तनहुँमा मोनोरेलको सञ्चालन गर्ने, एक साताभित्र लागतसहितको प्रतिवेदन आउने
काठमाडौं । तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केस्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छिम्केस्वरी पर्यटन विकास समितिको नेतृत्वमा आबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केस्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु गरिएको हो । काठमाडौंस्थित केडी मेटल वर्कसपका इञ्जिनियरको सहभागितामा आजदेखि अध्ययन सुरु गरिएको समितिका अध्यक्ष कृष्णमान तामाङले जानकारी दिए । समुद्री सतहबाट २ हजार १३४ मिटर उचाइमा अवस्थित छिम्केस्वरीमा मोनोरेल सञ्चालन गर्न सकिए प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बनाउन सकिने उनको भनाइ छ । छिम्केस्वरी माई मन्दिरको दर्शनका लागि आउने अशक्त, अपाङ्गता, वृद्धवृद्धालाई लक्षित गरी ठूल्ढुङ्गाबाट मन्दिरसम्म छ सय मिटर दूरीको मोनोरेल सञ्चालन गर्ने लक्ष्य लिइएको तामाङले बताए । उनले भने, ‘पहिलो चरणमा नापजाँच सुरु गरिएको छ । लागतसहितको प्रतिवेदन एक हप्ताभित्र आइपुग्छ । त्यसपश्चात् थप प्रक्रिया अगाडि बढाउँछौँ ।’ छिम्केस्वरीमा हाल वार्षिक १ लाख पर्यटक आउने गरेको तथ्याङ्क छ । छिम्केस्वरीमा पर्यटकीय पूर्वाधार निर्माण गरेर धेरै पर्यटक भित्र्याउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनले भने, ‘हामी छिम्केस्वरीको एकीकृत पर्यटकीय विकासमा जुटेका छौँ । त्यसका लागि सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडि बढ्छौँ ।’ गाउँपालिकाले छिम्केस्वरीमा पूर्वाधार निर्माण गरेर समग्र गाउँपालिकाको विकासको योजना अगाडि बढाएको चुमानको भनाइ छ । छिम्केस्वरीमा सडक असुविधा, खानेपानी अभाव, विद्युत् समस्या, मोबाइल नेटवर्क र टावर व्यवस्थापनलगायत समस्या रहेकाले त्यसको क्रमशः निराकरण हुँदै जाने उनले बताए । सडक सञ्जाल स्तरोन्नतिका क्रममा रहेको भन्दै चुमानले खानेपानीको बजेट स्रोत भएर विस्तृत परियोजना प्रतिवेदन गरेर ठेक्का लगाउन बाँकी रहेको जानकारी दिए । छिम्केस्वरीमा पानीको अभाव हुँदा विकास निर्माणमा बाधा पुग्दै आएको छ । खानेपानी सुविधाका लागि खानेपानी मन्त्रालयबाट बजेट विनियोजन भई विस्तृत परियोजना प्रतिवेदनको चरणमा रहेको चुमानको भनाइ छ । उनले भने, ‘वडा नं ४, ५ र ६ लाई समेटेर एकीकृत छिम्केस्वरी खानेपानी आयोजना अगाडि बढाउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) भइरहेको छ । डिपिआर सकिएपछि मन्त्रालयबाट ठेक्का आह्वान हुनेछ ।’ उनका अनुसार खानेपानीका लागि करिब १० करोड रुपैयाँ लाग्ने अनुमान छ । विशेषगरी यहाँ फागु पूर्णिमा, वैशाख १ गतेको नयाँ वर्षलगायत बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केस्वरी पर्यटन विकास समितिका अध्यक्ष तामाङले जानकारी दिए । उनका अनुसार आबुखैरेनी गाउँपालिकाले छिम्केस्वरीमा रहेको छिम्केस्वरी मन्दिर जीर्णोद्धार गरिसकेको छ । यसअघि रहेको पुरानो मन्दिरलाई जीर्णोद्धार गरी मन्दिरलाई आकर्षक बनाइएको छ । मन्दिरमा पित्तलको छानो राखिएको छ । गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केस्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केस्वरीमाई यहाँ अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केस्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ । छिम्केस्वरी मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण भइसकेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४१ लाख ६३ हजार ७०६ रुपैयाँको लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६/७७ मा ३५ लाख ९९ हजार १४१ रुपैयाँको लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।
मंगलबारदेखि सबै विद्यालय खोल्न ललितपुर महानगरको पत्रचार
काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबारदेखि सबै विद्यालय खोल्न सामुदायिक विद्यालयहरूलाई पत्राचार गरेको छ । महानगरपालिकाले सोमबार परिपत्र गरी आफ्नो क्षेत्रभित्रका सबै विद्यालय खोली पठनपाठनको व्यवस्था गर्न पत्राचार गरेको हो । २०८२ को शैक्षिक कार्यपात्रोअनुसार विद्यालय भर्ना, शैक्षिक क्रियाकलाप हालसम्म पनि सञ्चालन नभएको उल्लेख गर्दै महानगरपालिकाले भोलिदेखि नै नियमित पठनपाठन गर्न विद्यालयहरूलाई ध्यानाकर्षण गरेको छ । ‘प्रस्तुत विषयमा यस महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ,’ पत्रमा लेखिएको छ, ‘उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू, नगराउनू भनी भएको आदेशबमोजिम यस महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरू वैशाखबाट नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ।’ २७ दिनदेखि विभिन्न माग राख्दै शिक्षकहरू सडक आन्दोलनमा छन् । माग पूरा नभएसम्म विद्यालय नफर्कने अडानको कारण विद्यालय खुल्न सकेको छैन । अहिले विभिन्न स्थानीय तहले विद्यालय खुलाउन पत्राचार गरिरहेका छन् ।
काठमाडौं महानगरले वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्गीकरण गरेर फोहर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहर घटेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउने भन्दै अहिले कामपाले ३२ वडामध्ये १० वटा वडामा वर्गीकरण गरिएको फोहर अन्तिम व्यवस्थापनको कार्य थालेको छ । फोहर वर्गीकरण अघि कामपाबाट दैनिक २० गाडी फोहर बञ्चरेडाँडा जाने गरेको थियो । अहिले फोहरको मात्रा घटेसँगै दैनिक १५ गाडी मात्रै लाने गरेको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिए । हाल वडा नं १२, १८, १९, २०, २१, २२, २३ २४, २५, र २७ मा स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै व्यवस्थापनको काम भइरहेको छ । विभागको प्रमुख राईका अनुसार अहिले कामपाले छवटा क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम थालेको छ । उनका अनुसार प्रत्येक क्षेत्रमा एक-एकवटा ‘ट्रान्फरस्टेसन’ निर्माण गरी उक्त स्थानमा केही समयका लागि फोहर राखिने र त्यसपछि अन्तिम व्यवस्थापनका लागि ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ । त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण गरी स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्रै व्यवस्थापन गर्ने कार्य थालिसकेको छ । काठमाडौं उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्यान्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नाका साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहर क्षेत्र निर्धारण गरेर व्यवस्थापन गर्न लागिएको राईको भनाइ छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल काठमाडौं उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार ६०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । यसरी गर्न सकिन्छ फोहर व्यवस्थापन भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहर जम्मा भएको हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पात कुहिने फोहर हुन् । यस्तै, प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम नकुहिने फोहर हुन् ।