एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा, १ करोड प्रिमियम भुक्तानी
काठमाडौं । ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत १ करोड रुपैयाँ भुक्तानीसमेत गरिएको जनाएको छ । समझदारीपत्रमा महानगर प्रमुख चिरी बाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघु राज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महानगरले नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारी चालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को स्वास्थ्य बीमा बापतको सतप्रतिशत प्रिमियम महानगरले तिर्ने छ । महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्षअघि देखि सुरु गरेको थियो । महानगर प्रमुख चिरी बाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताए । ‘हामीले पाटन अस्पतालसँग सहकार्य गरेर बिरामीको शय्यासम्म अक्सिजन व्यवस्थापनका लागि सहज बनाएका छौँ, लास व्यवस्थापन गर्न ‘मर्चरी हाउस’को व्यवस्थापनका लागि सुविधा प्रदान गरेका छौँ । यो देशकै नमूना भएको छ, स्वास्थ्य क्षेत्रमा विषय विज्ञ चिकित्सकको अभाव र लापरबाही हुनुहुँदैन, यसमा हामी यसमा सचेत छौँ,’ उनले भने । महानगर प्रमुख महर्जनले स्वास्थ्य बीमाको उपचारका लागि स्वास्थ्य केन्द्रको व्यवस्थापन गरिएको र २१० जनाको क्षमता भएको ठाउँमा ३०० भन्दा बढीले दैनिक सेवा लिन आउने गरेको बताए । ‘स्वास्थ्य बीमा बोर्डसँग गरेको यो सम्झौताले थप दायित्व सृजना गरेको छ । मुलुकको पायोनियर अस्पतालसँग समन्वय गरेर केही हदसम्म काम गरेका छौँ, भविष्यमा पनि राम्रो काममा सहकार्य गर्नेछौँ,’ उनले भने । बोर्डका कार्यकारी निर्देशक रघु राज काफ्लेले महानगरबाट राम्रो कामको थालनी भएको बताए । ‘अरू ७५२ स्थानीय तहले पनि यसबाट सिक्नुपर्ने हुन्छ, ललितपुरले छुट्टै छवि कायम गरेको छ । विगत केही वर्षदेखिको कार्यसम्पादनले आफ्नो भूमिकालाई बलियो रुपमा स्थापित गरेको छ,’ उनले भने, ‘स्वास्थ्य बीमामा नसक्ने भुइँ तहमा रहेका लाखौँ नागरिक जोडिएका छन्, यसलाई राज्यले चाहेर पनि खोस्न सक्दैन । स्वास्थ्य बीमा ७५३ पालिका र सात प्रदेशका बेसहाराहरूको सहारा बन्दै गएको छ । नागरिकको बीमा गराउने नमूना काममा ललितपुर महानगर लागेकामा खुसी छौँ ।’ पाटन अस्पतालका निर्देशक रवि शाक्यले ललितपुर महानगरको सहयोगमा देशकै आधुनिक शव व्यवस्थापन गृह व्यवस्थापन गरिएको र यसमा स्वास्थ्य बीमामा पनि महानगरले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।
स्वास्थ्य बीमाको प्रिमियममा ललितपुर महानगरको उदाहरणीय काम
ललितपुर । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ । ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबीच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारीपत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रुपमा हस्ताक्षर गरे । यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को भने सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको हो । कार्यक्रममा चेक हस्तान्तरण पनि गरिएको थियो । ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्ष अघिबाट सुरु गरेको हो । यल स्वास्थ्य केन्द्रमार्फत बीमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन्। ललितपुर महानगरका प्रमुख चिरी बाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताए । उनले भने, ‘महानगरले महानगरबासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान बिन्दु हो ।’ कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको बताए । कोभिडपछि महानगरले सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्टसमेत जडान गरेको नगर प्रमुख बताए । पाटन अस्पतालमा मर्चरी हाउसको स्तरोन्नतिको लागि समेत महानगरले सहयोग थियो । उनले यल स्वास्थ्य केन्द्रमा चाप बढेको बताउँदै उपयुक्त स्थानमा यसलाई विस्तार गर्ने तयारी गरेको समेत उनले जानकारी दिए । महानगर प्रवक्ता राजु महर्जनले महानगर बासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको दाबी गरे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्वपूर्ण निर्णय भएको बताए । ललितपुर महानगर पाटन अस्पतालको अभिभावक भएको बताउँदै पाटन अस्पतालको उतारचढाव र कठिनाइमा सँगै भएको बताए । राष्ट्रिय बीमा बोर्डका रघुराज काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको प्रमाणित भएको बताए । उनले भने, ‘यो अन्य सात सय ५२ स्थानीय तहको लागि अनुकरणीय काम हो ।’ विभिन्न क्षेत्रमा बीमा कार्यक्रमलाई कमजोर बनाउन खोजिए पनि अब कसैले चाहेर पनि यो कार्यक्रम कमजोर हुन नसक्ने बताए । बीमा कार्यक्रम भुइँ तहका नागरिकले स्वास्थ्य क्षेत्रमा प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताए । बीमा कार्यक्रमका थुप्रै आरोह अवरोह भएको बताउँदै त्यसलाई पन्छाउँदै अघि बढेको प्रष्ट पारे । एक सय पाँच भन्दा बढी मुलुकको स्वास्थ्य बीमाको मोडलबारे छलफल भएर लागू गरेको बताए ।
छात्रवृत्तिमा पढ्न चाहनुहुन्छ ? काठमाडौं महानगरले फारम खुला गर्यो
काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहनेहरूका लागि आवेदन खुला गरेको छ । माध्यामिक शिक्षा परीक्षा एसईईमा ग्रेड भएका विद्यार्थीलाई मध्यनजर गर्दै महानगरले सूचना निकालेको हो । महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा अध्ययन गर्न चाहने विद्यार्थीले अनलाइन मार्फत आवेदन दिन सक्ने महानगरपालिकाले जनाएको छ । इच्छुक विद्यार्थीले यही असार १८ गतेदेखि २७ गते रातीसम्म फारम भर्न सक्ने महानगरले एक सूचना जारी गर्दै जानकारी गराएको हो । आवेदन भरेका विद्यार्थीहरूको परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म परीक्षा लिइने छ । परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित सयवटा वस्तुगत बहुवैकल्पिक प्रश्न हुने छन् ।