काठमाडौं महानगरपालिकाको राजस्व ७ अर्ब नाघ्यो, सम्पत्ति र घरबहाल करमा वृद्धि

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख ७ गतेसम्ममा ७ अर्ब २१ करोड ६२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महानगरले सम्पत्ति कर, घरबहाल कर, व्यवसाय रजिष्ट्रेसन करलगायत शीर्षकमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि गर्न सफल भएको छ । राजस्व विभाग प्रमुख दीपक अधिकारीका अनुसार घरबहाल करबाट मात्रै २५ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । अघिल्लो वर्षको १ अर्ब ८६ करोड रुपैयाँको तुलनामा यो वर्ष सो शीर्षकमा २ अर्ब ११ करोड रुपैयाँभन्दा बढी संकलन गरिएको छ। सम्पत्ति करमा पनि १५ करोड रुपैयाँको वृद्धि भएको छ । अघिल्लो वर्ष ७९ करोड संकलन भएकोमा यस वर्ष ९४ करोड ७५ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, न्यायिक दस्तुर, शिफारिस दस्तुर, प्रशासनिक जरिवाना, पर्यटन शुल्क लगायतका शीर्षकमा समेत सकारात्मक वृद्धि देखिएको छ । हनुमानढोका दरबार संरक्षण कार्यक्रम अन्तर्गतको आम्दानी १५ करोड ७८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १ करोड ७० लाखले बढी हो । यसका साथै केही शीर्षकमा भने राजस्व संकलनमा गिरावट आएको छ । नक्सा पास दस्तुरबाट संकलन हुने आम्दानी अघिल्लो वर्षको तुलनामा करिब २० करोड रुपैयाँले घटेको अधिकारीले जानकारी दिए । महानगरले करदाताहरूलाई पत्राचार गरेर, राजस्व टोली परिचालन गरेर, र आन्तरिक राजस्व कार्यालयसँग समन्वय गरेर राजस्व वृद्धि गर्न सकेको जनाएको छ।

प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरापलिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ ।  प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहर नबाल्न महानगरले आग्रह गरेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास  र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताए ।  महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारीसाधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अनुरोध गरे । उद्योग कलकारखानालाई ‘प्रदूषण नियन्त्रण मापदण्ड,२०८१’ अनुसार गर्न  पनि विभाग प्रमुख राईले आग्रह गरे ।

