काठमाडौं महानगरका ३ हजार बढी कर्मचारीको तलब रोकियो

काठमाडौं । देशकै ठूलो राजधानी र जनसांख्यिक रूपमै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं महानगर नै दुई महिनादेखि प्रमुख प्रशाकीय अधिकृतविहीन छ । संघीय राजधानीको मुख्य प्रशासनिक निकायमा प्रमुख प्रशाकीय अधिकृतको पद रिक्त हुँदा महानगरको दैनिक प्रशासनिक कामकाजमा व्यापक असर पर्नुका साथै सेवा प्रवाहमा ढिला सुस्ती हुन्छ । सेवा प्रवाहमा भएको ढिलासुस्तीले नागरिकलाई प्रत्यक्ष असर पुगिरहेको छ । गत भदौ २७ गते महानगरको प्रमुख प्रशाकीय अधिकृत बनेका सरोज गुँरागाईं पुस पहिलो सातामा कारबाहीमा परे । काठमाडौं भ्यू टावरमा अनियमितता भएको भन्दै उनलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कारबाही गरेपछि पुस पहिलो सातादेखि उनी बिदामा छन् । गुरागाईंपछि महानगरका वरिष्ठ अधिकारी गोविन्द्रप्रसाद शर्मालाई निमित्तको जिम्वेवारी दिइएको थियो । उनले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिए । पालिकास्तरमा प्रमुख प्रशाकीय अधिकृत नहुनु नौलो कुरा हैन । देशभरका धेरै पालिका अहिले पनि प्रमुख प्रशाकीय अधिकृतविहीन हुँदै आएका छन् । प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति प्रक्रिया संघीय सरकारको जिम्मेवारीमा हुन्छ । काठमाडौं महानगरले प्रमुख प्रशासकीय अधिकृतको लागि पटकपटक पत्राचार गर्दा पनि सरकारले वेवास्ता गरेको देखिन्छ । राजनीतिक हस्तक्षेप, स्वार्थको खेल र संघीय सरकारको उदासीनताका कारण प्रशासनिक रिक्तता लामो समयसम्म कायम रहनु गम्भीर प्रश्न खडा गर्छ । यसले संघीय संरचनाको असक्षमता मात्र देखाएको छैन, जनताको दैनिक सेवामा सरकारले देखाएको लापरवाहीलाई पनि स्पष्ट पार्छ । एक/दुई दिनअघि (शुक्रबार) महानगरका प्रमुख शाहले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गर्दै प्रमुख प्रशाकीय अधिकृत नपठाएको भन्दै आक्रोश पोखेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे ! मलाई हराउने ताकमा, देशलाई चैं नडुबाउनु होला ।’ कर्मचारीले पाएनन् तलब काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नभएसँगै एक महिनादेखि त्यहाँ कार्यरत तीन हजारभन्दा बढी कर्मचारीको तलब रोकिएको छ । महानगरका सहायक प्रवक्ता एवं प्रशासन विभागका प्रमुख ध्रुव काप्लेले चालु खर्च खातामा रकम निकासा नहुँदा एक महिनाको तलब रोक्नुपरेको बताए । उनले भने, ‘बाहिर सञ्चारमाध्यमहरूमा तीन/चार महिनादेखि तलब रोकेको कुरा आएको छ, जुन सत्य होइन । पुससम्मको तलब कर्मचारीलाई भुक्तानी भइसकेको छ, माघ महिनाको बाँकी हो ।’ महानगरले आन्तरिक स्रोतबाट कर्मचारीलाई तलब खुवाउँदै आएको छ । सहायक प्रवक्ता काप्लेका अनुसार आन्तरिक स्रोतबाट महानगरको खातामा १४/१५ अर्ब रकम जम्मा भइसकेको छ । तलब भुक्तानी नहुने समस्या धेरै समयसम्म नजाने उनको भनाइ छ । उनका अनुसार महानगरले सम्भवत यही सातामा र ढिलोमा आउँदो हप्तामा प्रमुख प्रशासकीय अधिकृत पाउने तयारी भइरहेको बताए । प्रशासनिक काममा छैन बाधा प्रमुख प्रशाकीय अधिकृत नभएपनि महानगरका दैनिक सेवा व्यवसाय दर्ता, नक्सा पास, कर संकलन, फोहोर व्यवस्थापनलगायतमा कुनै