काठमाडौं महानगरको ४३ औं कार्यपालिका बैठक सम्पन्न, १५ वटा प्रस्ताव पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ विभागीय र विविधसहित १५ वटा प्रस्ताव पारित गर्दै ४३ औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ । प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा छलफल गरी निर्णय गरिएको हो । बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएका छन् । तीमध्ये वडा नं. ५ टंगालस्थित व्यवसायिक भवन निर्माण तथा सञ्चालन, वडा नं. १ दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन र वडा नं. १ कै नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू स्वीकृत भएका हुन् । त्यसैगरी प्रशासन विभागका तर्फबाट कलंकी मालपोत कार्यालयलाई रु. १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई रु. १५ लाख अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पारित गरिएको छ । साथै महानगर अस्पतालका लागि जग्गा लिजमा लिने सम्बन्धी जानकारीसमेत बैठकमा प्रस्तुत गरिएको थियो । सामाजिक विकास विभागका प्रस्ताव अन्तर्गत बालकल्याण अधिकारी तोक्ने र काठमाडौं महानगरपालिका सीप तथा तालिम परिषद् स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि ऐन तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने दुई प्रस्ताव पारित भएका छन्। स्वास्थ्य विभागतर्फबाट काठमाडौँ महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बीचको सम्झौता नवीकरण गर्ने र स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवर्द्धक केन्द्रहरूमा थप जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव स्वीकृत भएको छ । ती केन्द्रहरूमा एक जना मेडिकल अधिकृत, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीको व्यवस्था गरिने निर्णय भएको छ । कानुन तथा मानव अधिकार विभागले तयार गरेको राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२ स्वीकृत गरिएको छ भने सूचना प्रविधि विभागका तर्फबाट सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापन सम्बन्धी प्रस्ताव पारित भएको छ । त्यस्तै, सार्वजनिक निर्माण विभागले हनुमानढोका दरबार परिसर र डबली क्षेत्र अन्तर्गत भइरहेका मर्मत कार्यहरूमा बाँकी कामको परिमाण माग र आवश्यकताअनुसार अन्य स्थानमा स्थानान्तरण गर्ने निर्णय अनुमोदन गरिएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले सीटीनेटद्वारा इन्डोनेसियामा आयोजना हुने ४५औं  सिटीनेट कार्यकारी समिति बैठकमा सहभागिताका लागि वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मनोनयन गरेको प्रस्ताव अनुमोदन भएको छ । त्यसैगरी, सहरी योजना आयोग सचिवालयका तर्फबाट सुरज शाक्य र सुमन प्रधानलाई सहरी योजना आयोगका सदस्यका रूपमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत भएको छ। विविध प्रस्ताव अन्तर्गत ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि जनही २२ लाख ९९ हजार रुपैयाँका दरले अनुदान सहायता उपलब्ध गराउने र यन्त्र तथा उपकरण महाशाखामा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीलाई वार्षिक एप्रोन सुविधा वृद्धि गरी ८ हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरिएको छ। यी सबै प्रस्ताव पारित भएसँगै काठमाडौं महानगरपालिकाको ४३ औं कार्यपालिका बैठक सम्पन्न भएको छ ।

