काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा रहेका थुप्रै आकर्षक गन्तव्यहरूको बीचमा भर्खरै उदाएको नयाँ नाम हो, ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ । राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको जुगल हिमशृङ्खला उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भए पनि पर्याप्त प्रचारप्रसारको अभावमा अहिलेसम्म ओझेलमा पर्दै आएको छ ।
हालै जुगल गाउँपालिकाले यस गन्तव्यलाई आन्तरिक तथा विदेशी पर्यटकमाझ परिचित गराउन पहल थालेको छ।
गाउँपालिकाको विशेष आयोजनामा जुगल गाउँपालिका पर्यटन विकास समितिको अगुवाइमा सञ्चालित अध्ययन तथा अन्वेषण परियोजनाअन्तर्गत वैशाख ३ गते जुगल हिमशृङ्खलाभित्रका विभिन्न चुचुरामध्ये ५ हजार ५७० मिटर उचाइको नयाँ ट्रेकिङ पिकको सफल आरोहण सम्पन्न गरिएको हो । गाउँपालिकाले उक्त पिकलाई ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ नामाकरणसमेत गरेको छ ।
पर्यटकीय सम्भावना बोकेको भएपनि लामो समयदेखि ओझेलमा रहेको जुगल क्षेत्रलाई विश्वव्यापी पर्यटन मानचित्रमा स्थापित गर्ने उद्देश्यका साथ सञ्चालित यस अभियानले नेपालको साहसिक पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गाउँपालिकाले लिएको छ । पालिकाका अनुसार स्थानीय समुदायको आर्थिक विकासमा समेत कोशेढुङ्गा सावित हुनेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरवराज केसीले जुगल गाउँपालिका एक प्रशासनिक भूगोल मात्र नभई यो पर्यटकको सम्भावनाको खानी भएको उल्लेख गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत केसीले जुगल हिमाल र यस वरपर रहेको पर्यटकीय स्थलहरूलाई नेपाल साथै विश्व माझ चिनाउनु पालिको प्रमुख उद्देश्य र दायित्व रहेको औंल्याए ।
‘जुगल हिमाललाई प्रवर्द्धन गर्ने सिलसिलमा हामीले अध्ययन तथा अन्वेषणबाट एउटा विन्दुको पहिचान गरेका छौं,’ केसीले भने, ‘जहाँबाट विश्वको सर्वोच्च शिखरसहित ८ हजारमाथिका अन्य दर्जनौं हिमशृंखलाहरूको निकै नजिक र स्पष्ट रुपबाट अवलोकन गर्न सकिन्छ ।’
उनका अनुसार जुगल एभरेष्ट भ्यु प्वाइन्टबाट सगरमाथा, चोयु, मकालु, लोत्सेसहितका दर्जनौैं हिम शृंखलाहरूको निकै नजिक र स्पष्ट रूपबाट अवलोकन गर्न सकिन्छ । हिमाल चढ्न चाहने तर महँगो खर्चका कारण त्यो सपना पूरा गर्न नसकेका नेपालीहरूका लागि यो पिक उत्कृष्ट गन्तव्य बन्न सक्ने उनले बताए ।
न्यून लागत र समयको बचत
हिमाल आरोहण सामान्यतया : महँगो हुने भएकाले धेरै जना नेपालीले चाहँदा चाहँदै पनि अवसर पाउन सकेका छैनन् । यही कारण विदेशीको तुलनामा नेपाली आरोहीको संख्या कम छ । तर, गाउँपालिकाको पर्यटन समितिका संयोजक तथा अभियानकर्ता मिलन तामाङका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ पिक न्यून बजेटमै आरोहण गर्न सकिने भएकाले यो नेपालीहरूका लागि सहज विकल्प बन्न सक्छ ।

जुगल पिक आरोहणका लागि गाउँपालिकाले पर्यटन व्यवसायीहरूसँगको छलफलपछि न्यूनतम लागत निर्धारण गरेको उनले बताए । उनका अनुसार विदेशी पर्यटकका लागि करिब एक हजार अमेरिकी डलर र नेपालीका लागि झन्डै ४० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
यसका साथै पर्यटन विभागसँग समन्वय गरेर परमिट उपलब्ध गराउने तथा सफल आरोहीहरूलाई प्रमाणपत्र प्रदान गर्ने योजना पनि अघि सारिएको तामाङले जानकारी दिए ।
अर्को विशेषता भनेको यसको छोटो समयमै सम्पन्न गर्न सकिने रहेको छ । विशेषगरी सीमित समयका लागि नेपाल आउने विदेशी पर्यटकहरू विशेषगरी कोरियन पर्यटकका लागि यो पिक आकर्षक विकल्प बन्न सक्छ ।
