अब गोकर्णेश्वर नगरवासीले क्यान्सरको उपचारमा विशेष छुट पाउने

काठमाडौं । गोकर्णेश्वर नगरपालिका र भक्तपुर क्यान्सर अस्पताल भक्तपुरबीच द्विपक्षीय सम्झौता भएको छ । सोमबार नगरपालिका र अस्पतालबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा गोकर्णेश्वरका नगर प्रमुख दीपक रिसाल र अस्पतालका कार्यकारी निर्देशक डाउज्ज्वल चालिसेले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार अब गोकर्णेश्वरका स्थायी रूपमा बसोवास गरेका नागरिकले भक्तपुर अस्पतालमा उपचार गराउँदा विभिन्न छुट तथा सुविधा पाउने भएका छन् । अब एक वर्षमा १ लाख बराबरको उपचारमा बिरामीले ३५ प्रतिशत मात्र शुल्क तिरे पुग्छ । सम्झौताअनुसार अस्पतालले उपचारको कुल खर्चमा १५ प्रतिशत प्रतिशत र साथै सिटीस्क्यान, मेमोग्राफी सेवामा ३० प्रतिशत छुट प्रदान हुने नगरपालिकाले जनाएको छ । सो अवसरमा नगर उपप्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, अस्पतालका प्रशासन प्रमुख राजाराम तजले, गोकर्णेश्वरका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायलगायतको उपस्थिति रहेको थियो ।

पोखरामा कोसेली घर निर्माण हुने, १०.६७ मिलियन अमेरिकी डलर लगानी

काठमाडौं । पर्यटकीय राजधानी पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माण हुने भएको छ । कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोगमा पोखरामा सञ्चालन हुने ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ मार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत कोसेली घरको सोमबार शिलान्यास गरिएको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कोइका नेपालका देशीय निर्देशक मोहेन कोङ, युएनडिपीका एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले उक्त घरको संयुक्त रूपमा शिलान्यास गरे । परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर गरी कुल १०.६७ मिलियन अमेरिकी डलर लगानी गर्ने छन् । आगामी १ वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी कोसेली घरको ठेक्का इन्टरनेशनल इञ्जिनियरिङ एण्ड कन्स्ट्रक्सन कम्पनी काठमाडौंले लिएको छ । परियोजनाले नकुहिने फोहर प्रशोधनसहित फोहरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ । यसलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने विश्वास लिइएको महानगर प्रमुख आचार्यले बताउनुभयो । उनका अनुसार हरित रोजगारी सिर्जनासँगै चक्रीय अर्थतन्त्रको निर्माणमा यसले योगदान गर्नेछ । ‘फोहरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेका बेला यसलाई मोहोरमा बदल्ने गरी महानगर क्षेत्रका १३६ वटा समूहमार्फत पुनःप्रयोगमा आउने सामग्रीहरू निर्माण गरी आर्थिक रूपमा सामुदायिक सशक्तीकरण हुने विश्वास लिएका छौँ,’ आचार्यले भने । विदेश पलायन भइरहेका युवा शक्ति र गृहिणी महिलाका लागि हरित रोजगारी सिर्जना महत्वपूर्ण रहेको उनले बताए । ‘यस परियोजनाले युवालाई रोजगारीसँग जोड्ने छ भने फोहरबाट मोहोर पनि आर्जन हुनेछ । परियोजनाको पहिलो चरणमा ३ हजार बढी प्रत्यक्ष/अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ,’ प्रमुख आचार्यले भने । कोइका नेपालका देशीय निर्देशक मोहेन कोङले पोखरा महानगरपालिका र कोइकाबीचको सहकार्य तथा समझदारीलाई बलियो बनाउँदै यस परियोजनाले नयाँ उचाइ प्रदान गर्ने विश्वास व्यक्त गरे । नेपालको पर्यटन राजधानी पोखरामा रिसाइकल र अपसाइकलमार्फत हरित रोजगारी सिर्जनाका नमुनाका रूपमा विकास गर्न यो परियोजना कोसेढुङ्गा सावित हुने कोङले उल्लेख गरे । संयुक्त राष्ट्रिय विकास कार्यक्रम (युएनडिपी) का एसिया क्षेत्रीय निर्देशक क्रिस्टोफर बहाइटले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप-साइकल (आरयु) उद्यमलाई बढवा दिन परियोजना प्रभावकारी हुने बताए । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ पोखरा, हरित पोखरा निर्माणसँगै हरित रोजगारी सिर्जनामा यो परियोजनाले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरे । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन राजधानी पोखराका लागि परियोजना रोजगारी सिर्जनाको नयाँ प्रयोगका रूपमा प्रभावकारी हुने बताए । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले परियोजना पोखराका लागि रोजगारी सिर्जना, सिकाइ प्रवद्र्धन र उत्पादनका हिसाबले महत्वपूर्ण रहेको बताए ।