९ महिनामा काठमाडौं महागनरको आम्दानी ७ अर्ब १६ करोड, अधिकांश शीर्षकमा खुम्चियो

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्म्को अवधिमा काठमाडौं  महानगरपालिकाको आम्दानी ९ प्रतिशतले बढेको छ । महानगरले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा महानगरको आम्दानी ९.२० प्रतिशतले बढेको हो । चालु आवको चैत्रसम्ममा महाननगरले कुल ७ अर्ब १६ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यही अवधिमा महानगरले ६ अर्ब ५६ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  चैत्र महिनामा मात्रै महानगरले ८९ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९३ प्रतिशतले बढी हो । आव २०८१/८२ मा महानगरले १२ अर्ब ९० करोड ६३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । काठमाडौं महानगरले तीन शीर्षकमा आम्दानी गर्दै आइरहेको छ । महानगरले आन्तरिक राजश्व, बाँडफाँडबाट प्राप्त राजश्व र आन्तरिक अनुदान गरी तीन शीर्षकमा आम्दानी गर्दै आएको हो ।  तथ्यांकअनुसार यस अवधिमा महानगरले आन्तरिक राजश्व शीर्षकमा ४ अर्ब २५ करोड ६७ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको तुलनामा न्यून वृद्धि अर्थात ३.९९ प्रतिशतले वृद्धि हो ।  बाँडफाँट प्राप्त राजश्वबाट महानगरले गत आवको तुलनामा ५६.९० प्रतिशतले वृद्धि गरेको छ । गत आवमा यस शीर्षकबाट ९७ करोड ८८ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।  चालु आवमा महानगरलाई प्राप्त हुने आन्तरिक अनुदानसमेत घटेको छ । गत आवको तुलनामा चालु आवको ९ महिनामा आन्तरिक अनुदान ७.८७ प्रतिशतले घटेर १ अर्ब ३७ करोड ६७ लाख रुपैयाँ प्राप्त गरेको छ । गत आवमा महानगरले १ अर्ब ४९ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको थियो । घरबहाल करबाट २ अर्बभन्दा बढी आम्दानी महानगरले सबैभन्दा बढी घरबहाल करबाट आम्दानी गरेको छ ।  चालु आवको ९ महिनामा महानगरले घरबहालबाट २ अर्ब ९ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको तथ्यांक छ । यो आम्दानी गत आवको सोही अवधिको तुलनामा १४.६२ प्रतिशतले बढी हो । गत आवको ९ महिनामा महानगरले १ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । महानगरले चैत्र महिनामा मात्रै यो शीर्षकबाट १६ करोड ४१ लाख रुपैयाँ संकलन गरेको छ । ९ महिनाको अवधिमा महानगरले सम्पति करबाट ९४ करोड ४५ लाख ७६ हजार रुपैयाँ उठाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.७६ प्रतिशतले बढी हो । यस अवधिमा पर्यटन शुल्क गत आवको भन्दा ११.९२ प्रतिशतले बढेको छ । महानगरका अनुसार यस शीर्षकमा १५ करोड १३ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ ।  महानगरको बेरुजु भने २९.६६ प्रतिशतले बढेको छ । गत वर्ष १ करोड ८० लाख १० हजार रुपैयाँमा रहेको बेरुजु यो वर्ष २ करोड ३३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यस्तै, प्रशासनिक दण्ड, जरिवाना र जफत १९ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार शिक्षा क्षेत्रको आम्दानी १८.३६ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा महानगरले यस शीर्षकबाट ५४ लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक, घरजग्गा घरजग्गा रजिस्ट्रेसन दस्तुर १३६.६३ प्रतिशतले बढेको छ । उक्त शीर्षकबाट चालु आवको ९ महिनामा महानगरले १ अर्ब ५ करोड ३ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर १४.१२ प्रतिशतले बढेर ७ करोड २२ लाख ७० हजार रुपैयाँ संकलन भएकाो तथ्यांक छ ।  बाँडफाँडबाट प्राप्त हुने अन्त शुल्क गत वर्षको तुलनामा १४.१२ प्रतिशतले बढेको छ । नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान चालु ५६.३२ प्रतिशतले बढेको छ । चालु आवको ९ महिनामा उक्त शीर्षकमा महानगरलाई ७९ लाख ३० हजार रकम प्राप्त भएको छ । नेपाल सरकार सशर्त अनुदान पुँजीगत २६५.५१ प्रतिशतले बढेको महानगरको तथ्यांक छ । यी शीर्षकमा घट्यो आम्दानी अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा महानगरको आम्दानी ८६.५७ प्रतिशतले घटेको छ । गत आवको ९ महिनामा ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन गरेको महानगरले चालु आवको यही अवधिमा ४१ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, नक्सापास दस्तुरमा पनि महानगरको आम्दानी ४० प्रतिशतले खुम्चिएको छ । गत आवको यही अवधिमा ४९ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको महानगरले चालु आवको सोही अवधिमा २९ करोड ११ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको महानगरको तथ्यांक छ । चैत्र मसान्तसम्मको तथ्यांकअनुसार महानगरले उठाउँदै आएको अन्य बिक्रीबाट प्राप्त रकम ५१ प्रतिशतले घटेको छ । गत वर्षको यही अवधिमा १ करोड २७ लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको महानगरले चालु आवको सोही अवधिमा ६२ करोड ४० हजार रुपैयाँ मात्रै आम्दानी गरेको हो । यसपछि नाता प्रमाणित दस्तुर ९.५२ प्रतिशतले घटेको छ । बाँडफाँटबाट प्राप्त हुने सवारी साधन कर २३.९१ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रोयल्टी ३९.४३ प्रतिशत, त्यस्तै नेपाल सरकार समानीकरण अनुदान ३३.८३ प्रतिशत घटेको छ । प्रदेश समानीकरण अनुदान ४५.९७ प्रतिशतले घटेको छ । प्रदेश शसर्त अनुदान पुँजीगत ७.८८, अन्य व्यक्तिगत आन्तारिक अनुदान २८.७० प्रतिशतले घटेको छ । यी शीर्षकमा महानगरको शून्य आम्दानी महानगरले उठाउँदै आएको पार्किङ शुल्क १०० प्रतिशतले घटेको छ ।  गत वर्षको यही अवधिमा महानगरले पार्किङ शुल्कबाट १ करोड २१ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो । महानगरले चालु आर्थिक वर्षबाट महानगरभित्रका सार्वजनिक स्थानमा पार्किङ गर्दा निःशुल्क बनाएसँगै यस शीर्षकमा आम्दानी नभएको महानगरलले जनाएको छ । त्यस्तै, बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर र विज्ञापन करबाट पनि महानगरले ९ महिनामा शून्य आम्दानी गरेको छ ।