पोखरा महानगरपालिका  स्थापना दिवस : ‘पोखरेली नवरत्न’बाट ९ जना सम्मानित

काठमाडौं । पोखरा महानगरपालिकाको ६७औं स्थापना दिवसका अवसरमा समाजका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्‍याउने ९ जनालाई आज ‘पोखरेली नवरत्न’बाट सम्मान गरिएको छ । महानगरपालिकाले गायन/सङ्गीत क्षेत्रबाट अमृत गुरुङ, धार्मिक पर्यटनरकृषि उद्यम क्षेत्रबाट चन्द्रकान्त बराल, समाजसेवारउद्योग क्षेत्रबाट चन्द्रकृष्ण कर्माचार्य र साहित्य क्षेत्रबाट तीर्थ श्रेष्ठलाई सम्मान गरेको हो । त्यस्तै पत्रकारिता क्षेत्रबाट तिलकमान गुभाजु, स्वास्थ्य क्षेत्रबाट प्राडा. बुद्धिबहादुर थापा, खेलकुद/शिक्षा क्षेत्रबाट प्राडा विरेन्द्रसिंह गुरुङ, उद्यमशीलताबाट रामकली खड्का र शिक्षा सेवा/उद्योगबाट हरिप्रसाद पाण्डेलाई सम्मान गरिएको छ । उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले जनही दुई लाख दुई हजार २०२ रुपैयाँसहित ताम्रपत्र र दोसल्लाबाट सम्मान गरेका हुन् ।  

‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान, क–कसले पाए ?

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०७ औं स्थापना दिवसको अवसर पारेर ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरेको छ ।  महानगरले स्थापना दिवसको अवसरमा कला, संस्कृति तथा सम्पदा संरक्षण, साहित्य, पत्रकारिता र विपद्, खेलकुद लगायत क्षेत्रमा उल्लेख्य योगदान गर्नेहरूलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गर्दै आएको हो। पुरस्कृत हुनेहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले पुरस्कार वितरण गरेकी हुन् ।   पुरस्कृत हुनेहरूमा कला साहित्य र सामाजिक सेवातर्फ धर्मलाल महर्जन, खेलकुद (कराते) तर्फ रवि महर्जन, कला र नृत्यतर्फ नारायणदेवी प्रधान, चारकोल चित्रकलातर्फ बाबुराज द्यःला , संचारतर्फ नारायण किलम्बु,  संंस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन तर्फ दिलेन्द्रराज श्रेष्ठ, विपद् व्यवस्थापनतर्फ सशस्त्र प्रहरी बल, नेपाल, दक्षिणकाली गण ललितपुर र ललितपुर चक्रपथ महानगर सरसफाई अभियानलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको थिएको थियो ।  पुरस्कृत व्यक्ति र संस्थालाई एक/एक लाखसहित सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी, कार्यक्रममा पर्वतारोही योगन्द्र महर्जनलाई विशेष सम्मान प्रदान गरिएको छ ।  कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।  उत्कृष्ट महानगर सेवा पुरस्कारबाट कर्मचारी राजेन्द्रप्रसाद अधिकारी पुरस्कृत भए । उनलाई पचास हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।  महानगर सेवा पुरस्कारबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, किरण राजथला, सरिता महर्जन, सविता थापा, प्रकाश खनाल, लता महर्जन, प्रविन कुमार श्रेष्ठ पुरस्कृत भए । महानगर सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीलाई २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

