विपद् व्यवस्थापनमा खटिए महानगर प्रहरी
काठमाडौं । गएरातिदेखि निरन्तर वर्षा भएपछि काठमाडौं महानगर प्रहरीले विपद् व्यवस्थापन कार्यमा १०० जना महानगर प्रहरी खटाएको छ । कुनै बस्तीमा डुबानका कारण समस्या भयो भने नजिकैको सुरक्षित विद्यालयमा सार्ने तयारी समेत महानगरले गरेको जनाइएको छ । कुनै समस्या परेमा तुरुन्त सम्पर्क गर्न पनि महानगरले आग्रह गरेको छ । विपद् व्यवस्थापन विभागका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार गएरातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौंलगायत देशका अधिकांश स्थानको अवस्था संवेदनशील रहेको छ । काठमाडौंको हकमा भने नगर प्रहरी परिचालन गरीसकिएको छ भने आवश्यकताअनुसार अन्य तयारी अवस्थामा रहेको प्रमुख जोशीले जानकारी दिए । महानगरले जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन र अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर नजान आग्रह गरेको छ । महानगरका जनप्रतिनिधि सम्भावित जोखिमयुक्त स्थानको अवलोकनमा खटिएको पनि जनाइएको छ । विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको छ र खोलाले घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको छ । अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान रोक्न बोरामा ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको जोशीले बताए ।
९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो, १ हजार ५४ आयोजना सम्पन्न
काठमाडौं । विकास-निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र ५ वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ । १ हजार ५४ आयोजना सम्पन्न नगरपालिकाले गत आवमा वर्ष १ हजार ५४ आयोजना सम्पन्न गरेको छ । १ हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्का मार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । पूरा भएका १६ वटा आयोजना ५० लाख रुपैयाँभन्दा बढी लागतका, १६६ वटा आयोजना ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका र ८७२ आयोजना ५ लाख रुपैयाँ भन्दा कम लागतका हुन् ।
जेनजी प्रदर्शन : बनेपा नगरपालिकामा १० करोडको क्षति
काभ्रेपलाञ्चोक । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीबाट बनेपा नगरपालिमा करिब रु १० करोडबराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उक्त रकमबराबरको क्षति भएको जनाइएको हो । प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको नगरले जनाएको छ । नगरको मूल्याङ्कनअनुसार तीनतले प्रशासनिक भवनको पहिलो तलामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी तथा सामुदायिक विकास, राजस्व, जिन्सी, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय तथा शाखाका कार्यकक्षभित्र रहेका महत्त्वपूर्ण अभिलेख तथा दस्तावेज पूर्ण रूपमा नष्ट भएको छ । विसं २०४३ मा निर्माण भएको उक्त मुख्य भवनको ह्रासकट्टीसहितको प्राविधिक मूल्याङ्कनमा रु पाँच करोड ४२ लाख ५४ हजार ४८७ क्षति भएको जनाइएको हो । त्यसैगरी, दोस्रो तलामा रहेका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गोप्यकक्ष, सचिवालय कक्ष, न्यायिक समितिको इजलास कक्ष, कानुन, शिक्षा, लेखा शाखा र दुईवटा शौचालय जलेर पूर्ण रूपमा नष्ट भएको पूाविधि मूल्याङ्कनमा उल्लेख गरिएको छ । यस्तै तेस्रो तलामा रहेको आन्तरिक लेखा परीक्षण, जिन्सी गोदाम कक्ष र लेखा शाखाका सबै अभिलेख रहेको कक्षसहित सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ । योजना र प्राविधिक शाखा रहेको भवनका सबै शाखा तथा कार्यकक्ष र त्यहाँका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन् । सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवनभित्रका सबै शाखा पनि जलेर नष्ट भएको उल्लेख गरिएको छ । मिनीट्रक रु ४९ लाख ५० हजार, तीन ट्याक्टरको रु ४५ लाख, एक टिपरको रु २५ लाख ९० हजार, एक मोटरसाइकलको रु एक लाख ४२ हजार ९००, दुई कारको रु २३ लाख, एक जीपको रु पाँच लाख आठ हजार २६८, पाँच साइकलको रु ५० हजार क्षति भएको छ । डेक्सटप कम्प्युृटर सेट ४४, ल्यापटप १६, ट्याबलेट १४, २१ मोबाइल, ५३ प्रिन्टर, डिजिटल क्यामेरा तीन, भिडियो क्यामेरा एक, टेलिभिजन तीनलगायत ६१ प्रकारका सामानको मूल्य रु आठ करोड २२ लाख ४९ हजार ५३१ बराबरको क्षति भएको उल्लेख छ । त्यस्तै, खर्च भएर जाने एक सय ४९ प्रकारका जिन्सी सामान जलेकामा रु १४ लाख ६० हजार क्षति भएको जनाइएको छ । विपद् प्रकोप व्यवस्थापनसम्बन्धी सम्पूर्ण सामग्री, सहरी तथा वातावरणीय सुधार परियोजनाका सामग्री तथा पुरातात्विक सामानसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन् । पुरातात्विक सामान पितलको कोपडा, चार धलौटका घण्टी, सिला भएको सूर्यनारायणको मूर्ति, ढुङ्गाको शिलापत्र, ढुङ्गाको मुखुण्डो, धलौटको सिनमुलगायत सामग्री चोरी भएको उल्लेख गरिएको छ । नगर कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको पहिचान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए । हाल बनेपा १० नं वडा कार्यालयमा नगर कार्यालय व्यवस्थापन गरी सेवा प्रवाह गरिएको छ । रासस