कामपा अनुगमन समितिको निष्कर्ष : निर्देशनको कार्यान्वयन सन्तोषजनक
काठमाडौं । काठमाडौं महानगरपलिकाले अनुगमन समितिले स्थलगत अनुगमनका क्रममा दिएका निर्देशनहरूको पालना सन्तोषजनक रहेको जनाएको छ । अनुगमनका क्रममा दिइएका निर्देशन पालनाको समीक्षामा कामपा उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डङ्गोलले निर्देशन कार्यान्वयन अवस्था सन्तोषजनक रहेको बताइन् । समीक्षामा अनुगमन गरिएको मिति, स्थान, समय, त्यहाँको अवस्था र दिइएको निर्देशन स्मरण गराउँदै कार्यान्वयनको प्रगतिका विषयमा सम्बन्धित विभागका प्रमुखबाट जानकारी लिँदै उनले उक्त जानकारी गराइन् । चालु आर्थिक वर्षका विभिन्न समयमा गरिएको अनुगमनका क्रममा संयोजक डङ्गोलले नारायण गोपाल भवनमा लिफ्ट राख्ने, पूर्वाधार निर्माणका योजनामा जाँच गरिएका निर्माण सामग्री तथा निर्माण भएपछि गुणस्तर जाँच गरिएको प्रतिवेदन तयार पार्ने, निर्माण कार्यमा प्रयोग हुने सवारी साधन प्रदूषणमुक्त हुनुपर्नेलगायतका निर्देशन दिएकी थिइन् । भौतिक पूर्वाधार निर्माण गर्दा अकासे पानी सङ्कलन र पुनःभरण गर्ने प्रणाली अनिवार्य सञ्चालनमा ल्याउने, कमलपोखरीमा पानीको मात्रा बढाउने, पोखरी परिसरमा सिसीटिभी क्यामेरा जडान गर्ने, धुलोरहित सडक योजनाको प्राविधिक प्रतिवेदन पेस गर्ने, भवन नक्सा प्रणालीमा अनिवार्य रूपमा विद्युतीय प्रणालीमात्र प्रयोग गर्ने, मखन आगलागीको प्रतिवेदन पेस गर्ने, बेरुजु फर्छ्याैटको कार्ययोजना बनाउनेलगायत विषयमा निर्देशन थियो । विगत अनुगमनको समीक्षा गर्दै उनले भनिन्, 'बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण, योजना अनुगमन, वडास्तरीय कामको अनुगमनसहित कामपाले हेर्नुपर्ने धेरै क्षेत्र छन् । ती हरेक क्षेत्रमा उपप्रमुख संयोजक भएको समितिले अनुगमन गर्न कठिन छ । यसकारण हामीले क्षेत्रगत र वडागत अनुगमन टोली गठन गरेका छौं ।' अवस्था र आवश्यकतामा कुरा गर्दै उनले योजना, अनुगमन तथा मूल्याङ्कन एकाइलाई भनिन्, 'केन्द्रीय र वडास्तरीय अनुगमन टोलीले सम्पन्न गरेका कामको एकीकृत प्रतिवेदन तयार पार्नुहोला ।' सभा र कार्यपालिकाद्वारा गठित समितिहरूको काममा सहजीकरण र समन्वय गर्ने विषयमा उहाँले विषयगत समितिका सदस्य सचिवहरूलाई प्रतिवेदन पेस गर्न र यसअघिका आर्थिक वर्षहरूको एकीकृत प्रतिवेदन पेस गर्न पनि निर्देशन दिनुभएको छ ।
भरतपुरको वडा नम्बर १७ बालमैत्री वडा घोषणा
चितवन । भरतपुर वडा नम्बर १७ लाई बालश्रममुक्त एवम् बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार वडा कार्यालय परिसरमा एक भव्य कार्यक्रमका बीच वडालाई महानगरको १० औं बालमैत्रीको रूपमा घोषणा गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले १७ नम्बर वडालाई संयुक्त रुपमा बालमैत्री वडा घोषणा गरे । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अबको दुई वर्षभित्र महानगरपालिकालाई बालमैत्री पालिका घोषणा गर्ने गरी अघि बढ्न सामाजिक महाशाखालाई आग्रह गरिन् । प्रमुख दाहालले बालमैत्री वडा घोषणा अभियानको गतिलाई वृद्धि गर्न योजनाबद्ध तालिका बनाएर लाग्नुपर्ने धारणा राखिन् । देशका ६ महानगरपालिकामध्ये पहिलो सडक मानवमुक्त महानगर घोषण गर्न सफल भएको पनि स्मरण गरिन् वडा नम्बर १७ लाई बालमैत्री वडा घोषणाका लागि ५१ वटा सूचक पार गराउन सहयोग गर्ने सहयोगी संघ संस्था तथा सरोकारवालालाई धन्यवाद पनि ज्ञापन गरिन्। उपप्रमुख अधिकारीले चालु आर्थिक वर्षभित्र १२ वटालाई बालमैत्री वडा घोषणा गर्ने गरी महानगरपालिका अघि बढेको जानकारी दिए । यस्तै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वडा घोषणा भएपछि थप जिम्मेवार सुरु भएको बताए । राज्यले सबैभन्दा कमजोर क्षेत्र संरक्षण तथा प्रथामिकता राख्ने भएकाले बालबालिकालाई संरक्षण गर्ने राज्यको सबैभन्दा घर परिवार पहिलो निकाय भएको उनले उल्लेख गरे । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचक तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधिअनुसार केही सूचक शतप्रतिशत र केही ८० प्रतिशत पूरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका चारवटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाँच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरू पूरा भएकाले वडा नम्बर १७ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन्।
शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ललितपुर महानगर पुरस्कृत
ललितपुर । शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता र नयाँ विषयलाई बहसमा ल्याएको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई पुरस्कारसहित सम्मान गरेको छ । ललितपुर महानगरले देशभरका ६ वटा महानगर र उपमहानगरमध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएहो हो । प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डको आधारमा मूल्याङ्कन गरेर पानले महानगरलाई उत्कृष्ट महानगरपालिका पुरस्कार २०८२ बाट पुरस्कारसहित सम्मान गरेको आयोजक संस्थाले जनाएको छ । शिक्षामन्त्री रघुजी पन्तले महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मानसहित पुरस्कार प्रदान गरे । शिक्षामन्त्री पन्तले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न अहोरात्र काम गरेको बताए । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर शिक्षाको हब भएको बताउँदै सामुदायिक शिक्षाको विकास र गुणस्तर सुधारका लागि प्रभावकारी काम गरेको बताए । आगामी वर्ष प्रभावकारी र नविनतम योजनाहरु ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । शिक्षाविज्ञ प्रा।डा। विद्यानाथ कोइरालाले सामुदायिक विद्यालय र त्यहाँ पढेका विद्यार्थीसँग अथाह सम्भावना भएको बताउँदैे प्रविधि र पुस्तक र ज्ञानलाई एक अर्कासँग जोड्र अघि बढ्नु पर्ने धारणा राखे । कार्यक्रमा देशभरबाट छनौट भएका उत्कृष्ट गाउँपालिका, उत्कृष्ट नगरपालिका, उत्कृष्ट प्राधानाध्यापक र उत्कृष्ट विद्यालय सम्मान सहित पुरस्कृत गरिएको छ । पानका अध्यक्ष सुदा प्रसाद गौतमले सामुदायिक विद्यालयको गुणस्तर सुधार र सामुदायिक विद्यालयले प्रदान गरेको शिक्षामा देखिएको नैराश्यता चिर्नका लागि संस्था गठन गरेको बताए । कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखका थिए।