असर नपुगेको महानगरपालिको दाबी छ । प्रमुख प्रशाकीय अधिकृत नहुँदा सञ्चित कोषबाट खर्च खातामा रकम निकासाबाहेक कुनै पनि सेवा नरोकेको सहायक प्रवक्ता काफ्लेले स्पष्ट पारे । ‘सरसफाइदेखि विकास निर्माणसम्मका सबै काम निरन्तर चलिरहेको छ । त्यस्तै विकास निर्माणको रनिङ बिलहरूको भुक्तानी भइरहेको छ । वडा कार्यालयले गर्ने काम, विभागले गर्ने नियमित गर्ने काम रोकेको छैन,’ उनले भने । छानविन समिति गठन महानगरका प्रवक्ता नवीन मानन्धर, मेयर साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहसहितले काठमाडौं भ्यू टावर निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस) मार्फत प्रक्रिया नै पूरा नगरी स्वीकृति दिएको देखिएको भन्दै कानुन बमोजिम प्रक्रिया थालनी गर्ने निर्णय गर्यो । महानगरले यो विषयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा गत पुस १४ वगते तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । सरकारका पूर्वसचिव शंकरप्रसाद पाण्डे र महानगरको सहरी योजनाका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी सदस्य रहने गरी समिति गठन भएको हो । समितिलाई १५ दिनमा समय दिएर अध्ययन र छानबिन गर्न भनिएपनि अहिलेसम्म प्रतिवेदन बुझाउन सकेको छैन । यससम्बन्धमा जानकारी लिन खोज्दा छानविन समितिका पाण्डे घरायसी कामले बिदामा बसेको भन्दै पन्छिन खोजे । ‘म घरायसी समस्याले गर्दा बिदामा बसें । त्यहाँ केके भयो, मलाई केही पनि थाहा छैन,’ उनले भने ।  

महिलालाई स्वरोजगार बनाउन कैलालीका दुई पालिकाले दियो ३ लाख रुपैयाँ अनुदान

गोदावरी । कैलालीका दुई पालिकामा समूहका विपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन अनुदान रकम वितरण गरिएको छ । दलित महिला सङ्घ (फेडो) कैलालीले धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाका–१० वटा समूहका २९ जना विपन्न दलित महिलालाई तीन/तीन लाखका दरले अनुदान रकम वितरण गरेको हो । नेपालमा दलित महिला र किशोरीको मानवअधिकार प्रवर्द्धन परियोजनाबाट उनीहरूलाई सो रकम अनुदान दिइएको हो । उक्त रकमबाट दलित तथा विपन्न महिलाले स्थानीयस्तरमा उद्यमशील बनी आत्मनिर्भर बन्ने कोसिस गरिरहेको दलित महिला सङ्घका अध्यक्ष सविना सुनारले बताए । महिलाले सो रकम कुखुरापालन, खुद्रा पसल, बाख्रापालन, बङ्गुरपालनलगायत अन्य सीपमूलक व्यवसायमा लगानी गरेको उनको भनाइ छ । परियोजनाबाट व्यवसाय सञ्चालन सहयोग र ङ्याचिगम सहयोग गरी प्रतिव्यक्ति १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म अनुदान दिइएको अध्यक्ष सुनारले जानकारी दिए । अनुदान रकम थोरै भए पनि विपन्न महिलाले सानो सानो उद्यम गरी आफूलाई स्वरोजगार बनाउन सहयोग पुग्ने जनाइएको छ । रकम दिनुअघि संस्थाले उनीहरूलाई उद्यमशीलता विकास तालिम, व्यावसायिक योजना निर्माणलगायतका सीप प्रदान गरेको अध्यक्ष सुनारको भनाइ छ । दुवै पालिका तथा वडास्तरीय जनप्रतिनिधिको रोहवरमा वितरण गरिएको सो अनुदान रकम समूहको बीउपुँजीका रूपमा रहने र बढीमा एक वर्षपछि घुम्ती कोषका रूपमा अन्य व्यवसाय गर्ने सदस्यलाई समूहले निर्णय गरी प्रदान गरिने कार्यक्रम संयोजक विनोदकुमार घिमिरेले बताए । जसबाट समूहको बचत कोषको प्रवर्द्धन भई समूहका प्रत्येक सदस्यलाई आर्थिक गतिविधि सञ्चालन गर्न मद्दत पुग्ने विश्वास लिइएको उनले जानकारी दिए । रासस