उनका अनुसार ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’ आन्तरिक तथा विदेशी दुवै पर्यटकका लागि ‘गेम चेञ्जर’ सावित हुन सक्ने सम्भावना छ । राजधानी काठमाडौँ बाट सहज पहुँच भएकाले यहाँ पुगेर ५ देखि ७ दिनभित्रै हिमाल आरोहण गरी फर्कन सकिने उनले बताए ।
तालिम नलिई पनि आरोहण गर्न सकिने
सहज र सुरक्षित आरोहण यो पिकको सबैभन्दा ठुलो विशेषता हो । कुनै विशेष प्राविधिक कठिनाइ र जटिल उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शारीरिक तन्दुरुस्ती भएका जो–कोही पर्यटक वा पदयात्रीले पनि यसको सहजै र सुरक्षित आरोहण गर्न सक्ने पर्यटन समितिका संयोजक तामाङले बताए ।
‘आरोहण गर्दा कतै पनि डोरीमा झुण्डिनु वा विशेष प्राविधिक उपकरण खासै प्रयोग गर्नुपर्दैन,’ तामाङले भने, ‘सामान्य जुत्ता र लौरोको भरमा शिखरमा पुग्न सकिन्छ ।’

वैशाख ३ गते नयाँ ट्रेकिङ पिक जुगल एभरेष्ट भ्यु प्वाइन्टको सफल आरोहण गर्ने टोलीमध्येमा तामाङ पनि एक हुन् । उनका अनुसार आरोही टोलीमा फरक–फरक अनुभव भएका उनीसहित चारजना व्यक्तिहरू सहभागी थिए ।
आरोही टोलीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर लाक्पा डेनी शेर्पा थिए । उनीसँग धेरैपटक ८ हजार भन्दा माथिका थुप्रै हिमाल चढिसकेको अनुभव छ । त्यस्तै, निङ्मा वाङचु शेर्पा, उनी १५ वर्षका विद्यार्थी हुन् । जसले जसले यसअघि कुनै हिमाल चढेका वा तालिम लिएका थिएनन् । त्यस्तै, जुगल हिमालकै काखमा जन्मिएका ५० वर्षीय स्थानीय प्रेम शेर्पाले पनि औपचारिक तालिम अहिलेसम्म नलिएको तामाङले बताए ।
विद्यमान चुनौतीहरू
जुगल एभरेष्ट भ्यु प्वाइन्ट काठमाडौंबाट नजिक र हिमाल आरोहण गर्न चाहने पर्यटकको रोजाइमा पर्न सक्ने उच्च सम्भावना भए पनि यससँग केही चुनौतीहरू पनि जोडिएका छन् । गाउँपालिकाका अनुसार गन्तव्यको प्रवर्द्धनसँगै सुरक्षाका पक्षमा ध्यान दिनु आवश्यक छ ।
गाउँपालिकाको पर्यटन समितिका संयोजक तामाङका अनुसार पेमछालबाट बेसक्याम्प जाने बाटो केही प्राविधिक प्रकृतिको छ, जहाँ कतिपय स्थानमा डोरीको प्रयोग आवश्यक पर्न सक्छ । त्यस्तै, मौसम खराब हुँदा मार्गमा खाल्डाखुल्डी बढ्ने भएकाले यात्रा केही जोखिमपूर्ण बन्ने सम्भावना पनि रहेको उनले बताए ।
अर्को चुनौती त्यहाँ सञ्चार सम्पर्क छैन । मोबाइल नेटवर्क नचल्ने भएकाले बाहिरी संसारसँग सम्पर्क विच्छेद हुन्छ । यसलाई एकातिर सकारात्मक रूपमा लिन सकिने भएपनि अर्कोतर्फ कुनै आकस्मिक घटना घटेको खण्डमा सञ्चार गर्न समस्या हुन सक्छ ।
दक्ष जनशक्तिको अभाव
यहाँको अर्को प्रमुख समस्या भनेको दक्ष जनशक्तिको रहेको गाउँपालिकाको धारणा छ । गाउँपालिकाले पछिल्लो पटक चौतारा नगरपालिका र पाँचपोखरीसँग मिलेर संयुक्त पदमार्गहरू बनाउने विषयमा पनि छलफल भएको बताए । साथै दक्ष जनशक्तिका लागि ट्रेकिङ गाइड तालिमहरू पनि सञ्चालन गर्ने तयारी गरिरहेको तामाङले जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले ‘जुगल एभरेष्ट भ्यु प्वाइन्ट’को महत्व केवल दृश्य अवलोकनमा सीमित नभई जुगल क्षेत्रको आर्थिक समृद्धिसँग जोडिएको बताए ।
उनका अनुसार यो गन्तव्य युवाहरूका लागि रोजगारी सिर्जना गर्ने केन्द्र, पदयात्रा सौखिनहरूका लागि नयाँ आकर्षण तथा सरकारको पर्यटन दशक अभियानमा महत्त्वपूर्ण योगदान पुर्याउने आधार बन्न सक्छ ।
जुगल हिमालको प्रवर्द्धनका लागि नेपाल सरकार, प्रदेश सरकार, जुगल गाउँपालिका तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा विगतदेखि नै विभिन्न पूर्वाधार विकासका काम हुँदै आएका छन् र आगामी दिनमा थप पूर्वाधार विस्तारका लागि समेत सहयोगको अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।