ललितपुर महानगरको तेस्रो महिला उद्यमी सम्मेलनको तयारी पुरा

ललितपुर । ललितपुर महानगरले आयोजना गरेको तेस्रो महिला उद्यमी सम्मेलन २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ ।  ललितपुर महानगरले आयोजना गरेको उक्त सम्मेलन असार २ गते सोमबार ललितपुरमा हुँदैछ । ललितपुर महानगरका कार्यवाहक नगर प्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला उद्यमशीलता सहजीकरण केन्द्र कार्यान्वयन समितिको बैठकमा उद्यमी महिलालाई प्रोत्साहित गर्न सम्मेलन गरेको बताइन् । महिला उद्यमीको समस्या सुन्न र आवश्यकता बुझ्न सम्मेलन आयोजना गरेको जानकारी उनले दिइन् । सम्मेलनमा महिला उद्यमीले उत्पादन गरेको सामानहरूको ३० वटा प्रदर्शनी कक्ष समेत राखिनेछ । यसैगरी सम्मेलनमा उत्कृष्ट उद्यमी महिलालाई सम्मान गर्ने ललितपुर महानगर महिला विकास महाशाखाले जनाएको छ ।

बालेन र सुनिताबीच कुरा मिल्यो, नीति तथा कार्यक्रम र बजेट ल्याउने वातावरण बन्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच नगरसभाको बैठक बोलाउने विषयमा सहमति भएको छ । बिहीबार मेयर र उपमेयरबीच भेटवार्ता भएको थियो । छलफलपछि दुवै जना बैठक बोलाउन तयार भएका हुन् ।  बालेनलाई भेट्नुअघघि सुनिताले फरक पार्टीका तीन वडाध्यक्षसँग छलफल गरेकी थिइन् । त्यसपछि बालेनसँग भेटवार्ता भएपछि सहमति भएको हो । काठमाडौं महानगरपालिकोको ६ महिनादेखि नगरसभा र कार्यपालिका बैठक हुन सकेको छैन । महानगरको आन्तरिक विवादका कारण महानगरमा ०८१ पुसदेखि नगरकार्यपालिकाको बैठक बस्न नसकेको हो । महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि गृहकार्य गरिरहेको छ । अब महानगरले नियमित तयारी गर्ने बताइएको छ । 

महालक्ष्मी नगरपालिका र शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन

काठमाडौं । नेपाल सरकारले दुई स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो । महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीमा रहेकोमा अब परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थानमा हुने भएको छ । दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुने भएको छ ।  स्थानीय तहको नाम र केन्द्र परिवर्तन गर्नुपर्ने भएमा संघीय सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था छ । त्यही अनुसार मन्त्रिपरिषद्को निर्णयले दुई पालिकालाई केन्द्र परिवर्तन गर्ने अनुमति दिएको हो ।