अनुमति बिना सडक खन्नेलाई महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५, स्वयम्भूमा अनुमति बिना सार्वजनिक सम्पत्ति कालोपत्रे सडक खनेर क्षति पुर्‍याएपछि महानगर प्रहरीले कारबाही गरेको छ । महानगर प्रहरी बलले दोषी ठहर गर्दै छिरिङ गुरुङलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हो । महानगरपालिकाले सार्वजनिक संरचना र सडक सुरक्षामा कडाइ गर्दै अवैध गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्ने नीति अपनाएको जनाएको छ । अनुमति नलिई सडक खन्दा यात्रु तथा सवारी आवागमनमा बाधा पुर्‍याइनुका साथै पूर्वाधारको क्षति बढ्ने भएकाले महानगरले निगरानी बढाएको हो । महानगर प्रहरी बलले आगामी दिनमा पनि अनधिकृत रूपमा सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने जो-कोहीलाई कारबाही गरिने चेतावनी दिएको छ । महानगरका अनुसार, यस्ता कार्यले सहरी संरचनामा क्षति पुग्ने मात्र नभई सर्वसाधारणलाई समेत असुविधा पुर्‍याउने भएकाले निगरानी अझ कडा बनाइने छ ।

भरतपुर महानगरको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न, ७७ करोड राजस्व संकलन

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकमा भएका कार्यको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार भरतपुर महानगरपालिकाको परिसरमा आयोजित कार्यक्रममा स्थानीय वडावासीहरूले विकास योजनाहरूको प्रशंसा गर्दै थप सुशासन र अति आवश्यक योजनाहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले चार महिनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै गौतमबुद्ध रंगशाला, महानगर प्रशासकीय भवन, पुङ्गी खोला व्यवस्थापन, सिटी हल निर्माण, केरुङ्गा नाला सौन्दर्यकरण, मेशजाली फाउण्डेशन, ६ लेन सडक निर्माण, फोहोरमैला व्यवस्थापन तथा उज्यालो भरतपुर कार्यक्रमलगायतका योजनाको प्रगतिबारे जानकारी गराए । कार्यक्रममा प्रमुख रेनु दाहालले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई एकसाथ अघि बढाइएको उल्लेख गरिन् । उनले अबको कार्यकालमा अझै धेरै विकासका काम अघि बढ्ने र भरतपुरवासीलाई सन्तुष्ट बनाउन महानगर प्रतिबद्ध रहेको बताइन् । प्रमुख दाहालले संघीय सरकार, प्रदेश सरकार तथा साझेदार निकायहरूबाट सञ्चालित विकास योजनामा कुनै गुनासो नआउने गरी गुणस्तरीय काम गर्न निर्देशन दिएकी छन् । महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई योजनाबद्ध, सन्तुलित, दिगो र आत्मनिर्भर विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै महानगरवासीको रचनात्मक सुझावलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । महानगरका प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार आर्थिक वर्ष ०८१/८२ को लागि विनियोजित ६ अर्ब ५६ करोड १ लाख ४३ हजार रुपैयाँमध्ये १ अर्ब ९९ करोड खर्च भइसकेको छ । जुन कुल बजेटको ३६.४९ प्रतिशत हो । त्यसैगरी, १ अर्ब ८० करोड राजस्व संकलनको लक्ष्य लिइएकोमा हालसम्म ७७ करोड १७ लाख ५४ हजार १३७ रुपैयाँ संकलन भइसकेको छ । जुन लक्ष्यको ४३ प्रतिशत हो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले भरतपुर महानगरपालिकाले जनमुखी भएर नागरिकलाई सन्तुष्ट पार्न सफल भएकोमा खुसी व्यक्त गरे। भरतपुर महानगरपालिकाले सार्वजनिक सुनुवाईमार्फत स्थानीय सरकार र नागरिकबीचको अन्तरक्रियालाई मजबुत बनाउँदै आएको छ। महानगरले आगामी दिनमा अझ पारदर्शी र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न कटिबद्ध रहेको जनाएको छ।

