हुम्लाका ६ गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागू
अदानचुली । यहाँका छ गाउँपालिकाले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको छ । स्थानीय समुदायमा रहेका भाषा, लिपि, संस्कृति, सभ्यता र सम्पदा जगेर्ना गर्न स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वय मार्गदर्शन २०७६ (मातृभाषा सहित) अनुसार ती स्थानीय तहले पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गरेका हुन् । स्थानीय पाठ्यक्रममार्फत बालबालिकालाई आफ्नो परिवेशबाट सिक्न, नजिकको वातावरण, भूगोलबारे बुझ्न, सम्बन्धित ज्ञानको उत्खनन गर्न, समुदायमा रहेका मूल्य, मान्यता र ज्ञान परीक्षण गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसै शैक्षिक सत्रबाट पाठ्यक्रम लागू गरिएको सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए । स्थानीय पाठ्यक्रम सम्बद्ध सबैका लागि उपयागी हुने विश्वास लिइएको अदानचुली गाउँपालिकाको पाठ्यक्रम निर्माणका विज्ञ सदस्य डा दीपेन्द्र रोकायाको भनाइ छ । सातवटा गाउँपालिका भएको हुम्लाका पाँच स्थानीय तहहरु नाम्खा, सिमकोट, खार्पुनाथ, ताँजाकोट र सर्केगाडले यसै शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् भने अदानचुली गाउँपालिकाले भर्खरै निर्माण गरेको भए पनि यसै वर्षबाट लागू गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप भण्डारीले बताए । चङ्खेली गाउँपालिकाले आगामी वर्षबाट लागू गर्ने जनाएको छ ।
विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन
वालिङ । वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ–२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिकसत्रको सुरुआतदेखि नै समायोजन गरिएको छ । समायोजन भएका सबै विद्यालय कक्षा १–३ सञ्चालनमा रहेका थिए । समायोजन भएका पाँचवटा विद्यालयलाई पायक पर्ने नजिकैको अर्को विद्यालयमा मर्ज गरिएको उनले बताए । 'अनुगमनका क्रममा समस्या देखिएका विद्यालयलाई नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरेका हौँ', उनले भने, 'ससाना विद्यार्थीलाई लामो दूरी पार गरेर विद्यालय जान कठिन नहुने गरी समायोजन गरिएको हो ।' विद्यालयमा अध्यापनरत शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ । पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँगाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले गर्दा विशेषगरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हो । विद्यालयको हाजिरी पुस्तिकामा विद्यार्थी सङ्ख्या धेरै भए पनि नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या कम हुने गरेको जनाइएको छ ।
आउँदो बजेट र नीतिलाई सहभागितामूलक बनाउन ललितपुर महानगरको छलफल, कसले के सुझाव दिए ?
ललितपुर । ललितपुर महानगरले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउनु अघि सरोकारवाला, विषय विज्ञ र ललितपुर जिल्लाका सांसदहरूसँग छलफल गरेको छ । महानगरले आवश्यकता पहिचान र आउँदो आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई सहभागितामूलक बनाउने लागि फरक-फरक क्षेत्रसँग छलफल आयोजना गरेको हो । बजेट ल्याउनु अघि स्थानीय तहले यस्तो अभ्यास बिरलै मात्र गर्छन् । यसलाई महानगरको असल अभ्यासको रुपमा लिन सकिन्छ । यस अघि महानगरले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको थियो । यसैगरी वडापिच्छे वडा भेला गरेर नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन समेत महानगरले गरिरहेको छ । यसैगरी महानगरको विषयगत समितिले समेत नीति निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधिहरू विषयविज्ञ नभएकाले सुझाव लिन सरोकारवाला र विज्ञसँग छलफल आयोजना गरेको बताए । उनले भने, ‘सबैका कुरा सुन्न फरक फरक क्षेत्रका विज्ञसँग छलफल राखेका हौं ।’ अघिल्लो आर्थिक वर्षका ३ सय २४ मध्ये ८९ प्रतिशत नीति सम्बोधन गर्न महानगर सफल भएको महानगरको भनाई छ । महानगर प्रमुख महर्जनले भने, ‘हाम्रो काबुभन्दा बाहिरको सन्दर्भका कारण मात्रै बाँकी प्रतिशत नीति सम्बोधन हुन नसकेको हो ।’ पारदर्शिता, मितव्ययी, सुशासन र विकासको निर्माणलाई यो छलफलले सहयोग गर्ने उनको भनाइ छ । सुझावको रूपमा आएका विषयलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे । महानगर प्रमुख महर्जनले सूचना र प्रविधि इमर्जिङ विषय भएको बताउँदै सिलिकन भ्याली बनाउन यो विषयलाई नीतिमा समावेश गर्ने बताए । उनले भने,‘हामी यसलाई कार्यक्रममा पनि राख्छाैं ।’ महानगरका उप्रमुख तथा बजेट तर्जुमा समितिका संयोजक मञ्जली शाक्य बज्राचार्यले नीतिमा समावेश गर्ने विषयबारे छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘नीति राम्रो भयो भने बजेट र कार्यक्रम राम्रो आउँछ, त्यसैले चरणबद्ध रूपमा कार्यक्रम राखेका हौं ।’ प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले सहभागितामूलक नीति निर्माण गर्न विविधतापूर्ण समुदाय र क्षेत्रलाई समेटेर छलफल कार्यक्रम आयोजना गरेको धारणा व्यक्त गरिन् । सेवा प्रवाहलाई डिजिटलाइजेसन गरेको बताउँदै त्यो प्रभावकारी भएको उनले बताइन् । कसले कस्तो सुझाव दिए ? महानगरबासीको दिनचर्या सहज बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने ललितपुर महानगरले आव २०८२/२०८३ को नीति, कार्यक्रम र बजेट ल्याउनुअघि सुझाव संकलनका लागि सरोकारवालासँग छलफल गरेकोमा ललितपुर जिल्लाका प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरूले प्रशंसा गर्दै महानगरबासीको दिनचर्या सहज बनाउने विषयलाई प्राथमिकमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छन् । ललितपुर क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले नख्खु करिडोर बनाउन केन्द्रको बजेट मात्रै पर्याप्त नभएको बताउँदै ललितपुर महानगरले पनि लगानी गर्न सुझाव दिए । चक्रपथमा बनाउनुपर्ने फ्लाई ओभरको सन्दर्भमा महानगरपालिका, प्रदेश, संघ र स्थानीय तह समन्वय, सहकार्य र छलफल गर्नुपर्ने बताए । ललितपुर क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य पदमबहादुर महर्जनले नीति निर्माणका लागि सबै क्षेत्रबाट सुझाव संकलनका लागि चरणबद्ध रूपमा छलफल आयोजना गरेको बताए । वातावरण संरक्षणलाई अझै प्राथमिकतामा राख्नुपर्ने बताए । महानगरले प्रवाह गर्ने सेवा जनताले महसुस गर्ने गरी प्रदान गर्न सके सकारात्मक सन्देश संचार हुने बताए । शिक्षा,स्वास्थ्य, सार्वजनिक जग्गा संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए । राप्रपाका सांसद रोशन कार्कीले महानगरबाट भएको कामको प्रशंसा गरिन् । विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने धारणा राख्दै कर प्रणालीलाई अझै व्यवस्थित बनाउनुपर्ने धारणा राखिन् । प्लटिङका कारण खेतीयोग्य जमिन मासिएको बताउँदै प्लटिङलाई रोक्नुपर्ने भनाइ उनको थियो । केही वडाबाट फोहोर उठे पनि सबै वडामा फोहोर संकलनको व्यवस्था मिलाउनुपर्ने बताइन् । बागमती प्रदेशका सांसद रघुनाथ महर्जन असोज दोस्रो साताको बाढीबाट प्रभावित र पुगेको क्षतिलाई सम्बोधन गर्नुपर्ने बताए । विकास निर्माणसँगसँगै युवालाई रोजगारी दिने विषयलाई नीतिगत रुपमा नै निर्णय गर्न सुझाव दिए । दीर्घकालीलन नीति र कार्यक्रम ल्याउनुपर्ने ललितपुर महानगरको विकासलाई थप उचाइमा पुर्याउन दीर्घकालीन नीति कार्यक्रम ल्याउन महानगरका सल्लाहकारले सुझाव दिएका छन् । महानगरको शहरी विकास सल्लाहकार सुरेन्द्र गोविन्द जोशीले हाल जनताको आवश्यकतालाई महानगरले सम्बोधन गरेको बताउँदै दीर्घकालीन नीति निर्माणलाई जोड दिनुपर्ने बताए । महानगरलाई व्यवस्थित बनाउन ल्याउन ल्याण्ड पुलिङसँग सम्बन्धित नीति ल्याउनुपर्ने धारणा राखे । शिक्षा सल्लाहकार लोकबहादुर खड्काले शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल प्राप्त गर्न लामो समय लाग्ने बताउँदै दीर्घकालीन नीति ल्याउन सल्लाह दिए । पाँच वर्षे सहर शिक्षा योजना ल्याउनु पर्नेमा जोड दिँदै यो योजनाले सामुदायिक र संस्थागत विद्यालयबीचको खाडल पुर्ने बताए । अभिभावक शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै अनुगमन र अभिलेखिकरणमा जोड दिनुपर्ने धारणा राखे । स्वास्थ्य सल्लाहकार तारामान अमात्यले सडकमा बेच्न राखिएका खानेकुरा (स्ट्रिट फुड)को गुणस्तर परीक्षण गर्नुपर्ने बताए । परम्परागत पानी व्यवस्थापन विज्ञ पद्मसुन्दर जोशीले पानीको स्रोत संरक्षण महत्वपूर्ण भएको बताउँदै लोप हुने अवस्थामा पुगेका ढुंगेधाराको संरक्षणमा महानगरले काम गर्नुपर्ने राय दिए । सम्पदा संरक्षणको महत्व युवा पुस्तालाई बताउनुपर्ने धारणा राख्दै शिक्षा, सम्पदाको संरक्षण र सम्पदाको महत्व बुझाउने गरी कार्यक्रम ल्याउन उनको अनुरोध छ ।