महानगरले खुला मञ्चमा २ करोड ७० लाखमा ‘वरमुढा ग्रास’ रोप्दै

काठमाडौं । सर्वसाधारणको पहुँचलाई लक्षित गर्दै सैनिक मञ्चबाट दक्षिणतर्फको भागमा काठमाडौं महानगरपालिकाले वरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरूका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरूका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको छ ।  सर्वसाधारणले उपयोग गर्ने यो ठाउँमा धुलो उड्ने, पानीमा हिलो हुने अवस्थामा सुधार ल्याएर प्रयोग सहजताका लागि ग्रास रोप्ने योजना कार्यान्वयन गर्न लागिएको हो । ६१ हजार २६३ वर्गमिटर यो चउरमा काम गर्न महानगरपलिकाले २ करोड ७० लाख रुपैयाँ खर्च गर्ने भएको छ । । बोलपत्रमार्फत छनोट भएको निर्माण पक्षलाई २०८३ मंसिर मसान्तसम्मको समय दिइएको छ । सार्वजनिक निर्माण विभागका वरिष्ठ इञ्जिनियर अर्जुन अर्यालका अनुसार यहाँ जमिनको सतह सम्याएर ३ इञ्च मलिलो माटो राखिनेछ । यसमाथि घाँस रोपिनेछ । चउरमा ६ मिटर गहिराई र १ दशमलव २ मिटर व्यासका ८ वटा आकाशे पानी संकलन पिट हुनेछन् । महानगरले खुला ठाउँमा सर्वसाधारणको सहज पहुँच वृद्धि, सामाजिक अन्तरघुलन, वातावरणीय सुधार र सहरी सुन्दरतामा वृद्धि हुने अपेक्षा गरेको छ ।

नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रङ्गरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा सङ्ख्या थप्ने, एक ठाउँमा एकै प्रकारका कुर्सी राखेर एकरूपता कायम गराउने, आकर्षक र प्रयोगमैत्री बनाइनेछ । सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राई भन्छन्, 'उमेर समूह, शारीरिक अवस्थाजस्ता पैदल यात्रुको आवश्यकतालाई सहजता बढाउने काम थालेका छौँ । यसअघि राखिएका ठाउँबाट कुर्सी हटाउने कुनै योजना छैन । एकरूपता कायम गराउन साटफेर हुन भने सक्छ ।' यसअन्तर्गत सिंहदरबार भद्रकाली सडकखण्डमा राखिएका फलाम र काठ मिश्रित कुर्सीहरू मर्मत थालिएको छ । यस ठाउँमा दुई प्रकारका कुर्सी थिए । यीमध्ये पुराना बेञ्च मर्मतसम्भार र रङ्गरोगन गरेर यथास्थानमा राखिने विभागका प्रमुख राईले जानकारी दिए । यसअघि राखिएका ठाउँबाट कुर्सी यताउता सार्ने गरिएको थियो । यसलाई पनि व्यवस्थापन गर्नेगरी काम गरिने उनको भनाइ छ । कामपाका सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले सार्वजनिक कुर्सी व्यवस्थापनको काम गरिरहेका छन् । यसमध्ये पनि आयोजनाले प्राथमिकता दिएको छ । २०८१ साल असोजमा महिनामा सहरका विभिन्न ठाउँमा १४० वटा सार्वजनिक कुर्सी राखेको थियो । यी कुर्सीहरू एक दशमलव पाँच मिटर लम्बाइ र आधा मिटर चौडाइका छन् । यी सार्वजनिक खरिद प्रक्रियाबाट हरेक कुर्सी करसहित हरेक कुर्सीको मूल्य १८ हजार ६५५ परेको छ । यसमध्ये भद्रकालीदेखि सिंहदरबार सडकखण्डअन्तर्गत पैदल मार्गमा ११ वटा कुर्सी राखिएका हुन् । यसबाहेक बागमती र बागमती नदीका करिडोर, गुह्येश्वरी, कोटेश्वर, कालमोचनलगायत ठाउँमा राखिएका थिए । दोस्रो चरणमा ४९ प्राप्त भएका छन् । यी कुर्सीहरू नापी विभाग, तीनकुने कोटेश्वर खण्ड, रत्नपार्क, माइतीघर बबरमहल, कलपोखरीलगायत स्थानमा राखिनेछन् । ट्याक्टिकल अर्वानिजमअन्तर्गत तेस्रो प्याकेजमा १५० वटा कुर्सी प्राप्त हुनेछन् । यी कुर्सीहरू माग र आवश्यकताका आधारमा विभिन्न स्थानमा राखिने कामपाले जानकारी दिएको छ । 

सुशासनका लागि अभियान सञ्चालन गर्दै रामप्रसादराई पालिका

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने भएको छ  । शुक्रबार यहाँ आयोजित स्थानीय सरकारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी दिइएको हो । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहित जनप्रतिनिधि तथा सरोकार भएकाहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष थामबहादुर राईले परदर्शिता र जवाफदेहीता सुनिश्चित नभएसम्म सुशासन कायम गर्न सम्भव नहुने भएकाले अभियान नै सञ्चालन गर्नुपरेको बताए । सुशासन तथा स्थानीय सेवा समितिका संयोजक एकराज आचार्यले सुशासनको अभावमा सेवा प्रवाह प्रभावित हुने भएकाले हरेक कर्मचारीलाई जिम्मेवार बनाउन अभियान थालिने जानकारी दिए ।