कहाँ निर्माण हुँदैछ काठमाडौं महानगरको कार्यपालिका भवन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारपछि कार्यपालिका भवन निर्माण सुरु गर्ने भएको छ । महानगरका प्रमुख बालेन शाहले शुक्रबार कार्यपालिका बैठकमा सो कुराको जानकारी गराएका हुन् ।  विगत लामो समयदेखि महानगरपालिले आफ्नै कार्यपालिका भवन बनाउने कुरा उठाउँदै आएपनि आजका दिनसम्म भाडाको भवनबाटै नागरिकलाई सेवा प्रवाह गर्दै आएको छ ।  महानगरका प्रमुख शाहले तिहारपछि कार्यपालिका भवन सुरु हुन्छ भनेको ठाउँ अन्त कतै नभएर बागदरबार हो । जुन ठाउँमा अहिले महानगर प्रहरी बस्दै आएको छ ।  महानगरका सूचना अधिकारी नुरनिधि न्यौपानेका अनुसार महानगरले बागदरबारलाई रेट्रो फिटिङ गरेर निर्माण गर्दैछ । ‘बागदरबारको रेट्रोफिटिङ प्रक्रिया अगाडि बढिसकेको छ । तिहारपछाडि काम सुरु हुन्छ,’ उनले भने ।  सूचना अधिकारी न्यौपानेका अनुसार बागदरबारको रेट्रोफिटिङ सम्पन्न हुन कम्तीमा पनि एक वर्ष लाग्छ । उनले बागदरबार महानगरको लागि भने पर्याप्त नहुन बताउँछन् । उनका अनुसार बागदरबारलाई महानगरले बैठक हल र म्युजियम बनाउने कुरा उठाएको छ ।  त्यस्तै, महानगरले तिहार लगत्तै टेकुस्थित पुरानो भवन भएको ठाउँमा भवन निर्माण प्रक्रियालाई अगाडि बढाउने तयारी गरेको छ । यसअघि नै महानगरले पुरानो भवनलाई भत्काएर नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढाइसकेको थियो । तर निर्माणधिन भवनको ठेक्कामा अनियमिता गरेको भन्दै अख्तियारले चार जना कर्मचारी विरुद्ध मुद्दा दायर गर्‍यो ।  कर्मचारी कारबाहीमा परेपनि ठेक्का कायमै रहेको र अदालतले पनि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन आइसकेको सूचना अधिकारी न्यौपानलेले बताए । अदालतको आदेशअनुसार तिहारलगत्तै भवन निर्माण अगाडि बढाउने तयारी रहेको उनको भनाइ छ । भवन निर्माण सम्पन्न हुन कम्तीमा ३/४ वर्ष लाग्ने र निर्माणपछि महानगरपालिका त्यहाँ सर्ने उनले बताए ।  महानगरपालिकाको लागि यो भवन निर्माण भएर सरे पनि पर्याप्त छैन । नपुगेको अवस्थामा यता/उता मिलाएर महानगरको कामकारबाही चलाउने भन्ने छ, उनले भने । यसबाहेक महानगरको भवन निर्माणको लागि अन्त कतै कुनै तयारी नभएको उनले बताए ।  ‘नयाँ जग्गा छैन, नगरपालिकाको स्वामित्वमा भएको छैन । भवन निर्माणको लागि कम्तीमा पनि पाँच रोपनी जग्गा चाहिन्छ । टेकुको जग्गामा बन्छ, नपुगेको अवस्थामा यता उता मिलाएर  बस्नुपर्ने हुन्छ,’ उनले भने । 

जेनजी आन्दोलनपछि देशभरका १५० भन्दा बढी पालिका प्रभावित, यस्तो छ क्षतिको विवरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा देशभरका १५३ वटा नगरपालिकामा क्षति पुगेको छ । नेपाल नगरपालिका संघले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार ८० वटा पालिकामा आगजनी र ७३ वटा पालिकामा तोडफोड भएको हो । नगरपालिका संघका अनुसार पूर्ण क्षतिको विवरण भने अझै संकलन हुने क्रममै छ । जेनजी आन्दोलनको क्रममा सबैभन्दा धेरै क्षति मधेश प्रदेशका पालिकाहरूमा पुगेको छ ।  मधेश प्रदेशमा ७७ पालिका छन् । जसमध्ये ३४ पालिका कार्यालयमा आगजनी र २२ वटा कार्यालयमा तोडफोड भएको छ । २३ पालिकामा भने कुनै क्षति पुगेको छैन । त्यसपछि सबैभन्दा धेरै क्षति कोशी प्रदेशका पालिकाहरूमा भएको छ । कोशी प्रदेशमा ४९ वटा पालिका रहेको छ । जसमध्ये १९ वटा पालिकामा आगजनी र ७ वटामा तोडफोड भएको छ ।  बागमती प्रदेशका २२ पालिकामा क्षति पुगेको छ । जसमा १२ पालिकामा तोडफोड र १० वटा पालिकाको कार्यालयमा आगजनी भएको छ । लुम्बिनीका ८ वटा पालिकामा आगजनी, १६ वटा पालिकामा तोडफोड भएको छ ।  