जेनजी आन्दोलनमा आगजनी भएका सम्पत्ति रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँ : राजुनाथ पाण्डे

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनकारीले आगजनी गरेका सम्पत्ति जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताएका छन् । महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताएका हुन । बिहीबार वागदरबारमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन नसकेको र २४ गते साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको बताए । राति सवा ८ बजेदेखि पौने १० सम्म सिंहदरबारमा दुई वटा दमकल लगेर आगो निभाएको स्पष्ट पारे । नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै आगो निभाउन सहज भएको उनको भनाइ छ । भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेको उनको भनाइ छ । दमकल जानसक्ने अवस्थामा महानगरले ढिलाइ नगरेको स्पष्टोक्ति छ । सुरक्षाको प्रत्याभुतिको आधारमा दमकल सुरक्षित रहेर उपयोग गरिएको बताए । उनले भने, ‘हामीलाई दमकल किन निस्केन भनेर प्रश्न आइरहेको थियो । तर आन्दोलन, आगजनी र तोडफोड भएका कारणले दमकल सडकमा निस्किन सकेन र साँझ बौद्धबाट निस्किन खोज्दा चाबहिलमा आएपछि दमकलमाथि नै ढुंगामुढा भएको र नेपाली सेनाको गाढीमा पनि ढुंगामुढा भएको छ । भाटभटेनी,हिल्टन, सर्वोच्च अदालत, सिंहदरबारमा पनि दमकल परिचालन गरेका थियौँ । हामी कुनै हालतमा पनि दमकल जानसक्ने अवस्थामा ढिलाइ गरेका छैनौँ । महानगरले दमकल पठाएन भन्नेकुरा गलत हो ।’ महानगर प्रहरीले घाइतेको उपचार, खानपानको व्यवस्थामा समेत खटिएको दाबी गरे । महानगरपालिकाले उपत्यकामा ५ वटा दमकल परिचालन गरेको बताए ।

क्षतिग्रस्त तारकेश्वर नगरपालिकाका कामकाज नियमित सञ्चालनमा

काठमाडौं । जेनजी युवाहरूको प्रदर्शनी र आगजानीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको कामकाज नियमित रूपमा सञ्चालनमा आएको छ । आन्दोलन र आगजानीका कारण तोडफोड भएको भौतिक संरचनालाई स्थानीयवासी र जनप्रतिनिधिले सफा गरेर आजदेखि कामकाज नियमित रूपमा सञ्चालन गरिएको नगरपालिकाका प्रवक्ता राधाकृष्ण खड्गीले जानकारी दिए । 'गत भदौ २३ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका कारण २९ सम्म नगरपालिका र मातहतका वडाको काम स्थगित भएको थियो, परिस्थिति सामान्य बनेपछि आजदेखि नियमित रूपमा सरसफाइ गरेर काम सञ्चालनमा आएको हो,' उनले भने । आन्दोलनका क्रममा तारकेश्वर नगरपालिकाका पाँचवटा गाडी, एक डोजर र १२ मोटरसाइकलमा आगजनी भएको प्रवक्ता खड्गीले बताए । यसबाहेक राजस्व शाखा, कानुन शाखा र इन्जिनियरिङ शाखामा समेत क्षति पुगेको छ । जेनजी आन्दोलनका कारण तारकेश्वरका चारवटा वडा पूर्ण रुपमा ध्वस्त भएका छन् ।  नगरपालिकाका–१, ४, १० र ११ मा क्षति पुगेको छ । क्षतिग्रस्त वडामा पनि आजदेखि टेबुल र कुर्सी राखेर सेवा सञ्चालन गरिएको प्रवक्ता खड्गीले बताए । 

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो । विद्यालयमा कुनै क्षति भए/नभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ । महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति भए/नभएको एकिन गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न सूचित गरेको हो ।  महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्य दृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।