उपप्रमुख सुनिता डंगोल विश्वव्यापी युवा नेताको मञ्चमा चयन, नेपालबाट एक्लै प्रतिनिधित्व

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल सन् २०२५ का लागि विश्व आर्थिक मञ्च अन्तर्गत विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छन् । स्वीजरल्याण्डको जेनेभाबाट घोषित सूचीअनुसार दक्षिण एशियाबाट छानिएका ११ जनामध्ये नेपालबाट डंगोल एक्लो प्रतिनिधित्व हुन् । यसअघि उनी ग्लोबल शेपर्स काठमाडौं हवकी सक्रिय सदस्य पनि रहिसकेकी छन् । विश्वका ५० भन्दा बढी देशका ११६ जना युवा नेताहरू सहभागी रहेको यस मञ्चमा उपप्रमुख डंगोल सरकार क्षेत्रको प्रतिनिधिका रूपमा चयन भएकी हुन् । समूहमा शिक्षा, कला–संस्कृति, खेलकुद, व्यवसाय, नागरिक समाज, मिडिया र सामाजिक उद्यमशीलता क्षेत्रका युवा नेताहरू समावेश छन् । विश्व आर्थिक मञ्चको आधिकारिक वेबसाइटमा डंगोलको बारेमा भनिएको छ, 'उहाँ युवालाई प्रेरित गर्ने, र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।' चयनपछि प्रतिक्रिया दिँदै डंगोलले भनिन्, 'विश्वस्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय हो । यो अवसरले थप जिम्मेवारी बोध गराएको छ । अन्तर्राष्ट्रियस्तरका नेताहरूसँग सहकार्य गर्दै युवालाई नेतृत्वमा प्रेरित गर्ने कार्यमा लाग्नेछु ।' विश्वव्यापी समस्या समाधानका लागि व्यवहारिक दृष्टिकोण र प्रविधिको प्रयोगमार्फत सकारात्मक परिवर्तन ल्याउने, नयाँ दृष्टिकोण तयार गर्ने उद्देश्यले यो नेतृत्व समूहको स्थापना गरिएको हो । सन् २००४ मा स्थापना भएको यो फोरममा हालसम्म १२० देशका १ हजार ४ सयभन्दा बढी सदस्यहरू सहभागी भइसकेका छन् ।  

निराशालाई आशामा बदल्दै दार्चुलाको मालिकार्जुन गाउँपालिका

नरेन्द्रसिंह कार्की काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको लगानी र प्रभाव विस्तारै देखिने अवस्थामा रहेको छ । ‘शिक्षामा गरिएको लगानीको प्रतिफल थोरै ढिला देखिन्छ, काम गराइ र अपनत्वको हिसाबले गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक छ,’ वडा नं ३ का खडक सिंह धामी भन्छन्, ‘शिक्षामा भइरहेको राजनीतिकरण कमी गर्न सके धेरै परिवर्तन सम्भव छ ।’ विसं २०७९ मा निर्वाचित भए लगत्तै जनप्रतिनिधिले विकास निर्माणका कार्य होस् या शिक्षामा विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापनको कार्य होस्, गाउँपालिकाले थालेको पहलकदमी सकारात्मक रहेको उनको बुझाइ छ । ‘कम्तीमा राम्रो गरेको कामलाई प्रशंसा गर्न सिकौँ,’ वडा नं ४ का बलदेव सिंह धामीले भने, ‘राम्रो कामलाई प्रशंसा र नराम्रो कामलाई खबरदारी गर्‍यौं भने जनताका सपना पूरा गर्नेतर्फ जनप्रतिनिधि अग्रसर हुने हो ।’ गाउँपालिकाले शिक्षा क्षेत्रमा धेरै लगानी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक पदम राज पन्त बताउँछन् । उक्त प्रतिनिधिमूलक विचार मालिकार्जुनको आयोजना र दार्चुला विकास सङ्गठनले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा व्यक्त भएका हुन् । गाउँपालिकाको प्रथम र द्वितीय चौमासिक सार्वजनिक सुनुवाइको क्रममा स्थानीय अहिले पालिकाले गरिरहेको कामप्रति धेरै निराशावादी छैनन् । धेरै आशा गर्ने ठाउँ बाँकी रहेको भन्दै त्यसलाई सुधार गर्नेतर्फ भने स्थानीयले सुझाव दिएका छन् ।  नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक पन्तले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत् र कृषि पशु क्षेत्रमा गाउँपालिकाले अझै काम गर्नसक्ने अवस्था रहेको बताए ।  ‘शिक्षामा केही प्रयास भएका छन्, कृषि पशुमा कर्मचारी राख्ने काम भएका छन्, तर वडामा गएर हाजिर लगाउने मात्र नभई बजेट दिएर कृषि पशु क्षेत्रको विकासमा लगानी बढाउन सुझाव छ,’ उनले, भने, ‘पशु र कृषि प्राविधिक पठाएर मात्रै भएन, बिउविजन, औषधि, कृषि यान्त्रीकरणका कुरा बढाउनुपर्छ, किसानलाई धेरै चाहिएको छैन, थोरै बजेटमार्फत हुने काम गर्नेतर्फ पालिका अग्रसर हुनुपर्‍यो ।’ पालिकाका अधिकांश वडा वस्तीमा अहिले पनि पम्पिङमार्फत गाउँमा खानेपानी पुर्याइएको छ । केही योजना निर्माणकै क्रममा छन् । जनताले पानीको महसुल र विद्युतको महसुल दुवै तिर्नुपर्ने अवस्था रहेको छ ।  उनले भने, ‘विद्युत् र पानीमध्ये एउटा महसुल गाउँपालिकाले व्यहोर्ने गरी काम ग¥यो भने जनतामा सरकारप्रति नैराश्यता पैदा हुन पाउँदैन, जहाँ पनि करको भार मात्रै थोपर्ने हो भने जनतामा निराशा पैदा हुन्छ, सानातिना समस्या समाधानतर्फ अगाडि बढ्नुपर्छ ।’ गाउँपालिकामा निर्वाचित भए लगत्तै पालिकाकै स्काभेटर प्रयोग गरी वडा सदरमुकाम जोड्ने गरी गाउँपालिकाले सडकको काम गगरेको छ । अहिले वडा नम्बर २ को न्वालपानी वस्तीमा सडक पुगेको छ । झण्डै १२ किलोमिटर सडक पालिकाकै बजेटमा खनिएको छ । मालिकार्जुन–४ लाई गाउँपालिकाको चक्रपथ सडकमा जोड्नुपर्नेमा स्थानीय बलदेव धामीले जोड दिनुभयो । अरु वडाका बस्तीमा धमाधम काम भइरहेको छ । पालिका भवन निर्माणाधीन अवस्थामा छ । १० शय्याको अस्पताल सञ्चालनमा आएको छ । वडाहरूमा नयाँ वडा कार्यालय भवन निर्माण भइरहेका छन् । जनप्रतिनिधिले देखेको सपना पूरा गर्न नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्नाले बताए । ‘वार्षिक कार्ययोजना अनुरूप हामीले काम गर्दै आएका छौँ, खरिद ऐन नियमअनुसार काम गरिरहेका छौँ, अझै पालिकाको विकासका लागि जनप्रतिनिधि, राजनीतिक दल, आम जनसमुदायको सहभागितामा अभिवृद्धि गर्दै समन्वयात्मक ढङ्गले अघि बढ्न प्रतिबद्ध छौं,’ ठगुन्नाले भने ।  गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी पालिकामा आउने उजुरी तथा गुनासामाथि छलफलकै माध्यमबाट समाधान हुँदै आएको बताउँछन् । गाउँपालिका अध्यक्ष हिरासिंह धामी आफ्नो नेतृत्वमा आएको टोली मालिकार्जुन बासीको समृद्धिको सपना पूरा गर्नतर्फ अग्रसर रहेको बताउँछन् ।  ‘धेरै ‘सिस्टम’मा समस्या थियो, विस्तारै सुधार गर्दै जनतालाई रोजगारी सिर्जना हुने गरी काम थालनी गरेका छौं,’ उनले भने । नागरिकमा निराशा पैदा हुन नदिने गरी गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत जनता खुसी बनाउने सपना कार्यान्वयन गर्दै आएका धामीको भनाइ छ ।  