मोरङको कटहरी गाउँपालिकाले १ हजारलाई रोजगार दिने

मोरङ । मोरङको कटहरी गाउँपालिकामा सूचीकृत एक हजार ३९ जना बेरोजगारलाई रोजगार उपलब्ध गराइने भएको छ । कटहरी गाउँपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र हेल्भेटासद्वारा संयुक्तरुपमा कटहरी–१ स्थित फलफूल तथा कृषि थोक बजारमा मङ्सिर १२ गते आयोजना हुने एकदिने ‘रोजगार मेला’मार्फत् रोजगार लगाइने भएको छ । गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले आज आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका, स्वदेशमा कामको खाजीमा रहेका तथा प्राविधिक एवं उच्च शिक्षा अध्ययन गरी बसेको युवाहरुलाई रोजगार उपलब्ध गराउन मेलाको आयोजना गरिएको बताए । उद्योगलाई आवश्यक पर्ने जनशक्तिलाई चाहिने सीप एवं तालिमसमेत पालिकाले उपलब्ध गराउने उनले जानकारी दिए । स्वदेशी दक्ष जनशक्तिलाई स्थानीय उद्योगमा व्यवस्थापन गर्नु मेलाको मुख्य उद्देश्य छ । महासङघमा आबद्ध मोरङ, सुनसरी र झापाका १५ उद्योगीहरुले आवश्यक जनशक्तिका सम्बन्धमा १० वटा स्टलमार्फत् जानकारी गराउनेछन् । मेलामा तीन हजार युवाहरुको सहभागिता रहने विश्वास गरिएको छ । पालिकामा हाल ठूला र मध्यमस्तरका ६५ उद्योग दर्ता रहेका छन् । रासस

नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए । उनका अनुसार नेपालगञ्जको बीपी चोकबाट अतिक्रमित संरचना हटाउन थालिएकामा यहाँको सदरलाईन, एकलैनी, ईदगाह रोड, सुर्खेत रोड, घरबारी टोल, धम्बोझी, फुलटेक्रा रोड र न्युरोडसम्म अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक सूचना जारी गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेपछि डोजर चलाउनु परेको नगरप्रमुख बिष्टको भनाइ थियो । सडक पेटी र नाला कब्जा गरेर व्यापार गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । यो अभियानले नगरको ट्राफिक व्यवस्थापन पनि सुदृढ हुने उनको भनाइ थियो ।

काठमाडौं महानगरपालिमा कृषियोग्य जग्गा शुन्य, कित्ताकाट खुल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाले जग्गाको वर्गीकरण गर्दा कृषियोज्य जग्गा शुन्य रहेको छ । काठमाडौं महानगरपालिकामा भू–उपयोग परिषद्ले महानगरभित्र कृषियोग्य जमिन नभेटेपछि कित्ताकाट खुलेको छ । बुधबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षता बसेको समितिको बैठकले भू–उपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा महानगरपालिका भित्र कृषि योग्य जमिन नभएको निर्णय गरेको थियो । महानगरपालिका क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण गरिएको मेयर शाहले जानकारी दिए । परिषद्को निर्णयअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशवण्डा फुक्का हुने उनको भनाइ छ । बैठकमा परिषद्का सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कार्यान्वयन समितिबाट आएको सिफारिसका विषयमा जानकारी गराउँदै कृषियोग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुने प्रस्ताव पेश गरेका थिए । बैठकमा परिषदका सदस्य एवं कार्यपालिका सदस्याहरु सहभागी भएका थिए । भू–उपयोग ऐन २०७६ अनुसार सांस्कृतिक तथा पुरातात्विक महत्त्व क्षेत्र, औद्योगिक क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, नदी खोला, ताल, सिमसार क्षेत्र, व्यवसायिक र आवासीय क्षेत्र गरी जमिनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्ने व्यवस्था छ । ऐन अनुसार पालिकाका प्रमुखको अध्यक्षता रहने परिषद्मा प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । ऐन बमोजिम कार्यपालिकाले परिषद्का रुपमा काम गर्नेछ । प्रमुखकै अध्यक्षतामा रहने कार्यान्वयन समितिमा पनि प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव हुने व्यवस्था छ ।