काठमाडौंको गल्ती दोहोर्याउन हुन्न : चिरीबाबु महर्जन
ललितपुर । सुदुर पश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको बित्थडचिर गाउँपालिकाका जनप्रतिनिधि ललितपुर महानगरको असल अभ्यास बारे छलफल गर्न आएका छन् । गाउँपालिका उपाध्यक्षको नेतृत्वमा धनलक्ष्मी सिंह मल्लको नेतृत्वमा १८ जनाको टोली महानगर आएको हो । उनीहरुलाई महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले स्वागत गरेका थिए। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक, ऐलानी र पर्ति जग्गाको संरक्षण गर्न विशेष जोड दिएका छन् । उनले 'काठमाडौं उपत्यकाले गरेको गल्ती नदोहोर्यानुस्' भन्दै सुदूरपश्चिमबाट अध्ययन भ्रमणमा आएका जनप्रतिनिधिहरूलाई सचेत गराएका हुन् । महर्जनले ललितपुर महानगरले अघि सारेका असल अभ्यासहरूलाई मूल्यांकन गर्दै महानगरमा सिक्नका लागि आएको टोलीलाई धन्यवाद दिएका थिए । कार्यक्रममा ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले न्यायिक समितिमा आएका मुद्दाहरू तीन महिनाभित्रै छिनोफानो गरिने बताउँदै, वडा तहमा कानुनी सचेतना र मेलमिलापकर्ताको व्यवस्था गरिएको जानकारी दिइन् । त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यलाई ललितपुरको सफलता पछाडिको मुख्य कारण बताउँदै, महानगरमा भएका अनुकरणीय अभ्यासहरू साझा गर्न पाउँदा खुशी व्यक्त गरिन् । भ्रमणमा आएका बित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनालक्ष्मी सिंह मल्ल र प्रवक्ता हरिशचन्द्र जोशीले ललितपुर महानगरसँगका अनुभवहरूबाट आफ्ना नीतिगत र कार्यान्वयनका पक्ष सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मिथिला नगरपालिकामा तालाबन्दीले कामकाज ठप्प
जनकपुरधाम । विगत पाँच दिनदेखि धनुषाको मिथिला नगरपालिकामा गरिएको तालाबन्दीले दैनिक कामकाज ठप्प भएको छ । नगरपालिकाको विकास निर्माणसम्बन्धी योजना वितरणमा भेदभाव भएको कारण देखाउँदै उपप्रमुख सुनिता सिंह बुढाथोकीको नेतृत्वमा वडाध्यक्षसहितको टोलीले तालाबन्दी गरेको थियो । आर्थिक वर्षका योजना कार्यान्वनमा केन्द्रीत हुनुपर्ने बेला तालाबन्दी हुँदा समस्या भएको छ । नगरप्रमुख महेन्द्र महतो र उपप्रमुख बुढाथोकीबीचको विवादले विगत पाँच दिनदेखि कामकाज ठप्प हुँदा नागरिकले नै घाटा बेहोर्नु परिरहेको थानीय रामसरोज साहको गुनासो छ । उनले तत्काल विवाद समाधान गरी विकास निर्माणका काम हुने वातावरण बनाउन सरोकार भएकाहरूलाई आग्रह गरेका छन् । आफ्नो अधिकारमाथि नगरप्रमुखबाट हस्तक्षेप भएको भन्दै उपप्रमुख बुढाथोकीले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन् । रासस
मखन आगलागी प्रकरण : छानबिन समिति गठन गर्न उपप्रमुख डंगोलको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिका-२८ मखनमा वैशाख ३१ गते बिहान भएको आगलागी समयमा नियन्त्रणमा लिन नसकिएकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै उपप्रमुख सुनिता डंगोलले छानबिन समिति गठन गर्न निर्देशन दिएकी छन् । तीन वटा घरमा क्षति पुर्याएको उक्त आगलागीबारे महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निर्देशन दिँदै उपप्रमुख डंगोलले भनिन्, 'दमकल स्टेशन नजिकैको स्थानमा आगो नियन्त्रणमा लिन किन ढिला भयोरु दमकल समयमै किन पुग्न सकेन ? के पूर्वाधार समस्या हो कि मानवीय लापरवाही ?' उक्त दिन बिहान ६:५० बजे दयाराम श्रेष्ठको घरमा सुरु भएको आगलागी फैलिँदै रुकेश श्रेष्ठ, कैलाश श्रेष्ठ र विकास श्रेष्ठका घरमा समेत क्षति पुगेको थियो । आगलागीबाट धुवाँमा निस्सासिएर एक वृद्धाको ज्यानसमेत गएको थियो । उपप्रमुख डंगोलले वडाध्यक्ष विनोद कुमार राजभण्डारीसँगै घटनास्थलको निरीक्षण गरेपछि छानबिन आवश्यक रहेको निष्कर्षमा पुग्दै भनिन्, 'भौतिक मात्र होइन, मानवीय क्षति भएको छ । यस्ता घटनामा कसको कमजोरी भयोरु त्यसको जिम्मेवारी कसले लिन्छ ? सबै स्पष्ट हुनुपर्छ ।' उनले आगलागी नियन्त्रणमा ढिलाइ हुनुका पछाडि दमकलमा पानी नभएको, बाटोमा निर्माण सामग्रीले अवरोध गरेको, पूर्वतयारीको अभाव रहेको भन्ने गुनासो आएको जानकारी दिइन् । 'त्यस दिनको गल्ती दोहोरिन नदिन हामीले छानबिन समिति बनाउँदै छौँ,' उपप्रमुख डंगोलले भनिन्, 'आगामी दिनमा यस्ता घटनामा तयारी, प्रतिक्रिया र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे स्पष्ट सिफारिस पनि आवश्यक छ ।' समितिले दमकल, एम्बुलेन्स सेवा, स्थानीयवासी, जनप्रतिनिधि लगायतसँग छलफल गर्दै पूर्वतयारी, तत्कालीन प्रतिक्रिया, उद्धार र राहत व्यवस्थापनका विषयमा प्रतिवेदन पेश गर्नेछ ।