काठमाडौंका नगर प्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले कार्यालय प्रवेशमा अवरोध गरेको भन्दै पाण्डेमाथि कारबाही गरेका हुन् । गत चैत २१ गते प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउँदै बल प्रयोग गरेको घटनाको जाँचबुझ नसकिन्जेलसम्मको लागि पाण्डेलाई महानगर प्रहरी बल ऐनअनुसार निलम्बन गरिएको जनाइएको छ । महानगरका साहयक प्रवक्ता ध्रुवकुमार काफ्लेले नगर प्रहरी प्रमुख पाण्डे निलम्बनमा परेको कुरा समाचारबाटै थाहा पाएकोले त्यसमा केही न केही सत्यता भएको बताउँछन् । निलम्बनमै परेको पत्र भने प्रशासनसम्म आइपुगिनसकेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश गरेकाे दिन उपमेयर सुनिता डंगोल र केही वडाध्यक्षहरूसँग पाण्डेको भनाभन भएको थियो । यस घटनापछि प्रमुख प्रशासकीय अधिकृतले स्पष्टीकरण मागेका थिए तर चित्तबुझ्दो जवाफ नआएपछि पाण्डेलाई निलम्बन गरिएको हो ।
भरतपुर महानगर र ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध
गलकोट । बागलुङको ताराखोला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षालगायत क्षेत्रमा सहकार्य गर्नका लागि दुई स्थानीय तहले भगिनी सम्बन्ध कायम गरेका हुन् । भरतपुर पुगेका ताराखोलाका जनप्रतिनिधि र भरतपुरका जनप्रतिनिधिबीच भगिनी सम्बन्धको प्रस्तावपत्रमा सोमबार हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर विक र भरतपुरका प्रमुख रेणु दाहालले संस्कृतिको आदानप्रदान, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य गर्नेगरी भगिनी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । प्रस्तावपत्रमा भरतपुरका प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा ताराखोलाका तर्फबाट अध्यक्ष विश्वकर्मा र प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । सो गाउँपालिका गण्डकी प्रदेशअन्तर्गत बागलुङको पर्यावरण पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको क्षेत्र र धार्मिक, ऐतिहासिक, भौगोलिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हिसाबले निकै सम्भावना बोकेको क्षेत्र भरतपुरबीच भगिनी सम्बन्ध कायम गरिएको गाउँपालिकाका अध्यक्ष विश्वकर्माले जानकारी दिए । घुम्टे, गाईघाट झरना, डुडेलेक तथा धार्मिक क्षेत्र तिनचुले, बराह मन्दिर, घुम्टे सिद्ध थान पर्यटकीय क्षेत्र रहेको ताराखोला स्थानीय उत्पादन र संस्कृतिलाई महानगरसामु चिनाउन भगिनी सम्बन्ध कायम गरिएको विश्वकर्माले बताए । ऐतिहासिक रुपमा नेपालको शासकीय स्वरूप परिवर्तनमा भएको सशस्त्र सङ्घर्षको उद्गम थलो रहेको सो गाउँपालिका र भरतपुर महानगरबीच स्थानीय विकासका लागि समानता तथा विविधतालाई एकअर्काले नियमित रुपमा सिकाइका र अवसरका रुपमा लिने गरी समझदारी गरिएको हो । शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन, प्रविधि, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा वार्षिक सहयोगलगायतका अन्य विविध असल अभ्यास एवं अनुभव आदानप्रदान गर्ने व्यवस्थाअनुसार भरतपुर महानगर र गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको हो ।
कालीमाटीमा भित्रिँदाभित्रिँदै १७४ वटा तरकारीको नमूना संकलन र स्थलगत विषादी परीक्षण
काठमाडौ । काठमाडौंको कालीमाटी तरकारी बजारमा नेपालका विभिन्न ठाउँबाट भित्रिएका तरकारीमा विषादीको अवशेष मापदण्डभित्र रहेको पाइएको छ । महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित सोमबार राती १० बजेदेखि बिहान ३ बजेसम्म भित्रिँदाभित्रिँदै गरेका १७४ वटा नमूना लिएर स्थलगत परीक्षण गर्दा यो नतिजा प्राप्त भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदी भन्छन्, ‘नेपालका करिब २० जिल्लाबाट भित्रिएका तरकारीको नमूना संकलन गरेर परीक्षण गर्दा विषादीको अवशेष मापदण्डभित्र रहेको भेटिएको हो ।’ उनका अनुसार फलफूलमा लिचीको नमूना लिइएको थियो । यस्तै सुकेको माछाको पनि नमूना लिएर परीक्षण गरिएको थियो । परीक्षणमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. सुवेदी, खाद्य अनुसन्धान अधिकृत सुशान्त निरौला, अनुसन्धान अधिकृत पदम भुषाल, महानगरपालिकाका फुड टेक्नोलोजिष्ट अशोक पराजुली सहभागी थिए । परीक्षणका लागि काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँलगायत तरकारीको नमूना लिइएको थियो । तरकारी बजारमा फलफुल नआउने भएकोले फलफुलमा लिचीको नमूना लिइएको थियो । संकलित नमूनाहरुको आर. बी. पी. आर. र्यापिड वायोसे अफ पेष्टिसाइड्स रिसिड्युज) विधिबाट अर्गानोफोस्पेट र कार्वामेट समूहका विषादीहरु परीक्षण गरिएको हो । संकलित तरकारीका नमूनाहरु चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लांही, धादिङ्, नुवाकोटलगायत जिल्लाका विभिन्न स्थानबाट ल्याइएका थिए ।