चन्द्रागिरिमा सडकबत्ती जडान सुरु
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा सडकबत्ती जडान सुरु गरिएको छ । ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र पाँच हजार सडकबत्ती जडान गर्न लागिएको हो । चालु आवमा विनियोजित बजेटबाट नगरपालिकाभरमा ती सडकबत्ती जडान थालिएको हो । नगरपालिकाले गत आवमा मुख्य राजमार्ग कलङ्की–नागढुङ्गा–पिपलामोड सडकखण्डमा सडकबत्ती जडान गरेको थियो । नगरपालिकाले बत्ती जडानको आवश्यकता रहेको क्षेत्रको पहिचान गरी नगरपालिकामा निवेदन दिनसमेत नगरवासीलाई आह्वान गरेको छ । सो नगरपालिकाले सडकबत्तीसँगै प्रत्येक वडाका विभिन्न सार्वजनिकस्थलमा सिसीटिभी तथा निःशुल्क वाइफाइ जडान पनि चाँडो सुरु गरिने जनाएको छ । नगरपालिकाले यसका लागि सम्पूर्ण खरिद प्रक्रिया सकिएकाले उचित स्थानको पहिचान गरी जडान प्रक्रियालाई चाँडो अगाडि बढाइने जनाएको छ जिपिएस र जिआइएस प्रणालीको नगर प्रोफाइलअन्तर्गत वडा र नगरपालिकाको प्रविधिमैत्री सेवा लिन यो निःशुल्क वाइफाइ सुविधाले मद्दत पुग्ने नगरपालिकाले विश्वास लिएको छ । रासस
बेनीमा नौ करोडका गौरवको आयोजना
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालू आर्थिक वर्ष २०७९-८० मा नौ करोड रुपैयाँ बजेट विनियोजन गरेको गौरवका आयोजना कार्यान्वयन थालेको छ । नगरपालिकाले महत्व र प्राथमिकता दिएका पाँचवटा सडक, तीनवटा खानेपानी, एक–एक भवन, खेलमैदान र चिस्यानगृह निर्माण गर्न विभिन्न शीर्षकबाट नौ करोड एक लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर बिमलरञ्जन कार्कीले सातवटा ठूला योजनाको ठेक्का लागिसकेको बताए । ‘ठेक्काबाट दुईवटा योजना निर्माण सुरु भइसकेका र पाँचवटा सुरु हुने तयारीमा छन्’, उनले भने, ‘तीनवटा योजनाको ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाने तयारीमा छौं।’ नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नं ६ अर्थुङ्गेबाट वडा नं ९ को सिमानासम्मको सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौँले ६६ लाख ९३ हजार तीन सय ९१ रुपैयाँमा ठेक्का पाएको छ । एक करोड २१ लाख रुपैयाँ लागत अनुमान गरिएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवा बेनीले रु ८५ लाख ४० हजारमा ठेक्का पाएको छ । गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ, नगरपालिकाको गौरवको योजना शीर्षकमा २५ लाख रुपैयाँ र समपूरक कोषबाट ४६ लाख विनियोजन गरेको थियो । यो योजनामार्फत वडा नं ६ को बाँसबोटसम्म तीन–तीन सय मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ । ७० लाख रुपैयाँ लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठूलोखोला सडक योजना खुसीहोम बिल्डर्सले रु ५८ लाखमा ठेक्का लिएको छ । वडा नं ४ र ६ को भूगोलमा ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो । २५ लाख रुपैयाँ विनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवती मालिका कन्ट्रक्सनले २० लाख ५० हजार रुपैयाँमा ठेक्का लिएको छ । २३ लाख ३० हजार रुपैयाँ विनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्र गर्ने योजना सोमरस निर्माण सेवाले २१ लाख २२ हजारमा ठेक्का पाएको छ । तल्लो तातोपानी बजारभित्र प्रिमिक्स प्रविधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ । ५० लाख रुपैयाँ विनियोजन भएको बेनी मिनी रङ्गशाला योजना निर्माणका लागि ३५ लाख ९३ हजारमा ठेक्का लिएको उत्तरगङ्गा निर्माण सेवाले पर्खाल र प्यारापिट निर्माण सुरु गरेको छ । नगरपालिकाको प्रशासकीय भवनको तला थप गर्ने योजनाको ठेक्का पाएको शङ्कर निर्माण सेवाले पनि काम तीव्ररूपमा गरिरहेको छ । ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको नगरपालिकाको भवनमा तला थप गर्ने योजना ५२ लाख ५८ हजार दुई सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सङ्घीय सरकारको एक–एक करोड रुपैयाँअनुदान प्राप्त गाजने–नयाँगाउँ–ढोलठान–पुलाडाँडा र पात्लेखेत काछलुङ खानेपानी आयोजनाको ठेक्का आह्वान भएको छ । विशेष अनुदानबाट ४९ लाख ३० हजार रुपैयाँ प्राप्त खबरा खानेपानी योजनाको अधुरो कामलाई पूर्णता दिन पनि ठेक्का आह्वान भएको छ । सङ्घीय सरकारको ७० लाख रुपैयाँ, प्रदेश सरकारको ५० लाख रुपैयाँ अनुदान र नगरपालिकाले ७० लाख रुपैयाँ विनियोजन गरेको चिस्यान गृह निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । बेनी नगरपालिका–४ सिङ्गामा तीन सय मेट्रिक टन क्षमताको फलफूल र तरकारी भण्डारण गर्ने चिस्यान गृह बनाउन लागिएको नगरप्रमुख सुरत केसीले बताए । १५ लाख रुपैयाँ सम्म बजेट विनियोजन भएका योजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले बताए ।
बालेन अब सिंहदरवार भित्र छिर्ने, कुनै पनि मन्त्रालय कारवाहीमा पर्न सक्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सिंहदरवार लगायत सार्वजनिक तथा निजी कार्यालय परिसर सरसफाइ गर्न निर्देशन दिएका छन् । सिंहदरवार भित्र भएका मन्त्रालय परिसरमा कुनै पनि फोहोरजन्य बस्तु फेला परे उक्त मन्त्रालयलाई महानगरपालिकाले कारवाहीमा गर्ने भएको हो । काठमाडौं महानगरपालिकाले महानगरको क्षेत्रभित्र रहेका सार्वजनिक तथा निजी संस्थाको परिसरमा रहेको फोहोर व्यवस्थापन नभएको देखिएमा कारवाही गर्ने चेतवानी दिएको हो । महानगरपालिकाले एक सूचना प्रकाशन गरी सार्वजनिक तथा निजी कार्यालय परिसरमा रहेको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्नुपर्ने छ । ‘महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा भएका फोहोर ३५ दिनभित्र आफैं व्यवस्थापन गर्नुपर्नेछ, नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर मैला आदिले उक्त स्थान मात्र नभई सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको छ,’ महानगरपालिकाको सूचनामा उल्लेख छ । फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य रहेको महानगरपालिकाले भनेको छ । यदि महानगरपालिकाको निर्देशन नमानेमा कानुनी कारवाही गर्ने चेतावनी महानगरपालिकाले दिएको हो । ‘फोहोर मैला व्यवस्थापन ऐन, २०६८ तथा नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला, अन्यथा प्रचलित कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नाम समेत सार्वजनिक गरिने छ,’ महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।