असनको ‘प्राचीन शाख’ फर्काउने तयारी, शनिबार सवारी प्रवेशमा रोक
काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारीसाधन प्रवेशलाई निषेध गरिने भएको छ । सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन यस्तो निर्णय भएको हो । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्लेसहित सरोकारवाला कार्यालयका अधिकारी, स्थानीय संघसंस्था तथा क्लब र समुदायका प्रतिनिधिको उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि स्थानीय संघसंस्था, क्लब तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । तयारीमा कमजोरी हुन नदिन कार्यक्रमलाई एक हप्ता पछाडि सारेर बैशाख ५ गतेबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो । यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो,’ बैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरुको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ । थालिएको कामलाई दिगो बनाऔं ।’ आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो । ‘स्थानीय, संघसंस्था, क्लव तथा समुदायको साथमा वडाले कार्यक्रम अगाडि बढाएको हो,’ वडाध्यक्ष योगेशकुमार खड्गी भन्छन्, ‘कार्यक्रमले असन बजारको मौलिकतासँगै वायु प्रदुषण नियन्त्रण र सहरी वातावरण सुधारमा योगदान गर्नेछ ।’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रजित केसी, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लोकेन्द्र सिंह गुरुङ, महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले यातायात आवागमन र पैदल मार्ग व्यवस्थापन तथा सुरक्षा प्रबन्धलाई मजवुत बनाइने बताए । ‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार सवारी साधन प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ । यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवद्र्धन गरिनेछ । मौलिक सांस्कृतिक कार्यक्रम तथा सामाजिक क्रियाकलाप सञ्चालन गरिनेछ । यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।
काठमाडौं महानगरले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्ने
काठमाडौं । काठमाडौं महानगरले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि कामपाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो । विभागका प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण (आरएचडी/सिएचडी स्क्रीनिङ) गराउने भएको छ । ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने प्रमुख केसीले जानकारी दिए । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमन) सञ्चालन गरिनेछ । कामपाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ । ‘बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिन्छ । समय बितेपछि समस्या पत्ता लाग्यो भने महङ्गो उपचारले पारिवारिक अवस्थालाई खराब बनाउँछ । यसकारण हामीले बालबालिकाको मुटु बाथको परीक्षण कार्यक्रम गरेका हौं,’ स्वास्थ्य विभागका प्रमुख केसी भन्छन्, ‘यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्नेछौं ।’ कामपाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुनेछ । भविष्यका कर्णधारहरूको जीवन बचाउन कामपाले पुण्यको काम गरेको छ । प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठको प्रतिक्रिया छ ।
हुप्सेकोटमा बालिकाहरूलाई पाँच हजारसहितको बैंक खाता
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ती बालबालिकाहरूको बैंक खातामा पाँच हजार रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकाभित्र स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद रु पाँच हजार जम्मा गरिदिने गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । 'चालु आवको फागुन मसान्तसम्म जन्मिएका ३६ जना छोरीहरुको बैंक खातामा रु पाँच हजारका दरले एक लाख ८० हजार रकम गाउँपालिकाले निकासा गरेको छ', उनले भने, 'छोरीको बैंखक खातामा अभिभावकलाई समेत कम्तीमा पाँच हजार जम्मा गर्न आग्रह गर्ने गरेका छौँ ।' ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम निकै प्रभावकारी बनेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए । छोरीकै नाममा हुने बैंक खाताको संरक्षक अभिभावक हुनेछन् । छोरीको नाममा बैंक खातामा राखिएको रकम उच्च शिक्षा अध्ययनका बेला उपयोग हुने अपेक्षासहित बचत गर्ने बानीको विकास गर्न यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पाण्डेले बताए । 'यसरी बैंकमा जम्मा हुने रकमले छोरीको सुनौलो भविष्यका लागि बचत गर्ने बानीको विकास हुनुका साथै अध्ययन तथा अन्य कार्यका लागि छोरीलाई सक्षम बनाउन प्रोत्साहन हुने अपेक्षा रहेको छ', उनले भने, 'छोरी जन्मँदा खुसी नहुने समाजमा छोरीप्रति सम्मान र आत्म निर्भरताको विकास गर्नुका साथै भ्रूण हत्या रोक्नका लागि पनि यो अभियान सुरु गरिएको हो ।' हुप्सेकोट गाउँपालिकाले आव २०७७/७८ देखि ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सुरु गरेको हो । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रम सञ्चालन गरिएपछि उमेर पुगेर बच्चा जन्माउने, नियमित स्वास्थ्यचौकी आएर गर्व परीक्षण गर्ने, अस्पतालमा नै सुत्केरी हुने, बच्चाको समयमै जन्म दर्ता गरिदिनेलगायतका सकारात्मक बानीको विकाश भएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले बताए । रासस