अस्तव्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्र विस्तारै लयमा ल्याउने प्रयास भएका छन् । केही विद्यालय ‘डाउन साइज’ र केही समायोजन गरिएका छन् । उनका अनुसार त्रैमासिक रुपमा शिक्षकले तलब पाउँदै आएकामा देशमै पहिलो पटक गाउँपालिकाले ‘इएफटी’मार्फत मासिक रुपमा तलब भत्ता खातामा जाने व्यवस्था सञ्चालन गरेको छ । विद्यार्थी अनुपातमा शिक्षक व्यवस्थापन र शिक्षक अभाव भएको ठाउँमा पदपूर्ति गरेर अघि बढेको अध्यक्ष धामीले बताए ।  ‘रोजगारी पालिकामै सिर्जना गर्न गार्मेन्ट उद्योग सञ्चालनको तयारी गरिएको छ, किसानलाई कृषि यान्त्रिकरण सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘रोजगारी सिर्जना गर्ने र उद्यमी बनाउने नीतिलाई प्राथमिकता साथ लिएका छौं, पशु क्षेत्रका सम्भावना भएका ठाउँमा मुर्रा भैँसी वितरण गरिएको छ, पकेट क्षेत्र घोषणा गरिएका छन्, सोहीअनुसार लगानी हुँदैछ, किसानको उत्पादनलाई बजारसम्म ल्याउन सङ्कलन केन्द्र निर्माण गरिँदै छ ।’  अहिलेको सीमित स्रोतसाधनले गाउँवासीको सपना पूरा गर्नतर्फ निरन्तर प्रयास हुने धामीको भनाइ छ । १० शैय्या अस्पतालमा मात्र नभई गाउँपालिकाले बस्तीस्तरसम्म शिविर सञ्चालन गरेर स्वास्थ्य सेवा प्रवाह गरेको छ ।  चालू आर्थिक वर्षमा गाउँपालिकाले ५७ करोड ९१ लाख ७४ हजार रुपैयाँ बजेट कार्यान्वयन गरिरहेको छ । त्यसमार्फत पालिकाभरि ११८ योजना कार्यान्वयन भइरहेको छ । गाउँपालिकाले सामाजिक विकास क्षेत्रमा ३३, आर्थिक विकासको क्षेत्रमा सात, महिला लक्षित दुई तथा बालबालिका र दलित लक्षित एक÷एक योजना कार्यान्वयन भइरहेका छन् ।  सामाजिक सुरक्षामा चार करोड बजेट भुक्तानी  गाउँपालिकाले दोस्रो चौमासिक अवधिसम्म ४ करोड रुपैयाँ बढी बजेट सामाजिक सुरक्षामा भुक्तानी गरेको छ । पालिकाभर १ हजार २५२ महिला तथा ८९९ पुरुष गरी कूल २ हजार १५१ लाभग्राहीलाई कूल ४ करोड १४ लाख ४३ हजार ३५१ रुपैयाँ भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।  पालिकाभर सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक गैर दलित सङ्ख्या एक हजार ३२८, ज्येष्ठ नागरिक दलित १२९, पूर्ण अपाङ्गता ६१, आंशिक अपाङ्गता ७८, ज्येष्ठ नागरिक एकल महिला ८९, एकल महिला २४५, बाल संरक्षण अनुदान २१४ तथा लोपोन्मुख आदिवासी जनजाति सात जना रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्र सिंह धामीले जानकारी दिए। चालू आर्थिक वर्षमा सामाजिक सुरक्षा कार्यक्रमका लागि कूल ७ करोड ९९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा सात कार्यविधि निर्माण  गाउँपालिकाले चालू आर्थिक वर्षमा सात वटा कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाले पहिलो र दोस्रो चौमासिक अवधिमा काम कारबाहीलाई सजिलो बनाउन कार्यविधि निर्माण गरेको हो ।  प्रमुख प्रशासकीय अधिकृत ठगुन्नाका अनुसार चालू आर्थिक वर्षमा मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि २०८१, आधारभूत अस्पताल सञ्चालन कार्यविधि २०८१, गाउँपालिकाको अनुगमन, सुपरिवेक्षण र फरफारक सम्बन्धी कार्यविधि २०८१, उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०८१, विद्यालय दिवा खाजा भान्से व्यवस्थापन कार्यविधि २०८१, कर्मचारी कल्याण कोष नियमावली २०८१ तथा विद्यालय भान्सा कोठा निर्माण कार्यविधि २०८१ निर्माण गरिएको छ ।  यसअघि गाउँपालिकाले २४ ऐन, कार्यविधि, मापदण्ड र निर्देशिका ८९ तथा नियमावली ६ वटा बनाएको गाउँपालिकाले जनाएको छ ।

