'नक्कली महानगर’ बसको नाममा ठगी : यात्रु अलमल, कम्पनी संकटमा

काठमाडौं । ‘महानगर यातायातको नाम, रंग, डिजाइन र आकार नक्कल गरेर सोही रुटमा बस सञ्चालन गरिएको भन्दै कम्पनीले कडा आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले यात्रुहरू झुक्याउने, दुर्घटना गराउने र प्रतिष्ठामा आँच पुर्‍याउने घटनामा नक्कली बस संलग्न रहेको गुनासो सार्वजनिक गरेको हो । महानगर यातायातले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि नक्कली बसका कारण यात्रुहरूले झोला छुटाउने, गन्तव्य नपुग्ने, अप्ठ्यारो पर्ने जस्ता समस्यामा परेका छन् । साथै नक्कली बसले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितले सक्कली 'महानगर यातायात'को कार्यालयमा उजुरी दिने गरेका छन्, जसले संस्थालाई अनावश्यक झन्झटमा पार्ने गरेको जनाइएको छ । 'एउटै नाम र रंगका बसले सोही रुटमा चल्दा यात्रु मात्र होइन, हामी सञ्चालकहरू पनि हैरान भएका छौं,' कम्पनीका एक प्रतिनिधिले भने । यस्ता गम्भीर समस्याहरूका बाबजुद सम्बन्धित निकायमा पटक-पटक ध्यानाकर्षण गराउँदा समेत कुनै कारबाही नहुनु प्रति कम्पनीले गम्भीर चिन्ता व्यक्त गरेको छ । नक्कली बसले गराएका दुर्घटनाहरूमा वास्तविक तथ्य पत्ता लागे पनि गाडी नचिनिँदा पीडितहरू न्यायबाट वञ्चित हुने गरेका छन् । यसले न त कम्पनीको प्रतिष्ठामाथि न त यात्रुको सुरक्षामाथि भरोसा बाँकी राखेको छ । महानगर यातायातले प्रहरी प्रशासन, यातायात कार्यालय र विभागमा पटक-पटक उजुरी दिए पनि समस्या समाधानको पहल नहुनु दुःखद भएको जनाएको छ । कम्पनीले सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न पुनः आग्रह गर्दै, यदि सुधार नभए कानुनी बाटो रोज्ने चेतावनी समेत दिएको छ ।  

ललितपुर महानगरले १० उद्यमी महिलालाई गर्याे सम्मान

काठमाडाै । ललितपुर महानगरले विभिन्न क्षेत्रमा उद्यम सिर्जना गरेका उद्यमी महिलालाई सम्मान गरेको छ । सोमबार चौथो महिला उद्यमी सम्मेलनको अवसरमा महानगर उत्कृष्ट १० उद्यमी महिलालाई सम्मान गरेको हो । सम्मानित हुनेमा वडा नं‍.१३ स्थित आमाज क्रियसनकी सुरुची खड्का, वडा नंं.३स्थित कटन केयर होमकी हसना महर्जन, वडा न‍‍ १९स्थित नेटमेड फार्मेसीकी सुप्रिया शाक्य, वडा नंं.२३ स्थित जरा सोसल भेन्चर प्रालिका हेमा श्रेष्ठ छन् । त्यसैगरी वडा नं. २२ स्थित रानीदेवी कृषि तथा पशुपालन फार्म प्रा.लिका नानी माया नेपाली, वडा नं.७ स्थित नेवाः नशाः घासाःकी दिलमाया महर्जन, वडा नंं।११ स्थित निभा ट्रेड इन्टरप्राइजेजकी निलिमा बज्राचार्य, हरिसिद्धी वडा नं.२८ स्थित वःसकी दिपा कर्माचार्य , वडा नंं १९ स्थित बेष्ट टे«डसकी सुनिता बज्रचार्य, वडा नं।२ स्थित न्हू डिजाइन्सकी रश्मि तण्डुकार सम्मानित भएका छन् । सम्मानित हुनेलाई दोसल्लासहित सम्मान पत्र गरिएको थियो ।