कागेश्वरी मनोहरामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ । आइतबार एक विशेष कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्कीले केन्द्रको उद्घाटन गरेका हुन् । नगरप्रमुख कार्कीले स्थानीय स्तरमा धेरै कामहरू भइरहे पनि शिक्षा र स्वास्थ्य जहिल्यै आशाको स्रोत बन्ने बताउँदै वृत्ति मार्गनिर्देशन सेवा एक नयाँ अभ्यास भएको बताए । स्वीस सरकारद्वारा युवाहरूलाई सक्षम बनाउन अपनाइएको प्रभावकारी विधि भएको उनको दाबी छ । नयाँ अभ्यास भएकाले व्यवस्थित रूपमा अगाडि बढाउन उनले बताए । यस परियोजनाले व्यवस्थित तरिकामा काम गर्न मद्दत गर्ने र यसमा शिक्षकहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको नगरप्रमुख उपेन्द्र कार्कीले बताए । आवश्यक तालिम प्रदान गरिसकेको र यस परियोजनाको सफलतामा शिक्षकहरूको योगदानलाई मूल्याङ्कन गरिने उनले बताए । यस केन्द्रमार्फत नगरभित्रका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू तथा अन्य युवाहरूलाई व्यक्तिगत तथा सामूहिक परामर्श प्रदान गरिनेछ । नगरप्रमुख कार्कीका अनुसार सहज रूपमा शिक्षा प्राप्त गरे पनि करिअर विकास भने कठिन भइरहेको बेला वृत्ति मार्गनिर्देशन सेवा अन्धकारमा उज्यालो किरणसरह प्रभावकारी साबित हुनसक्छ । युवाहरूलाई सही दिशा दिन, उपयुक्त रोजगारीको अवसर पहिचान गर्न तथा उनीहरूको व्यावसायिक र व्यक्तिगत विकासमा सहयोग पु¥याउन यो सेवा महत्वपूर्ण हुने विश्वास उनले व्यक्त गरे । यस सेवा केन्द्रबाट मनोविज्ञानमा दक्ष परामर्शदाता तथा वृत्ति मार्गनिर्देशन सहजकर्ताहरूले युवाहरूलाई आवश्यक परामर्श प्रदान गर्नेछन् । साथै, डिजिटल प्लेटफर्ममार्फत योग्यता परीक्षण गरी उनीहरूको रुचि, क्षमता तथा श्रम बजारको मागका आधारमा सम्भावित वृत्ति मार्ग पहिचान गरिनेछ । कार्यक्रममा नगरपालिका अन्तर्गतका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको पनि उपस्थिति रहेको थियो । शिक्षालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई वृत्ति मार्गनिर्देशनसम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पुस्प ढकालका अनुसार नेपालमा अझै पनि विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना बलियो रहेको र त्यसका कारण सही वृत्ति मार्ग पहिचान गर्न कठिनाइ हुने भएकाले वृत्ति मार्गनिर्देशन सेवा अत्यन्त लाभदायक हुनसक्ने बताए । प्रयोगात्मक ज्ञान अझै महत्वपूर्ण हुने बताउँदै डिजिटलीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता जनाए । नगरपालिकाले शिक्षालाई गुणस्तरीय बनाउन तथा युवाहरूलाई रोजगारीमुखी बनाउन यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । साथै, यसलाई सही मार्गमा कसरी अघि बढाउने भन्ने विषयमा निरन्तर गहिरो अध्ययन र विश्लेषण गर्दै आएको बताएको छ । नगरपालिकाले तथ्यांकमा आधारित निर्णय प्रक्रिया अपनाउँदै डिजिटल प्रविधिको सहायताले युवा लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना बनाइरहेको छ ।