कमलपोखरीलाई उज्यालो, स्वच्छ र सौन्दर्यपूर्ण बनाउँछौं : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कमलपोखरीलाई सौन्दर्य र सुरक्षासहित आधुनिक तर पारम्परिक शैलीमा पुनर्जीवन दिने काम तीव्र गतिमा अघि बढेको छ । उक्त योजनाको दोस्रो चरणको कामको अनुगमन गर्दै उपप्रमुख सुनिता डंगोलले रातको उज्यालो व्यवस्था, वर्षाको पानी पुनःभरण प्रणाली र आकर्षक सौन्दर्यीकरणमा जोड दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी हुन् । उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका अधिकारीहरूलाई कार्य योजनाअनुसार जिम्मेवारी पूरा गर्न आग्रह गरेकी छन् । पोखरी वरपर राखिएका चैत्य र मूर्तिहरूमा आगन्तुकले क्षति पुर्‍याएको देखेपछि उपप्रमुख डंगोलले सिसिटिभी क्यामरा जडान गरी निगरानी प्रणाली सुदृढ पार्न निर्देशन दिएकी हुन् । अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले पोखरीको विकासमा जनअपेक्षाअनुरूप जनमैत्री संरचना निर्माणमा ध्यान दिइएको जानकारी दिए । कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसलाई परम्परागत, सांस्कृतिक तथा पर्यटकीय पोखरीका रूपमा विकास गर्ने उद्देश्यअनुसार पुनःनिर्माणको काम भइरहेको हो । गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यसको संरचना निर्माण गरिएको थियो । हाल दोस्रो चरणअन्तर्गत सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यो दोस्रो चरणको योजना ३ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको हो । योजना कार्यादेश २०८१ सालको भदौ १९ गते दिइएको हो र कार्य सम्पन्नको समय सीमा २०८२ साउन १५ गतेसम्म तोकिएको छ । यो योजना सार्वजनिक निर्माण विभागमार्फत कार्यान्वयनमा आएको हो । पोखरीको वरिपरि रहेको क्षेत्र र सडक किनारका लागि ट्याक्टिकल अर्बनिजम अन्तर्गत पनि काम भइरहेको छ । उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले साविकको प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रमा पार्क निर्माण गरिरहेको छ । यसमा बस बिसौनी, पौधारोपण, फूलबारी र विश्रामस्थल निर्माण भइरहेको छ । फुटपाथ र सडक किनारमा फल्चा शैलीमा परम्परागत बस्ने ठाउँ, पोखरी र सडकको दृश्यावलोकन गर्न मिल्ने स्थानहरू निर्माण हुँदैछन् । आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार चालु आर्थिक वर्षभित्र ट्याक्टिकल अर्बनिजमअन्तर्गत ३२ स्थानमा करिब २ करोड रुपैयाँको लागतमा काम सम्पन्न गरिने लक्ष्य रहेको छ । यसअन्तर्गत कमलपोखरीका चारै कुनामा कमल रोप्ने र माछा राख्ने योजना समेत रहेको छ, जसले पोखरीको जैविक तथा सौन्दर्य पक्षमा थप योगदान दिनेछ । पोखरी वरिपरि साँझ र विहान हिँड्न सकिने वातावरण बनाउने प्रयास भइरहेको छ। यसका लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरिसकेको छ । वडा नं. १ का सचिव सर्वज्ञराज पौडेलले पोखरीको सौन्दर्य र सुरक्षाका लागि नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न प्रयास भइरहेको जानकारी दिए । कमलपोखरीको वरिपरि पैदल मार्ग, चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, तथा उद्यान रहेका छन् । पोखरीका चार ओटै कुनामा संस्कृति झल्किने आकर्षक मण्डपहरू छन् । मुलढोकासँगै पूर्वतर्फ एक ठूलो मण्डप रहेको छ, र सम्पूर्ण मिलाएर ५ वटा मण्डप निर्माण गरिएको छ । पोखरी छिर्ने गेट परम्परागत नेपाली शैलीको बनाइएको छ । पुनःनिर्माणका क्रममा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ, जसले सम्पदाको मौलिकता झल्काउँछ । कमलपोखरीको पुनर्जीवनले काठमाडौंको ऐतिहासिक सम्पदा संरक्षण, पर्यटकीय प्रवर्द्धन र जनमैत्री सार्वजनिक स्थलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।