५ करोडमा पुनःनिर्माण हुँदै नव देग मन्दिर, पुरानै शैलीमा बनाइने

काठमाडौं । काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग मन्दिर, जसलाई भवानी शंकर मन्दिरको नामले पनि चिनिन्छ, पुरानै कलात्मक शैलीमा पुनःनिर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । साढे ५ करोड रुपैयाँको लागतमा पुनःनिर्माण भइरहेको यो मन्दिर सन् १६७५ मा प्रताप मल्लका महामन्त्री देवीदास चिकुथिले निर्माण गराएका थिए । तत्कालीन मल्लकालीन वास्तुकलाको उत्कृष्ट नमुना मानिने यो मन्दिरको पुनःनिर्माण कार्य २०८१ भाद्र २ गतेबाट सुरु गरिएको हो, जसलाई २०८२ फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुनःनिर्माणको क्रममा भेटिएको ऐतिहासिक शिलालेखमा ४९ पङ्क्ति छन्, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति र बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा, आरती लगायतका विधिहरू उल्लेख गरिएका छन् । ब्राह्मण पुजारीमार्फत दैनिक पूजाआजा गरिने यस मन्दिरमा हरेक महिनाको पहिलो दिन, पूर्णिमा र महाशिवरात्रिमा विशेष पूजाको परम्परा छ । हाल बनाइँदै गरेको नयाँ संरचनामा मन्दिरको तल्लो भागमा पाँच तले ईँटको भर्‍याङ र त्यस माथि तीनतले मन्दिर निर्माण गरिँदैछ । यद्यपि सन् १९७५ को अभिलेखमा यो मन्दिर एकतले देखिए पनि अन्य अभिलेख र प्रमाणका आधारमा हाल तीनतले स्वरूपमा पुनर्निर्माण भइरहेको हो । २०३९ सालको एक अभिलेख अनुसार यो स्थानमा पहिले एक भव्य, कलात्मक मन्दिर रहेको पुष्टि हुन्छ । अझै पनि यहाँ पाँचवटा भुइँतला संरचना बाँकी छन्, जसले पुरातात्त्विक महत्व झल्काउँछन् । गर्भगृहमा शिवलिङ्गका साथै विष्णु, गणेश, सूर्य र देवीका मूर्तिहरू रहेका छन्, जसले पाँचायन देवताको प्रतिनिधित्व गर्छन् । यो मन्दिर केवल धार्मिक स्थल मात्र नभई काठमाडौंको सांस्कृतिक इतिहासको जीउँदो स्मृति पनि हो । पुनःनिर्माणपछि नव देग मन्दिर राजधानीको धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

प्रविधि मैत्री बन्दै काठमाडौं महानगरका विद्यालय, २० वटा डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउन थालेको छ । कामपा-२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।  वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बोर्ड हस्तान्तरण गर्नुभएको हो । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० रुपैयाँ मूल्यमा सामान प्राप्त गरेको हो । बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, ‘पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रुपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे भन्नु परो त्यसका लागि कामपा उपलब्ध गराउन तयार छ ।’ उनले विद्यालयका लागि करिब ४० लाख रुपैयाँ लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताए । वडाबाट गरिएको  लगानीले विद्यालयलाई कामपाकै नमूना विद्यालयका रुपमा विकास गर्नका लागि हो । वडाध्यक्ष तिवारीले अपेक्षा राखे ।  शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले धारणा थियो । वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका  कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताए ।  त्यस्तै कामपाले केही दिन अघि मात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरू गरेको थियो । कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो । कामपाको गौरव योजना अन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रम अन्तर्गत सूचना प्रविधि मैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड रुपैयाँ विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए । 

सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

काठमाडौं । नेपालगञ्ज उप-महानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन बनाउने योजना कार्यान्वयन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ को शुक्रबार वडा कार्यालय भवन शिलान्यास गर्दै उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आफ्नै भवन नभएका सबै वडाको व्यवस्थित कार्यालय भवन निर्माण सुरु गरेको बताए । ‘नेपालगञ्ज उपमहानगरपालिकाका केही वडा कार्यालय अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेको छ । वडा कार्यालयले जग्गाको व्यवस्था सुनिश्चित गर्नासाथ भवन निर्माणमा उप-महानगरपालिकाले बजेट व्यवस्थापन गर्नेछ,’ उनले भने ।  नगर प्रमुख विष्टले आनन्द नगर टोलमा नेपालगञ्ज-९ को वडा कार्यालय भवन शिलान्यास गरेका हुन् । उनले निर्धारित समयमै कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्दै आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए ।  नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्दप्रसाद रेग्मीले वडावासीलाई आफ्नै सुविधा सम्पन्न भवनबाट अझ सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ वडा कार्यालयको भवन निर्माण सुरु गरिएको बताए । चालु आर्थिक वर्षमा वडाको २५ लाख रुपैयाँ बजेट र बाँकी नेपालगन्ज उप-महानगरपालिकाले व्यवस्थापन गर्ने गरी निर्माणकार्य सुरु गरिएको जानकारी दिए । भवन निर्माणको लागि ४० लाख रुपैयाँमा टेण्डर आह्वान गरेकोमा रु ३३ लाखमा ठेक्का स्वीकृत भएको उनको भनाइ छ ।  वडासचिव तेज बहादुर सिंहले वडा कार्यालय भवन निर्धारित समयमै निर्माण सम्पन्न गर्ने गरी योजनाका साथ काम सुरु गरिएको बताए । नेपालगञ्ज उपमहानगरपालिका-४, ५, ६, ७, ८,९ र ११ वडा कार्यालय अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।