नगरकोट भ्रमण वर्ष तयारी पूरा, एक लाख विदेशी र १० लाख स्वदेशी पर्यटक भित्र्याउने लक्ष्य

भक्तपुर । प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रविन्दुमा राखेर भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रूपमा आगामी वैशाख १ गतेदेखि आयोजना गर्ने ‘नगरकोट भ्रमण वर्ष-२०८२’ को सम्पूर्ण तयारी पूरा भएको छ ।  नगरकोटमा एक लाख विदेशी र १० लाख स्वदेशी गरी ११ लाख पर्यटक भित्र्याउने उद्देश्यले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष-२०८२’ को चारवटै स्थानीय तहले प्रचारप्रसार गरेका छन् ।   नगरकोट भ्रमण वर्ष-२०८२ संयुक्त सचिवालयको आयोजना तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक एवं मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईबाले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । नगरकोट आउने पर्यटकहरूको बसाइ लम्ब्याउँदै स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्यसहित विभिन्न परिकार, पर्यटकलाई चखाउने योजना अनुरूप गाउँगाउँमा नमूना होमस्टे बनाइएको उनले बताए ।  कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आफ्नो कार्यकालको पहिलो बैठकमै भ्रमण वर्ष मनाउने घोषणा गरेकामा अहिले चार वटै नगरपालिकाको सहकार्यसहित नगरकोटलाई पर्यटकीय केन्द्रविन्दु बनाउन भ्रमण वर्ष मनाउन लागेको बताए । नगरप्रमुख खत्रीले भने, 'एकवर्ष भरि मनाउने भ्रमण वर्षमा नगरकोटबाहेक चारवटै स्थानीय तहले दुई दई वटा मुख्य कार्यक्रम गर्ने र अरू आआफ्ना पालिकाको वडागत रुपमा पनि भ्रमण वर्ष मनाउने गरी अगाडि बढेका छौं ।’ बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले शाक्यले नगरकोट भ्रमणमा आउने पर्यटकलाई बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा गराउन सकिने, यहाँका जात्रा परम्परामा पर्यटकलाई जोड्ने, जलजले ताल, गुम्बालगायतमा पर्यटकलाई लैजान सकिने बताए । उनले भने, 'नगरकोटमा प्रदूषणका कारण हिमाल देख्न छोडियो, सूर्योदय र सूर्यास्त मात्रै हेर्न पर्यटक धेरै रात बस्दैनन, पर्यटकको बसाइ लब्याउन नगरकोट आएका पर्यटकलाई नगरकोटबाट बनेपा घुमेर फेरी नगरकोट आएर बास बस्ने गरी बसाई लम्ब्याउन सकिन्छ ।’ चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले  भ्रमण वर्षमार्फत स्थानीय प्राकृतिक तथा धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने बताए ।  मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोटको समग्र विकासका लागि चारवटै पालिकाको साझेदारीमा नगरपालिकाको डीपीआर बनाउने काम भइरहेको बताए । भ्रमण वर्षको शुभारम्भका दिन बतासे डाँडामा ५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ । त्यसैगरी खानाका स्टलका साथमा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको सङ्ग्रहालय तथा प्रत्येक स्थानीय तहका छुट्टाछुट्टै झाँकी प्रदर्शन गरिने छ ।