काठमाडौं महानगर छात्रवृत्तिमा ३ हजार ५१ विद्यार्थी भर्ना, दोस्रो म्याचिङ जारी

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिस्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका छन् ।  शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीमध्ये छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ लिस्ट) मा परेका ३ हजार ७३५ विद्यार्थी  रहेका कामपा शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए ।  यसरी भर्ना हुने विद्यार्थीमध्ये एक हजार ९०१ जना विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११ जना, कानुनमा ३४ जना  मानविकीमा पाँच जना विद्यार्थी छन् । विद्यालयहरूले भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा आज परीक्षा समितिले म्याचिङ लिस्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन भएको खड्काले बताए ।  सदस्य सचिव खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापन विषयका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीमा लागि एक जना र शिक्षाका लागि दुई जना विद्यार्थीको नाम सिफारिस भएको छ ।  विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सिट सङ्ख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णयअनुसार सूची प्रकाशन गरिएको हो ।  मनोनयनमा परेका परीक्षार्थीहरूले कामपाको छात्रवृत्तिसम्बन्धी पोर्टल इन्ट्रान्स डट काठमाडौं डट जीओभी डट एनपी मा छात्रवृत्ति परीक्षाको रोल नम्बर (कामपाबाट  प्रदान गरिएको), जन्म मिति र पासवर्ड (मोबाइल वा इमेलमा प्राप्त) प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्न सकिन्छ । यो मनोनय पत्र लिएर असार ३ गतेभित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्नेछ । तोकिएको समयसीमा भित्र भर्ना नभएमा सम्बन्धित शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीको दाबी स्वतः रद्द हुने समितिले प्रकाशन गरेको सूचनामा उल्लेख छ । समितिले असार ३ गतेपछि तेस्रो सूची निकाल्ने तयारी गरेको छ ।  यस वर्षका लागि १४५ वटा शिक्षण संस्थाका लागि चार हजार ८५७ कोटा निर्धारण गरिएको थियो । यसमा विज्ञान विषयका लागि २ हजार ३७१ कोटा छन् । व्यवस्थापनमा १ हजार ५४९, शिक्षामा ७, मानविकीमा ४९ र कानुनमा ७५ कोटा निर्धारित छन् । यी विषयमा १८ हजार ३५८ जना, २ हजार ३८२ जना, ११० जना, ४६३ जना, ६२१ जना विद्यार्थी भर्नालाई आधार मानेर कोटा निर्धारण गरिएको हो ।  छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची २१ गते अन्तिम सूची प्रकाशित भएको थियो । 

बैंकिङ कसुरमा बर्दिबास नगरपालिका वडाध्यक्ष पक्राउ

जलेश्वर । प्रहरीले बर्दिबास नगरपालिका–९ का वडाध्यक्ष घुरन महतोलाई बैंकिङ कसुरसम्बन्धी मुद्धामा पक्राउ गरेको छ  ।      महोत्तरी जिल्ला अदालतबाट गत वैशाख २२ गते फरार सूचीमा रहेका वडाध्यक्ष महतोलाई प्रहरीले गत वैशाख २२ गते बिहीबार पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले वडाध्यक्ष महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासको हिरासतमा राखी बैंकिङ कसुरसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।      

