावित भएकाले नियमित स्वास्थ्य सेवा दिन समस्या देखिएको छ ।’ १५ शय्या क्षमताको अस्पतालमा हाल ५ शय्या मात्रै सञ्चालनमा छन् । दैनिक १ सय हाराहारी बिरामी उपचारका लागि आउने गरेकाले भीडभाडका कारण स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न थप चुनौती देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
धुर्कोट ट्रान्सफर्मर चोरी काण्ड : तीन भारतीय थुनामा, तीन नेपाली धरौटीमा रिहा
काठमाडौं । धुर्कोट गाउँपालिकामा भएको ट्रान्सफर्मर चोरी प्रकरणमा संलग्न भनिएका व्यक्तिहरूमाथि जिल्ला अदालत गुल्मीले मंगलबार आदेश जारी गरेको छ । अदालतले पक्राउ परेका छ जना अभियुक्तमध्ये तीन भारतीय नागरिकहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने र तीन नेपाली नागरिकहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो । अदालतका सूचना अधिकारी कमल पन्थीका अनुसार भारतीय नागरिक बिकेश कुमार, पवन कुमार र अनिल कुमारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरिएको छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणमा करारमा कार्यरत कर्मचारी बिष्णु पोखरेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ । बाँकी दुई जना बिष्णु भुसाल र मधु नेपालीलाई जनही ३५ हजार रुपैयाँ धरौटी तोकिएको अदालतले जनाएको छ । धुर्कोट क्षेत्रमा हालै भएको ट्रान्सफर्मर चोरी घटनापछि प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । सोही क्रममा पक्राउ परेका व्यक्तिहरूको थुनछेक बहस मंगलबार सम्पन्न भएको हो । गुल्मीको धुर्कोटमा ट्रान्सफर्मर चोरी काण्ड, गाउँपालिका अध्यक्षका दाइसहित ६ जना पक्राउ ट्रान्सफर्मर चोरी प्रकरण : जिल्ला अदालतमा मुद्दा दर्ता, ४ लाख रुपैयाँ बराबरको बिगो माग दाबी
अखाद्य वस्तु भेटिएपछि ओम अस्पतालको क्यान्टिन ७ दिनका लागि बन्द
काठमाडौं । ओम अस्पतालको क्यान्टिन ७ दिनको लागि बन्द गरिएको छ । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि ७ दिनका लागि बन्द गरिएको हो । संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ । हेल्दी बाइट्स सर्भिसेज् प्रालिद्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, क्यान्टिन सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका पाँच थान (५०० मिलिलिटर) दूध सञ्चालककै उपस्थितिमा नष्ट गरिएको थियो। ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालि प्रशासनका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले संरचना मर्मत, रंगरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र पुनः सञ्चालनमा ल्याउने बताए । तुलनात्मक रूपमा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकृत खगेन्द्रप्रसाद खतिवडा र सञ्जय चौधरीले जानकारी दिए । तर, दुवै क्यान्टिनमा पनि पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नभएको बताइएको छ। मेडिकेयर अस्पतालको क्यान्टिनमा लेबलविहीन खाद्य वस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानी परीक्षणमा अमोनिया मापदण्डभित्र भए पनि सुधार आवश्यक रहेको पाइएको थियो । अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई पेष्ट कन्ट्रोल प्रभावकारी बनाउने, पूर्ण लेबलसहितका प्रशोधित खाद्य वस्तु मात्र प्रयोग गर्ने, अनुमति प्राप्त उद्योगबाट उत्पादन भएका वस्तु मात्र प्रयोग गर्ने, आगो जोखिम न्यूनीकरणका उपकरण राख्ने र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग गर्न निर्देशन दिएको थियो । त्यस्तै, हेल्पिङ ह्याण्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए पनि खाद्य रंगको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थको मात्र बिक्री र आगो जोखिम न्यूनीकरणका उपकरणहरू थप बलियो बनाउन सुझाव दिइएको छ । महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कानुनअनुसार स्वच्छ, जिम्मेवार र सुरक्षित खाद्य व्यवसाय सुनिश्चित गर्न नियमित रूपमा अस्पताल, होटल, रेष्टुरेन्ट तथा क्यान्टिनहरूको अनुगमन गर्दै आएको आएको छ ।