महानगरको छात्रवृत्तिबाट ३० हजार ७ सय ७९ विद्यार्थी लाभान्वित

काठमाडौं । काठमाडौं महानगरले आफ्नो पालिका भित्रका विद्यालयमा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गरेको जनाएको छ । महानगरपालिकाले प्रदान गरेको छात्रवृत्तिमा शैक्षिक सत्र २०८१ मा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्राप्त गरेका हुन् । जसमा छात्रा छात्रवृत्तिमा ५ हजार ८ सय ९५, दलित छात्रवृत्तिमा १ हजार ३ सय २२, अपाङ्ग र आवासीय छात्रवृत्ति ४ सय ५५ जनाले अवसर प्राप्त गरेका छन् ।  यस्तै, संस्थागत विद्यालयहरूमा कक्षा १ देखि १० सम्म १९ हजार ३ सय ६ जना र कक्षा ११ र १२ मा ३ हजार ८ सय १ जना छात्रछात्राले छात्रवृत्ति प्राप्त गरेका छन् । शिक्षा विभागले गएको वर्षको प्रगतिहरूको विषयमा जानकारी गराउने क्रममा यो विवरण उपलब्ध गराएको हो ।  यस्तै, महानगरले कक्षा १ देखि १२ सम्मका ५६ हजार ३ सय १ जनालाई निःशुल्क पाठ्यपुस्तक प्राप्त गरेको बताएको छ । ५८ हजार ७ सय ३९ जना विद्यार्थीले नियमित दिवा खाजा पाएका छन् भने स्यानिटरी प्याड प्रयोग गर्नु पर्ने उमेर समूहका १७ हजार ६ सय ८९ जना छात्राले निःशुल्क स्यानिटरी प्याड प्राप्त गरेका छन् ।  महानगरले २०८१ मा शिक्षातर्फ ३ अरब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । यसको ५३.८ प्रतिशत अर्थात १ अरब ७७ करोड ३४ लाख ४२ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।  यसमा आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अरब ४ करोड ८५ लाख २७ हजार विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार खर्च भएको छ ।  ‘गरी खाने शिक्षा महानगरको इच्छा’  कार्यक्रमका लागि ६० करोड रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड १ लाख ६६ रुपैयाँ अर्थात् ८.४ प्रतिशत खर्च भएको छ ।  शिक्षा क्षेत्रका स्वर्णीम योजनाका लागि ११ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख अर्थात् ३८.८ प्रतिशत खर्च भएको छ  । संघीय सशर्त अनुदानबाट १ अरब ४२ करोड ३४ लाख ५० हजार रुपियाँ प्राप्त भएकोमा यसको ९२.९ प्रतिशत अर्थात १ अरब ३२ करोड २२ लाख रुपैयाँ खर्च भएकाले विभागले जनाएको छ । शुक्रबारे कार्यक्रम काठमाडौं महानगरले सुरु गरेको पुस्तक रहित शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २१८ जना छात्रछात्रा सहभागी भएको पाइएको छ भने शिक्षामा सीप कार्यक्रमअन्तर्गत ५ हजार ११ जनाले कक्षा लिएका छन् । यस्तै, ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरिएको छ ।  सुन्दर विद्यालय निर्माणका लागि ८२ वटा विद्यालयलाई अनुदान प्रदान गरिएको छ  । महानगरपालिकाभित्रका आधारभूत विद्यालय २६ वटा, माध्यमिक विद्यालय ५८ वटा, विशेष विद्यालय ४ वटा,  वैकल्पिक विद्यालय २३ वटा, धार्मिक विद्यालय ११ वटा, सामुदायिक सिकाइ केन्द्र २८ वटा, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्थाहरू ७८४ वटा छन् ।  प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३३२ जना विद्यार्थीले अध्ययन गरेका छन् । आधारभूत तहअन्तर्गत कक्षा १ देखि ५ सम्म १६ हजार ५ सय ५२ जना र कक्षा ६ देखि ८ सम्म १४ हजार २१३ जना विद्यार्थीले अध्ययन गरेका छन् ।  माध्यमिक तहअन्तर्गत कक्षा ९ र १० मा १२ हजार ८९६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६४० जना र स्रोत कक्षामा ४ सय ५५ जना विद्यार्थीले अध्ययन गरेका छन् भने यस वर्ष सामुदायिक विद्यालयहरूमा ६२ हजार ८८ जना र संस्थागत विद्यालयहरूमा २ लाख २१ हजार ६४४ जना गरी २ लाख ८३ हजार ७३२ जना विद्यार्थीले अध्ययन गरेका छन्  ।