स्मार्ट सहर, सम्पदा संरक्षण र नागरिकमैत्री स्वास्थ्य सेवामा जोड

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम तथा बजेट निर्माणका क्रममा सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ । ललितपुर महानगरले चक्रपथबाहिरका वडाको विकास, सम्पदा संरक्षण, स्मार्ट पूर्वाधार तथा घरदैलो स्वास्थ्य सेवालाई आगामी बजेटका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने संकेत गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बन्धी छलफल कार्यक्रममा बिहीबार बोल्दै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले गत वर्ष तय गरिएका करिब ९० प्रतिशत नीति कार्यान्वयनको चरणमा पुगेको दाबी गरे। महानगरले हरेक वर्ष सार्वजनिक सुनुवाइ, जनप्रतिनिधि, सल्लाहकार तथा सरोकारवालासँग परामर्श गरी नीति तथा कार्यक्रम तयार गर्ने गरेको उल्लेख गर्दै उनले यसलाई सुशासनको महत्वपूर्ण अभ्यासका रूपमा व्याख्या गरे। नगरप्रमुख महर्जनले सिटी हल र सिटी पुस्तकालय निर्माणका लागि आवश्यक स्थान व्यवस्थापन भइसकेको जानकारी दिँदै आगामी नीति तथा कार्यक्रममा ती योजनालाई समेटिने बताए । पर्यटकीय क्षेत्रहरूलाई लक्षित गरी सटल बस सञ्चालन गर्ने योजना रहेको तथा मेकानिकल पार्किङ निर्माणलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।  महर्जनले महानगरमा पछि गाभिएका चक्रपथबाहिरका वडाहरूमा अझै धेरै पूर्वाधार विकास गर्न बाँकी रहेको उल्लेख गर्दै ती क्षेत्रलाई पुराना शहरी वडासरह विकास गर्ने नीति लिइएको बताए । उनले आगामी साउन १ गतेदेखि चिकित्सक, स्वास्थ्यकर्मी र आवश्यक औषधिसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने जानकारी दिँदै बिरामीको जानकारी प्राप्त भएपछि घरमै पुगेर उपचार सेवा उपलब्ध गराइने बताए। साथै चक्रपथ क्षेत्रमा छिट्टै स्मार्ट स्ट्रिट लाइट जडान गरिने पनि उनले जानकारी दिए । महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विकास निर्माणसँगै सम्पदा संरक्षण, संस्कृति प्रवद्र्धन र सामाजिक क्षेत्रलाई समान प्राथमिकता दिइएको बताइन्। उनले महानगरका करिब ८० प्रतिशत योजना चक्रपथबाहिरका क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै ललितपुरका जात्रा, पर्व तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि आगामी वर्ष पनि पर्याप्त बजेट विनियोजन गरिने बताइन् ।  प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले छलफलमा उठेका सुझावलाई आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा समावेश गरिने बताइन् । उनले अघिल्लो वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन उन्मुख रहेको उल्लेख गर्दै आगामी नीति तथा कार्यक्रमलाई समयको आवश्यकता अनुरूप रुपान्तरणकारी र परिणाममुखी बनाइने बताइन् ।  छलफलमा सहभागी विभिन्न संघसंस्था तथा समुदायका प्रतिनिधिहरूले महानगरको आगामी नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयबारे सुझाव दिएका थिए ।  ज्यापू समाजका अध्यक्ष सन्तमान महर्जनले ललितपुरलाई सम्पदा र पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले कोर एरियामा सरसफाइ सुधारिए पनि भित्री टोल तथा गल्लीहरूमा अझै प्रभावकारी व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै नेवा संग्रहालय स्थापना गर्न माग गरे। राजोपाध्याय समाजका अध्यक्ष संजयराज राजोपाध्यायले नेपाल संवत् प्रवद्र्धनका लागि बजेट वृद्धि गर्नुपर्ने तथा ऐतिहासिक कात्तिक नाचको संरक्षण र विकासका लागि थप रकम विनियोजन गर्नुपर्ने बताए। नेवा समाजका दीपेन्द्र शिल्पकारले घरबहाल करलाई थप सहज र व्यवहारिक बनाउनुपर्ने सुझाव दिए। बौद्ध विहार संघका अध्यक्ष कर्ण बज्राचार्यले स्मार्ट स्ट्रिट लाइट जडानसँगै प्रभावकारी अनुगमन प्रणाली आवश्यक रहेको बताए। उनले गबहाल क्षेत्रमा ढल व्यवस्थापन कमजोर हुँदा वर्षायाममा ढल स्थानीयवासीका घरसम्म पस्ने समस्या रहेको उल्लेख गरे। चेम्बर अफ कमर्स ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले अभिलेखीकरण कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताए। उनले कर संकलनमा मात्र ध्यान दिनुभन्दा करदातालाई उपलब्ध गराइने सुविधा र सेवाको गुणस्तरमा पनि सुधार गर्नुपर्ने धारणा राखे। वाराही संघका अध्यक्ष उपेन्द्र वाराहीले ललितपुरलाई हस्तकला नगरी घोषणा गरिए पनि त्यसपछिका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको गुनासो गरे। राष्ट्रिय समाचार समिति (रासस) का ललितपुर प्रतिनिधि माधवप्रसाद घिमिरेले घरबहाल करमा आवासीय र व्यावसायिक प्रयोजनलाई फरक ढंगले हेर्नुपर्ने बताए। आवासीय घरबहालमा करदर घटाउन सके करको दायरा विस्तार हुन सक्ने उनको भनाइ थियो। उनले सहरका विभिन्न क्षेत्रमा बढ्दो दुर्गन्ध व्यवस्थापनमा पनि महानगरले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। छलफलमा सहभागीहरूले पूर्वाधार विकास, कर प्रणाली सुधार, सम्पदा संरक्षण, वातावरण व्यवस्थापन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए। महानगरले प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।