यस्तै, गण्डकीका २ वटा पालिकामा आगजनी, ३ वटा पालिकामा तोडफोड भएको छ । यसैगरी, कर्णालीका एउटा पालिकामा आगजनी र ५ वटा पालिकामा तोडफोड भएको छ । यस्तै सुदूरपश्चिमका ६ वटा पालिकामा आगजनी, ८ वटा पालिकामा तोडफोड भएको छ । संघको प्राराम्भिक तथ्यांकअनुसार सप्तरीमा ९ वटा नगरपालिकामध्ये ७ वटामा आगजनी र २ वटा नगरपालिकामा तोडफोड भएको छ । कञ्चनरूप नगरपालिकाको भवनसहित त्यहाँका मेयरको घरमासमेत आगजानी भएको थियो । आगजनी हुँदा पालिका भवन र नगरप्रमुखको व्यक्गित सम्पति पूर्ण रूपमा जलेर नष्ट भएको छ । खडक नगरपालिकाको भवनमा तोडफोडसहित आगजनी हुँदा भवनभित्र रहेका सबै कागजात जलेका छन् भने सवारी साधनमा पनि क्षति पुगेको छ । डाक्नेश्वरी नगरपालिकाको वडा न १० कार्यालयमा आगजनी भएको छ । बोदे बरसाइन नगरपालिकाको कार्यालयमा तोडफोड, आगजनी र सवारीसाधनमा क्षति पुगेको छ । राजविराज र शम्भुनाथ नगरपालिकाको कार्यालयमा तोडफोड, आगजनी र सवारी साधनमा क्षति पुगेको छ ।  सप्तकोशी नगरपालिकाको भवन र सवारी साधनमा तोडफोड भएको छ भने प्रमुखको व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ । सुंरुगा नगरपालिकाको घुम्ती सार्वजनिक शौचालयमा सामान्य आगजनी भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिकामा सामान्य क्षति पुगेको छ । सिरहाको ८ वटा नगरपालिकामध्ये एउटा पालिकाबाहेक सबैमा तोडफोड र आगजनी भएको छ । कल्याणपुर नगरपालिकामामा आगजनी र तोडफोेड हुँदा ९० प्रतिशत क्षति पुगेको छ । गोलबजार, धनगढीमाई, मिर्चैया,  सुखीपुर र लाहान नगरपालिको कार्यालयमा तोडफोड, आगजनी र सवारी साधनहरूमा क्षति पुगेको छ । कार्यालय भवनमा आगजनी हुँदा यी पाँच वटै पालिकाका आवश्यक कागजात पनि नष्ट भएको छ । सिरहा नगरपालिकाको नयाँ भवनमा क्षति नपुगेको छ पुरानो भवन पूर्ण रुपमा क्षति भएको छ । साथै भवनभित्र रहेका सम्पूर्ण कागजात खरानी भएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा भने कुनै क्षति पुगेको छैन । नगरपालिका संघको प्रारम्भिक तथ्यांकअनुसार धनुषाको १२ वटा पालिकामध्ये जनकपुरधाम उपमहानगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिकामा सबैभन्दा धेरै क्षति र ती वटामा आंशिक क्षति पुगेको छ । कमला नगरपालिकाको भवन पूर्ण रूपमा क्षति पुगेको छ । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका  र विदेश नगरपालिकाको कार्यालयमा आगजनी तोडफोड र सवारी साधनमा क्षति पुग्नुका साथै अतिआवश्यक सबै कागजत नष्ट भएको छ । क्षिरेश्वर नगरपालिकामा सामान्य ढुंगामुढा, गणेशमान चारनाथ नगरपालिकामा ढुंगामुढा र केही कागजपत्र चोरी, नगराइन, मिथिला र मिथिला विहारी  नगरपालिकामा आंशिक क्षति पुगेको छ । बाँकी नगरपालिकारुमा कुनै क्षति पुगेको छैन । हंसपुर नगरपालिकाको मेयरको घरमा भने तोडफोड र लुटपाट भएको छ ।  महोत्तरीका १० वटा नगरपालिकामध्ये एउटा पालिकामा आंशिक क्षति र दुईवटा पालिकामा सामान्य क्षति पुगेको छ । बाँकी पालिकामा भने कुनै क्षति भएको छैन । गौशाला नगरपालिकामा आंशिक क्षति, भंगाहा नगरपालिका र रामगोपालपुर नगरपालिकामा सामान्य क्षति पुगेको छ । सर्लाहीका ११ नगरपालिकामध्ये ६ वटा पालिकाको कार्यालयमा आगजनी भएको छ । गौर नगरपालिकाको गाडीमा तोडफोड भएको छ । रौतहटका ९ पालिकामध्ये ३ वटामा आगजनी २ वटामा तोडफोड भएको छ । बाराका ७ पालिकाहरुमध्ये तीनवटा पालिकाको भवन पूर्ण रुपमा क्षति पुगेको छ । कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिकार निजगढ नगरपालिकाको कार्यालयमा आगजनी हुँदा पूर्ण रुपमा क्षति पुगेको छ । कोल्हवी, सिम्रौनगढ, पचरौता, नगरपालिका आंशिक क्षति भएको छ । पर्साको विरगञ्ज महानगरपालिकाको कार्यालय पूर्ण रुपमा क्षति पुगेको छ । बाँकी पालिकामा तोडफोड भई आंशिक क्षति पुगेका छन् । कोशी प्रदेशअन्तर्गत ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यालय भवनमा तोडफोड, पाँचथरको इलाम नगरपालिकाको कार्यालय भवनमा आगजनी, इलामको माई नगरपालिकामा आगजनी भएको छ । झापाको ८ वटा नगरपालिकामध्ये अर्जुनधारा र शिवसताक्षि नगरपालिका कार्यालय भवनमा तोडफोड र बाँकीमा आगजनी भएको छ । सुनसरीको बराह नगरपालिकाको तीन वटा वडामा जनप्रतिनिधिहरुको घरमा आगजनी भएको छ ।  