ललितपुर महानगरको पोलमा पर्चा टाँस्नेलाई १० हजार जरिवाना

काठमाडौं । ललितपुर महानगरपालिकाले सार्वजनिक पोलमा विज्ञापनको पर्चा टाँसेर फोहोर गरेको आरोपमा एग्रो थाई फुड प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरले आइतबार सो कम्पनीलाई जरिवाना गर्दै सम्बन्धित पक्षलाई आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ । उक्त कम्पनीबाट उत्पादन भएको इनर्जी ड्रिङ्कको विज्ञापन पर्चा ललितपुरका विभिन्न सडक किनारका पोलहरूमा टाँसिएको थियो । महानगरले जारी गरेको रसिदमा ‘अनाधिकृत विज्ञापन’ शीर्षक उल्लेख गरिएको छ । महानगरका अनुसार यस्ता अनधिकृत पर्चा टाँस्ने कार्यले शहरको सौन्दर्य र सरसफाइमा नकारात्मक प्रभाव पार्ने भएकाले कडाइका साथ कारबाही गरिँदै आएको छ । ललितपुर महानगरले पछिल्ला दिनमा सडक, पोल र सार्वजनिक स्थलमा अनधिकृत रूपमा पर्चा, पोस्टर र ब्यानर टाँस्नेविरुद्ध नियमित अनुगमन र जरिवाना अभियान सञ्चालन गर्दै आएको छ ।

अब साइकलबाटै वारपार गर्न मिल्ने, बन्दैछ ५ करोडमा साइकलमैत्री आकासे पुल

काठमाडौं । ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकल बाटै वार पार गर्न मिल्ने आकासे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरी बाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६.६१ मिटर लामो साइकलमैत्री एवं अपाङ्गतामैत्री आकासे पुलको शिलान्यास गरे । त्यस क्रममा उनले सडकको दुवै तर्फबाट साइकलमा सडक वार पार गर्न मिल्ने गरी आकासे पुल निर्माण गरिने जानकारी गराए ।  ‘समयमै गुणस्तरीय काम हुने विश्वास छ, यस क्रममा सरकार र महानगरका तर्फबाट  कुनै पनि तहबाट बाधा-व्यवधान हुँदैन । निर्माण व्यवसायी, परामर्शदाताहरूबाट पनि यो काममा कुनै विलम्ब नहोस्,’ महानगर प्रमुख महर्जनले भने, ‘सम्भवतः यो नेपालमै पहिलो काम हुन्छ । यसलाई समयमै निर्माण गरी ठेकेदारप्रति रहेको नकारात्मक धारणा पनि परिवर्तन गर्न लागौँ ।’ महानगरको ५ करोड ४ लाख ४८ हजार ४२६ रुपैयाँको लागतमा निर्माण हुने पुल एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । लामा प्रगति-मनि बुद्ध जेभी, काभ्रेपलाञ्चोकले निर्माणको ठेक्का लिएको छ । गत असार २२ गते सम्झौता गरी १२ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको महानगरका सिडिई प्रदीप पौडेलले जानकारी दिए ।  शिलान्यास कार्यक्रममा वडा नं ४ का अध्यक्ष सन्तोष केसी, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन लगायतले आफ्नो धारणा राखे । 

ललितपुर महानगरले चक्रपथमा निर्माण सुरु गर्‍यो साइकलमैत्री आकाशे पुल

ललितपुर । ललितपुर महानगरले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ ।उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरेका हुन् । पुलको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख महर्जनले चक्रपथको धोबीघाट क्षेत्र पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै, उक्त जोखिम घटाउनका लागि आकाशे पुल निर्माण गर्न लागिएको बताए । उनले भने, 'सडक सुरक्षित नभएकै कारण यो ठाउँमा दर्जनभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । दुर्घटना हुन नदिनका लागि पुल बनाउन लागेका हौं ।' महर्जनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको र चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै, कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाइएको र धापाखेलस्थित महादेव खोलामा समेत पुल निर्माण भइरहेको बताए । महानगर प्रमुख महर्जनका अनुसार, चक्रपथ क्षेत्रमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएकाले समय लाग्ने गरेको छ । उनले भने, 'पुल निर्माणका लागि धेरैअघि नै माग आएको थियो तर स्वीकृति पाउन ढिलाइ भएकाले काम ढिलो सुरु भएको हो ।' उनले निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे । सुशासन तथा संस्थागत विकास समितिका संयोजक र वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । उनका अनुसार, स्थानीयको मागअनुसार पुल निर्माणका लागि महानगरले धेरैअघि नै प्रक्रिया अघि बढाए पनि सडक विभागको स्वीकृति ढिलो पाएकाले काम सुरु हुन ढिलाइ भएको हो । उनले विकास निर्माणका काममा स्थानीयले महानगरसँग समन्वय र सहकार्य गर्नुपर्नेमा जोड दिए । ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक रहेको उल्लेख गर्दै, सुशासन र अनुशासन कायम राख्न सबैलाई आग्रह गरे । वडा नं. ४ का अध्यक्ष सन्तोष खड्काले धोबीघाटमा निर्माण भइरहेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सजिलो र सुरक्षित बनाउने बताए । त्यसैगरी, ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलले चक्रपथको धोबीघाटमा पैदलयात्रीको सुरक्षाका लागि पुल निर्माण गरिएको बताए । उनका अनुसार, सडक वारपार गर्दा भएका दुर्घटनामा धेरैले ज्यान गुमाएकाले पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखी निर्माण कार्य सुरु गरिएको हो । महानगरका अनुसार, पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रुपैयाँ रहेको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुने यो पुलले दमकल–सुन्दरीघाट मार्गका पूर्व र पश्चिम क्षेत्रलाई जोड्ने भएकाले चक्रपथ वारपार गर्न सजिलो हुने बताइएको छ ।