काठमाडौं महानगर र गुणस्तर विभागबीच सम्झौता, खाद्य नमूना संकलन, अनुगमन र निरीक्षण हुने

काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच सोमबार सहमति पत्रमा हस्ताक्षर भएको छ । महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा कक्षमा आयोजित कार्यक्रममा हस्ताक्षर गरे । खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमूना परीक्षणको माध्यमबाट खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य थालिएको हो । संयुक्त अनुगमन तथा निरीक्षणका लागि घुम्ती खाद्य प्रयोगशालाको सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था महानगरपालिकाले गर्नेछ । अन्य व्यवस्थापन संयुक्त रूपमा हुनेछ । अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिष्ट तथा विज्ञसहितको टोलीले संयुक्त टोली हुनेछ । अनुगमन निरीक्षणसम्बन्धी कार्ययोजना दुवै पक्षको सहभागितामा निर्धारण हुनेछ । महानगरपालिकाको सेवामा रहेका फुड टेक्नोलोजिष्ट र माइक्रोवायोलोजिष्ट तथा अन्य कर्मचारीलाई विभागले क्षमता विकास गराउनेछ । सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि बोल्दै महानिर्देशक कर्णले सहमतिअनुसारका कामबाट काठमाडौंमा थोरै लगानी भएको ठाउँमा खाइने खाना होस् कि ठूलो लगानीमा सञ्चालित खाद्य सेवाका ठाउँ हुन्, जहाँबाट पनि उपभोक्ताले स्वच्छ खाना प्राप्त गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । आपसमा भएका क्षमता बाँडेर काम गर्दा स्वच्छ खाद्य सेवामा दिगो नतिजा आउँछ । विभागका उपमहानिर्देशक सोमकान्त रिजालले अनुगमनमा यस अघि देखिएको दोहोरोपनाको समस्या हटेर एकीकृत अनुगमन प्रणाली स्थापना हुने बताउँदै यसले व्यावसायिक वातावरणमा सकारात्मक प्रभाव पर्ने बताए । समाजका तल्लो तहमा रहेका नागरिकलाई राज्यले प्रदान गर्ने सुविधा नजिकैको सरकारबाट प्रदान गर्नका लागि संविधानले कल्पना गरेको सहकार्य संस्थागत हुँदै गएको छ । हस्ताक्षर कार्यक्रममा महानगरपालिकाको प्रशासन विभागका प्रमुख धु्रवकुमार काफ्ले, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित पदाधिकारीहरु सहभागी थिए । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा विभागलाई प्रदेश सरकार तथा स्थानीय तहबाट हुने खाद्य व्यवसायको निरीक्षण तथा अनुगमनमा सहयोग तथा सहजीकरण गर्ने दायित्व दिएको छ । काठमाडौं महानगरपालिकाले उपभोक्ताहरुको गुणस्तरीय, सुलभ खाद्य अधिकार सुरक्षाका लागि नियमित खाद्य सेवाको अनुगमन गरिरहेको छ ।