काठमाडौं महानगरपालिकाका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

काठमाडौं । काठमाडौं महानगरपालिकाले यसवर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम रहने जनाएको छ । पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरुप कार्यक्रम गर्ने तयारी रहेको कामपा नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।  

उनले भने, 'कामपाको १ देखि ३२ वटै वडाका प्रतिनिधि, नागरीकसँगको सोधपुछ र विगतका अभ्यासलाई समेत अध्ययन गरी स्थान पहिचानको काम गरेको हो । ' 

खोला छेउछाउको बस्ती स्थानान्तरण भएसँगै यस वर्ष नदीजन्य विपद्का घटनामा कमी आउने आशा काठमाडौं महानगरको छ । 

विपद् पूर्वतयारीका विषयमा कुरा गर्दै जोशीले भने, '​​​​​​​डुबानमा परेका नागरिकको उद्धारका लागि चारवटा डुङ्गा आवश्यक पर्ने मेसिनरी सामान र उद्धारपछि आवश्यक पर्ने त्रिपाललगायतका सामग्री तयारी अवस्थामा राखिएको छ ।' 

मनसुनजन्य विपद् व्यवस्थापन र पूर्वतयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला सङ्घ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिसकेको उनले जानकारी दिए ।  

पछिल्लो समय काठमाडौंमा बढ्दो सहरीकरण, ढलान प्रक्रिया, सरोकारवाला निकायको छलफल बिनानै सडक खन्ने र पुर्ने कार्यले  नदीजन्य विपद्का घटना हुने गरेको छ ।
 
कामपाले सरोकारवालालाई विपद्का बेला अपनाउनुपर्ने सावधानी र उद्धारका विभिन्न विधिको प्रयोगात्मक अभ्यास  गरीसकेको छ । 

सहरी विपद् जोखिम न्यूनीकरणका लागि समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय  आवश्यक पर्ने बताइएको छ । 

Share News