जेनजी आन्दोलनमा भरिएको थियो ल्यान्डफिल साइट, पोखरामा २ सातापछि उठ्यो फोहोर
काठमाडौं । पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहोर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक छेउ र चोकहरूमा थुप्रिएका फोहोर लामो समयदेखि नउठ्दा पोखरा दुर्गन्धित बनेको थियो । पोखरा-३२ लामेआहालमा रहेको अस्थायी फोहोर व्यवस्थापन केन्द्र भरिएपछि फोहोर उठ्न सकेको थिएन । फोहोर व्यवस्थापनका लागि महानगरले विभिन्न स्थानमा जमिन खोजी गरे पनि सफल भएको थिएन । सडक किनार, चोक, बिजुलीका पोलको वरिपरि मात्र नभई मुख्य सडकमै फोहोर थुप्रो लागेपछि बजारमा दुर्गन्धसमेत फैलिन थालेको छ । महानगर प्रमुख धनराज आचार्यले बिहीबार साँझदेखि क्रमशः फोहोर सङ्कलन गर्ने गाडी सञ्चालनमा आएको बताए । उनले सार्वजनिक बाटो तथा खुला स्थानमा फोहोर विसर्जन नगर्न समेत आग्रह गरे । महानगरले फोहोर उठाउन सुरु गरे पनि कहाँ लगेर व्यवस्थापन गर्ने भन्ने खुलाएको छैनन् । ‘पोखरा महानगरपालिका तत्कालीन, अल्पकालीन, अस्थायी तथा स्थायी रूपमा फोहोर व्यवस्थापनको काममा सक्रिय रूपमा लागिरहेको र तत्कालका लागि केही प्रबन्ध गरेका छौँ । गाडी नआउँदासम्म कृपया धैर्यतापूर्वक पर्खनुहुन अनुरोध गरेका छौँ, धेरै दिनदेखि सङ्कलन भएका फोहोर भएकाले सुरुका एक/दुई दिन केही बढी चाप हुनसक्छ तर सार्वजनिक बाटो तथा खुला स्थानमा फोहोर विसर्जन नगर्नुहोस् भन्ने अपिल नगरवासीसँग गरेका छौँ,’ महानगर प्रमुख आचार्यले भने । प्रमुख आचार्यले शनिबारसम्म हालसम्म जम्मा भएको सम्पूर्ण फोहोरमैला उठाइ सकिने उल्लेख गरे । महानगरले जथाभावी सार्वजनिक स्थानमा फोहोर फालिएको पाइएमा अनुगमन टोलीले स्थलमै कारबाही गर्ने समेत जनाएको छ । पोखरामा जेनजी आन्दोलनका क्रममा भारी मात्रामा फोहोर निक्लेपछि लामेआहालको ल्यान्डफिल साइट नै भरिएकाले फोहोर व्यवस्थापनमा समस्या निम्तिएको हो । महानगरले यसबीचमा धेरै स्थानमा फोहोर व्यवस्थापनको स्थान खोजी गरे पनि स्थानीयको विरोधका कारण सफल हुनसकेको थिएन । महानगरले फोहोर व्यवस्थापनमा सहयोग गर्न बुधबार सरोकारवालाहरूको सर्वदलीय र सर्वपक्षीय बैठक आह्वान गरेको थियो । बैठकमा ७२ घण्टाभित्र पोखरा महानगरको फोहोर उठाउने र दलहरूले सहयोग गर्ने सहमति भएको थियो । महानगरले पोखरा-३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण गरी फोहोरको स्थायी समाधानको प्रक्रिया अघि बढाएको छ । तर स्थानीयवासी विरोधमा उत्रिएका छन् । स्थानीयको विरोधका कारण प्रशोधन केन्द्र निर्माणको अन्य काम अघि बढ्न सकेको छैन । महानगरले समन्वय र सहमति बेगर निजी कम्पनी छनोट गरी फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।
काठमाडौं महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ । कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गरे । कामपाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि सम्झौता गरेको हो । यसका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ । सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट अस्पतालले स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर र ५०० एम।ए।को एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ । काठमाडौं महानगरवासी तथा कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सहज र सरल उपचार सेवा प्रदान गर्न कामपाले सहयोग गरेको हो । कार्यवाहक प्रमुख डङ्गोलले, जलनसहितको उपचार प्रदान गरिने अस्पतालको सेवालाई गुणस्तरीय र सहज बनाउने उद्देश्यले अनुदान उपलब्ध गराएको बताइन् । अस्पताल नाफा कमाएर बाँड्ने नभई सेवा भावबाट सञ्चालन भएको उल्लेख अस्पतालका अध्यक्ष श्रेष्ठले भजे, 'जलनका बिरामीको उपचार कठिन हुन्छ । यसलाई सहज बनाउने कामपाबाट निरन्तर रुपमा हामीले सहयोगको अपेक्षा गरेका छौँ ।'
एनएलजी इन्स्योरेन्सद्वारा सिद्धकुमाख गाउँपालिकामा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम
काठमाडौं । कृषकको घर–दैलोमा पुगेर बीमा सेवा विस्तार गर्ने उद्देश्यसहित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले सिद्धकुमाख गाउँपालिका वडा नं ५ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिद्धकुमाख गाउँपालिका वडा नं ५ को वडा कार्यालयमा आयोजित कार्यक्रममा कृषकलाई बीमाको दायरामा ल्याउने लक्ष्यसहित कृषि तथा पशुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया तथा यसको महत्त्वबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेस कोअर्डिनेटर सुनील श्रेष्ठले कृषकलाई प्राकृतिक जोखिम तथा आर्थिक क्षतिबाट सुरक्षित गर्न कम्पनीले देशभरका गाउँ–गाउँमा पुगेर बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चुडामणि रेउलेले बीमाले कृषकको आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै प्राप्त जानकारीलाई टोल–टोलसम्म पुर्याउन आग्रह गरे । उनले आगामी दिनमा वडास्तरबाट बीमालाई उच्च प्राथमिकतामा राखी कृषकलाई बीमाको दायरामा ल्याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । एनएलजी इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहराले कार्यक्रममा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै छलफलका क्रममा उठेका जिज्ञासाहरूको स्पष्ट जवाफ दिए । उनले पछिल्ला वर्षदेखि सञ्चालन गरिएको गाउँस्तरीय बीमा अभियान सकारात्मक र प्रभावकारी बन्दै गएको बताए । कार्यक्रमकै क्रममा कृषि तथा पशुपन्छी बीमा दाबी अन्तर्गत १२ जना कृषकलाई दाबी भुक्तानी वितरण गरिएको थियो। साथै, माघ १ गतेदेखि दाबी भुक्तानी अनलाइन माध्यमबाट मात्र उपलब्ध गराइने जानकारी पनि दिइएको थियो। नेपाल सरकारले उपलब्ध गराउँदै आएको ८० प्रतिशत बीमा शुल्क अनुदान सुविधाबारे पनि कृषकलाई जानकारी गराइएको थियो। कार्यक्रममा वडा नं ५ का विभिन्न टोलबाट ४० जना कृषकको सहभागिता रहेको थियो। कार्यक्रम सञ्चालन एनएलजी इन्स्योरेन्सका अभिकर्ता हरिबहादुर रेउलेले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य झुपलाल बोहरा, पशु प्राविधिक टिका बस्नेत र कृषि प्राविधिक तिला रेउलेलगायतको आतिथ्यता रहेको थियो ।