काठमाडौं महानगरले गर्‍यो २७१ मापदण्डविपरीतका पानीका जार नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको छ । बर्खायाममा पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्न महानगरले प्रशोधित पिउने पानीको अनुगमनलाई तीव्र बनाएको हो ।  एक हप्ताको अवधिमा विभिन्न क्षेत्रहरूमा गरिएको अनुगमनका क्रममा मापदण्डविपरीतका २७१ वटा जार बरामद गरी नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ । यस्तै, महानगरले आषाढ र श्रावण महिनामा गरी जम्मा १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ । साथै, पानीको गुणस्तर सुनिश्चित गर्न भौतिक तथा जैविक परीक्षणका लागि नमुनाहरू प्रयोगशालामा पठाइएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि महानगरपालिकाले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु, कोटेश्वर लगायतका स्थानमा अनुगमन गरेको कृषि तथा पशुपक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए । कृषि तथा पशुपन्छी विभाग र महानगर प्रहरी बलको सहकार्यमा विभिन्न स्थानहरूमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको हो ।   'हामीले बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएका छौँ । मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । त्यसैले हामीले यस्ता जारहरू तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम गरिरहेका छौँ' न्यौपानेले बताए  । उनका अनुसार जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइएको छ। विभागले साउन २० गते काठमाडौं महानगरपालिका–१४, बल्खु क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८ वटा विभिन्न कम्पनीका पानी बोक्ने सवारी साधनहरूको जाँच गरिएको थियो । उक्त अनुगमनमा ५९ वटा जारहरू कुच्चिएको, फुटेको र अपारदर्शी अवस्थामा भेटिएका थिए, जुन मापदण्ड विपरीत थिए ।  त्यसैगरी, साउन २१ गते वडा नम्बर ७, चाबहिल–चुच्चेपाटी क्षेत्रमा १९ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ६७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए । यी जारहरू पनि नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरिएको छ । साथै, ३ वटा २० लिटरका जारहरू भौतिक तथा जैविक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । साउन २३ गते वडा नम्बर १६, माछापोखरी–बालाजु क्षेत्रमा २० वटा सवारी साधनहरूको अनुगमन गरियो । यस अनुगमनमा ६८ वटा जारहरू मापदण्ड विपरीत भेटिए, जुन नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा दिइयो ।  साउन १८ गते वडा नम्बर ३२, कोटेश्वर क्षेत्रमा १५ वटा सवारी साधनहरूको अनुगमन गरिएको थियो । यस क्रममा ७७ वटा मापदण्ड विपरीतका जारहरू बरामद गरिए, जुन नष्ट गर्न महानगर प्रहरीलाई हस्तान्तरण गरियो । अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको विभागका प्रमुख नुरनिधि न्यौपानेले बताएका छन् । नागरिकको स्वास्थ्यप्रति गम्भीर रहँदै पानीजन्य रोगहरूको जोखिम कम गर्न यस्ता अनुगमनलाई निरन्तरता दिने उनको भनाई छ ।  यस्तै, फुड टेक्नोलोजिस्ट अशोक पराजुलीले पानीको गुणस्तरबारे भन्छन्, 'प्रशोधित पिउने पानीको जारहरूको भौतिक र जैविक गुणस्तर जाँच्नु अत्यन्त महत्त्वपूर्ण छ । हामीले प्रयोगशालामा पठाइएका नमुनाहरूको परीक्षणबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौँ । नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो ।' आगामी दिनहरूमा पनि पानी उत्पादन, ढुवानी र वितरण प्रणालीको नियमित अनुगमनलाई निरन्तरता दिने पराजुलीले बताए । साथै, समुदायस्तरमा पानीको नमुना परीक्षण र अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ। विशेषगरी, बल्खु, कालीमाटी र टङ्केश्वर जस्ता क्षेत्रहरूमा विगतमा हैजा रोगका बिरामी भेटिएकोले यस्ता जोखिम कम गर्न महानगरपालिका संवेदनशील बनेको उनको भनाई छ ।  महानगरले जरमा राखिएको पानीलाई वर्षा याममा विशेष गरी राम्रोसँग उमालेर मात्र पिउन अनुरोध गरेको छ ।  

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

डुम्रे । यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । इलामको रोङ गाउँँपालिकाको अध्ययन भ्रमणपश्चात प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताए । गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम् प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गर्ने जनाइएको छ । जसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने उनले जानकारी दिए । उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवद्र्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ । किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीको भनाइ छ । 'गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ', उनले भने, 'हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौँ ।' भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा टेवा पुर्याउने विश्वास गरिएको छ । रैथाने खेतीलाई अभियानले प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । रासस

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका

दमौली (तनहुँ) । म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि विपन्नलाई घर निर्माण गर्ने भएको छ । गाउँपालिकाले चालु आव २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको विशेष अनुदान योजनाअन्तर्गत अधिकतम १२ जना आर्थिक रूपमा विपन्न नागरिकलाई घर बनाएर हस्तान्तरण गर्न लागेको हो । नमुना आवास कार्यक्रमअन्तर्गत अधिकतम १२ वटा घर निर्माण गर्ने निर्णय अनुसार गाउँपालिकाका वडा नम्बर १ देखि वडा ७ मा रहेका लक्षित गाउँपालिकाको आर्थिक विपन्न वर्गलाई नमूना आवास कार्यक्रम कार्यविधि (२०८० को दफा (३) अनुरूप मापदण्ड तथा सूचीभित्र पर्ने स्थानीय नागरिकलाई घर बनाएर हस्तान्तरण गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । निवेदनसँग जग्गाधनी प्रमाणपुर्जा प्रतिलिपि, नागरिकताको प्रतिलिपि तथा सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिस संलग्न गर्नुपर्ने अधिकारीले बताए । नयाँ आवास पाउने नागरिकको मापदण्डभित्र सामान्य प्रकृतिका श्रम (दैनिक जीविकोपार्जन गर्ने तथा कृषिमा आधारित) बाहेक परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो आयस्रोत नभएको वा अति गरिब तथा न्यून वर्गमा पर्नुपर्नेछ । त्यस्तै विगत आव २०८१/८२ मा निवेदन दर्ता गरी छनोटमा नपरेका व्यक्तिले पुनः निवेदन दिनुपर्ने अधिकारीको भनाइ छ । म्याग्दे गाउँपालिकाले गत आव २०८१/८२ मा ४८ जना विपन्न जनतालाई घर हस्तान्तरण गरेको थियो । वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत आर्थिक रूपमा विपन्न वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत आवास निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण गरिएको थियो । म्याग्देका सात वटै वडाबाट छानिएका अतिविपन्न व्यक्तिलाई उक्त घर हस्तान्तरण गरिएको थियो । घरविहीन वा जोखिमयुक्त घरमा बस्न बाध्य रहेका परिवारलाई लक्षित गर्दै आवास कार्यक्रम सञ्चालन गरिएको अधिकारीको भनाइ छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिए । घर पाएका लाभग्राहीले दश वर्षसम्म ती घर बेचबिखन, धितो राख्न वा भाडामा दिन नपाउने व्यवस्था गरिएको छ । आफू निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० वटा घर बनाउँछौँ भन्ने प्रतिबद्धताअनुसार अहिलेसम्म ४८ वटा घर बनेको श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेपालको संविधानमा आवासको हकलाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरिएको हुँदा नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा रहेको गाउँपालिकाले उक्त आवासको हक कार्यान्वयन गरेको बताए । रासस