धरानका मेयर साम्पाङविरुद्ध बिना अनुमति रुख फडानीको आरोपमा छानबिन सुरु
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङविरुद्ध सामुदायिक वनमा अनुमति बिना रुख फडानी गरेको आरोपमा छानबिन सुरु गरिएको छ । धरान-२० स्थित बिष्णुपादुका सामुदायिक वन क्षेत्रमा ‘फायर लेन’ बनाउने भन्दै मेयर साम्पाङले चैत १९ गते मेसिन प्रयोग गरेर रुख फडानी गरेको उजुरी परेपछि डिभिजन वन कार्यालय, सुनसरीले छानबिन प्रक्रिया थालेको हो । डिभिजन वन कार्यालयका प्रमुख खुद्रोस मियाँका अनुसार सो विषयमा उजुरी परेपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको संयोजकमा बिष्णुपादुका सब-डिभिजन वन अधिकृत महेश कुमार शाह रहेका छन् । यस्तै, पञ्चकन्या सब-डिभिजन वन अधिकृत लेखनाथ भण्डारी र सहायक वन अधिकृत फुलकुमारी भोटे सदस्य छन् । समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि वन ऐनअनुसार आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ । प्रमुख मियाँले वन क्षेत्रभित्र अनुमति बिना रुख काट्न कानुनी रूपमा निषेध गरिएको स्पष्ट पारे ।
४ करोडमा बनेको इच्छाकामना गाउँपालिकाको भवन प्रधानमन्त्री ओलीले उद्घाटन गर्दै
चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा चार तले नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । कुल लागत ४ करोड २ लाख ३९ हजार ७२५ रुपैयाँ रहेको उक्त भवन आज उद्घाटन हुन लागेको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार भवनको उद्घाटन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटनका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत इच्छाकामना गाउँपालिका आउने छन् । प्रधानमन्त्री ओलीले भरतपुरमा निर्मित ६ लेनको सडकको निरीक्षण गर्नुका साथै एमाले भरतपुर महानगरको दोस्रो अधिवेशन तथा नारायणगढ–बुटवल सडकखण्ड र कालीगण्डकी करिडोरको समेत अनुगमन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरूङले जानकारी दिए । गाउँपालिका अध्यक्ष गुरूङले बहालवाला प्रधानमन्त्री पहिलोपटक इच्छाकामना गाउँपालिकामा आउन लागेकोमा खुशी व्यक्त गर्दै, उद्घाटन समारोहका अवसरमा पूर्व जनप्रतिनिधिहरू र उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको बताए । नवनिर्मित भवनको भुइँ तलामा प्रशासन, लेखा तथा सामाजिक विकास शाखाका कार्यालयहरू राखिएको अध्यक्ष गुरूङले बताए । पहिलो तलामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, दोस्रो तलामा शिक्षा, स्वास्थ्य, पञ्जीकरण र प्रधानमन्त्री रोजगार शाखा तथा तेस्रो तलामा सभा हल रहेको छ । गुरूङका अनुसार भवनको निर्माण कार्य किस्ताबन्दीमा सम्पन्न गरिएको हो । 'हामी आउँदा भवनको केवल एक तला मात्र निर्माण भएको थियो,' अध्यक्ष गुरूङले भने, 'पछि हामीले भवनलाई पूर्णता दिन ब्यूटिफिकेसनको काम गर्यौं । अहिले हेर्दा भवन आकर्षक बनेको छ ।'
पिउने पानीको जारमा किरा भेटिएपछि ललितपुर महानगरले तिरायो २५ हजार जरिवाना
काठमाडौं । ललितपुर महानगरपालिकाले केएम मिनिरल वाटर एण्ड बेभरेज प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । कम्पनीले उत्पादन गरेको पानीको जारमा किरा भेटिएपछि जरिवाना गरिएको हो । ललितपुर महानगर प्रहरी बलका प्रमुख सिताराम हाछेथूका अनुसार पशु सेवा तालिम केन्द्र, ललितपुरमा पिउन ल्याइएको पानीको जारमा किरा देखिएको गुनासो आएपछि तत्काल निरीक्षण गरी कारबाही गरिएको हो । 'गुनासो आएलगत्तै हाम्रो टोली त्यहाँ पुगेको थियो,' हाछेथूले भने, 'निरीक्षणपछि कम्पनीलाई २५ हजार जरिवाना गरिएको छ ।' हाल उपत्यकाभर नगरपालिकाहरूले पिउने पानीका जार र बोतलमा बढ्दो गुनासोहरूपछि कडाइका साथ अनुगमन र निगरानी गरिरहेका छन् । गुणस्तरहीन पानी वितरण गर्नेहरूमाथि महानगरहरूले तत्काल कारबाही सुरु गरेका छन् ।