काठमाडौं । धुर्कोट गाउँपालिकामा दोस्रो चौमासिकसम्मको पूँजीगत खर्चको प्रगतिका आधारमा वडा नं ५ पहिलो स्थानमा परेको छ । उक्त वडाले ८९ दशमलव २९ प्रतिशत पूँजीगत खर्च गरेर अन्य वडाहरूलाई पछि पार्दै अग्रस्थान हासिल गरेको वडाध्यक्ष केशव भण्डारीले जानकारी दिए ।
वडा नं ५ का वडाध्यक्ष भण्डारीका अनुसार अन्य वडाको तुलनामा उच्च कार्यसम्पादन गर्दै विकास–निर्माणका कामलाई तीव्रता दिएकै कारण यो सफलता सम्भव भएको हो ।
यस अवधिमा वडा नं १ नयाँगाउँले ८३ दशमलव ४४ प्रतिशत खर्च गर्दै दोस्रो स्थान हासिल गरेको छ भने वडा नं ६ रजस्थलले ७४ दशमलव १४ प्रतिशत खर्च गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
गाउँपालिका उपाध्यक्ष सीता गिरीले उच्च खर्च प्रगति हासिल गर्ने वडाहरूले विकास योजनाको कार्यान्वयनमा सक्रियता देखाएको बताइन् । उनले न्यून प्रगति भएका वडाहरूले कार्यसम्पादन सुधार गर्न आवश्यक रहेकोले आगामी दिनमा सुधार गर्न सबैखाले सहयोग गर्ने बताइन् ।