वीरगञ्ज महानगरमा रातका समयमा नाली सफा

वीरगञ्ज । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा दिनमा मात्र नभएर रातको समयमा पनि नाला सरसफाइ अभियान थालिएको छ । दिउँसोका समयमा ट्राफिक जाम अत्यधिक हुने क्षेत्रमा लक्षित गरेर रातको समयमा पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । वीरगञ्ज महानगरले सोमबार रातको समयमा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणसँगै मुख्य नालीलाई एक्जाभेटरको सहयोगमा पनि सरसफाइ अभियान अघि सर्यो । वीरगञ्ज महानगर–१३ मुर्लीस्थित सडकसँगै जोडिएको नालीमा पनि रातकै समयमा श्रमिक खटाएर नाली सरसफाइ अभियानलाई अघि बढाइएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले मनसुनको समयमा वीरगञ्जमा डुबानको समस्या देखिनसक्ने भन्दै घण्टाघरको हुलाक कार्यालयबाट भन्सार कार्यालयसम्म नाला सरसफाइको अभियानलाई तीव्रता दिएको बताए । 'महानगरले सरसफाइ अभियानलाई कुनै पनि हालतमा सम्झौता गरेको छैन', उनले भने, 'वैभव वीरगञ्ज अभियानलाई साकार पार्न पनि नाला सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेका छौँ ।' ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले पनि वीरगञ्ज महानगरले पछिल्लो समय रातको समयमा पनि सरसफाइ अभियानलाई तीव्रता दिँदै आइरहेको बताए । 'एक दशकअघिको वीरगञ्ज र अहिलेको वीरगञ्जमा धेरै परिवर्तन देखिसकेको छ', उनले भने, 'हामीले भन्नुभन्दा पनि यहाँ घुम्न आउने सर्वसाधारणले वीरगञ्ज सरसफाइ भएको अनुभूति गर्दै आइरहनुभएको छ ।' अध्यक्ष खेतानले महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि बढाउँदै आइरहेको बताए । 'विगतमा मनसुनको समयमा यहाँका विभिन्न ठाउँमा डुबानको समस्या देखिन्थ्यो', उनले भने, 'सोही समस्या समाधानका लागि महानगरले दिनरात नभनी नाली सरसफाइ अभियान अघि सार्दै आइरहेको छ । यो कार्य निकै सराहनीय छ ।' महानगरले रातको समयमा पनि एक्जाभेटर, ट्रयाक्टरको सहायताले नाली सरसफाइ गर्दै आइरहेको छ । अर्कोतर्फ टोलतर्फको नाली भने मानव जनशक्ति प्रयोग गर्दै साना प्रकृतिको नाला सरसफाइ गर्दै आइरहेको छ । वीरगञ्ज महानगरको फोहरमैलाको व्यवस्थापनको जिम्मेवारी पाएको एनके इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वर्षायाममा वीरगञ्जका नाली भरिएर सडकमै पानी छताछुल्ल हुने समस्यालाई न्यूनीकरण गर्न नाली सरसफाइ अभियान अघि सारिएको बताए । महानगरभित्रको सम्पूर्ण फोहरमैला व्यवस्थापनको जिम्मेवारी सार्वजनिक–निजी साझेदारीअन्तर्गत एनके इन्टरप्राइजेजले पाएको छ । वीरगञ्ज महानगर–१३ का स्थानीय नैमाजुदिन अन्सारी सडक बनेको तीन वर्षमा मात्र नाली सरसफाइ गर्न थालिएको बताए । 'नालीमा विभिन्न खालका फोहर जम्मा भएर भरिएको थियो', उनले भने, 'महानगरले रातको समय पारेर नालीको ढकन खोलेर सरसफाइ अभियान सुरु गरेर राम्रोे कामको सुरुआत गरेको छ । यस्ता अभियानलाई निरन्तर अघि बढाउन जरुरी छ ।' वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरले पछिल्लो समय नाली सरसफाइ कार्यक्रमलाई विशेष महत्व दिँदै आइरहेको बताए । 'हामीले वर्षौँपछि नाली सफाइ अभियानकै रूपमा अघि बढाउँदै आइरहेका छौँ, यसले वर्षायाममा हुनसक्ने डुबानलाई न्यूनीकरण गर्न सघाउ पुग्ने छ', उनले भने । रासस