बागमती प्रदेशअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिकाको भवन र अन्य चार वटा कार्यालयमा पूर्ण क्षति पुगेको छ । काठमाडौंको कागेश्वर मनोहराको नगरपालिका भवन, वडा नं ६, ७ र ९ मा आगनजी, काठमडौं महानगरपालिका वडा नं ३२ को वडा कार्यालयमा पनि क्षति पुगेको छ । त्यस्तै किर्तीपुर नगरपालिका भवन, वडा नं ४ पूर्ण क्षति र ३,५ र ९ वडामा आंशिक क्षति पुगेको छ । गोकर्णेश्वर नगरपालिकाको १, ३ र ५ वडामा तोडफोड, चन्द्रगिरी नगरपालिका भवन र वडा नं २ को कार्यालयमा तोडफोड गरिएको छ । त्यसैगरी काठमाडौंकै टोखा नगरपालिका वडा नं ११ मा आगजनी, ८ र ९ वडामा तोडफोड भएको छ । तारकेश्वर नगरपालिका भवन, वडा नं १०, ११ र १४ वडामा आगजनी, दक्षिणकाली नगरपालिका भवनमा तोडफोड, वडा नं ७ का का प्रमुखको घरमा आगजनी र वडा नं ३ र ४ मा तोडफोड गरिएको छ  । त्यस्तै, बुढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ मा आगजनी भएको । सूर्यविनायक नगरपालिकाको भवन, वडा नं ४ र ७ मा आगजनी, गोदावरी नगरपालिका १२ र १४ वडामा तोडफोड गरिएको छ । ललितपुर महानगरपालिका वडा नं १ मा तोडफोड, मकवानपुरको हेटौडा उपमहानगरपालिका भवन, वडा न. ३,४, १०,११, १३, १५ र १९ मा आगजनीसहित तोडफोड भएको छ । कालिका नगरपालिका भवन तोडफोड र वडा कार्यालयमा आगजनी र चितवनको राप्ती नगरपालिका भवन तोडफोड, वडा कार्यालय १० र १३ बाहेकमा आगजनी  गरिएको छ । गण्डकी  र लुम्बिनी प्रदेशका पालिकाहरुमा तुलानात्मक रुपमा कम क्षति पुगेको छ । कास्कीको पोखरा महानगरपालिका भवनमा आगजनी, तनहुँको शुक्लागण्डकी नगरपालिकामा तोडफोड गरिएको छ । उक्त पालिकाको वडा न ८ मा आगजनी हुँदा पूर्ण रुपमा क्षति पुगेको छ । नवलपुरको वडा नं ११ र १३ मा सामान्य तोडफोड र बागलुङको वडान १२ मा सामान्य तोडफोड भएको छ । लुम्बिनीप्रदेशअन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, सितगंगा नगरपालिका, नवलपरासीको बर्दघाट नगरपालिका, रामग्राम नगरपालिकामा तोडफोड गरिएको छ । त्यस्तै रुपन्देहीको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकामा तोडफोडसहित आगजनी गरिएको छ । कपिलवस्तुक ६ वटै पालिकाहरुमा भवनमा तोडफोड गरिएको छ । दाङको लमही नगरपालिका, बर्दियाको बाँसगढी नगरपालिकामा तोडफोड भएको छ । बाँकेको कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र गुलरिया नगरपालिकामा आगनजी गरिएको छ ।  कर्णाली प्रदेशअन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भवनमा सामान्य क्षति पुगेको छ । सल्यानको शारदा नगरपालिकाका प्रमुखमाथि सामान्य कुटपिट, जुम्लाको चन्दननाथ नगरपालिका, जाजरकोटको आठबीस नगरपालिका, दैलेखको पञ्चपुरी नगरपालिका र कर्णालीको भेरीगंगा नगरपालिकामा तोडफोड गरिएको छ । विरेन्द्रनगर नगरपालिकामा आगनजी भएको छ । सुदूरपश्चिममा भएका पालिकाहरूमध्ये डोटीको गौरीगंगा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका, टिकापुर नगरपालिका, कञ्चनपुरको पुनर्वास नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिमा आगजनी गरिएको छ ।  अछामको मंगलसेन नगरपालिका, बझाङको बुंगल नगरपालिका, डोटीको दिपायल सिलगढी, कैलालीको लम्की चुहा, दार्चुलाको शैल्यशिखर, डढेलधुराको अमरगढी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिकामा तोडफोड भएको संघको प्रारम्भिक तथ्यांक छ ।