भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत सुनिश्चित गरेर योजना लिएरमात्रै फर्किन्छन् । गएको पाँच वर्षमा सम्भवतः सङ्घ र प्रदेशबाट सबैभन्दा बढी बजेट भित्र्याउन सफल हुने महानगरपालिकामा भरतपुर पर्दछ । भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र पनि हो । महानगर प्रमुख माओवादीकै केन्द्रीय सदस्य रेनु दाहाल छन् । निरन्तर विकास निर्माणमा लागिरहने दाहालको प्रयासकै कारण भरतपुरले विकासमा गति लिएको हो । त्यसो त भरतपुर महानगरपालिकाले प्रत्येक वर्ष पूर्वप्रधानमन्त्री, मुख्यमन्त्री, सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशक, राष्ट्रिय योजना आयोगलगायतका विकाससँग सम्बन्धित व्यक्तित्वलाई ल्याएर छलफल गर्ने गरेको छ । छलफलमा विगत वर्षका समीक्षा गर्दै आगामी वर्षका योजना र जनभावनाको समेत कदर हुने गरेको छ । विकास सरोकार राख्ने निकायका जिम्मेवार व्यक्ति बजेट दिन हिच्किचाउँदैनन् । पर्याप्त बजेट ल्याउने र त्यसलाई समुचित बाँडफाँट र सदुपयोग गरेकै कारण प्रत्येक वर्ष भरतपुर आउने बजेट बढ्दै गएको छ । भरतपुर महानगरपालिका-२ का निवर्तमान अध्यक्ष एवं नेकपा (एमाले) जिल्ला कमिटीका सदस्य पूर्णबहादुर श्रेष्ठ आफ्नो कार्यकालभरि महानगरमा लगेका योजना कुनै पनि नफर्किएको बताउँछन् । उनले भने, ‘पाँचवर्षे कार्यकालमा वडामा झण्डै ४५ करोड रुपैयाँको काम भएको छ ।’ महानगरले वडाका लागि विनियोजन गरेको वार्षिक रकम रु एक करोड पाँच लाखदेखि सुरु भएर पाँचौं वर्ष पुग्दै गर्दा एक करोड ७० लाख रुपैयाँसम्म पुगेको थियो । यद्यपि यसबाहेक उपयुक्त योजना वडाबाट लगेपछि फिर्ता हुन नपरेको श्रेष्ठको भनाइ छ । एमाले निर्वाचन-२ (ख) का सहसंयोजकसमेत रहेका श्रेष्ठले प्रमुख दाहालले कहिल्यै पनि योजना बाँडफाँटमा पूर्वाग्रह नगरेको बताए । भरतपुर महानगरपालिका-८ का निवर्तमान अध्यक्ष एवं जिल्लाका कांग्रेस नेता दामोदर न्यौपानेले वडाबाट निर्णय भएर गएका सबै योजना प्रमुख दाहालले सदर गरेर बजेट निकासा गराएको बताए । उनले भने, ‘हाम्रो वडामा मात्रै पछिल्लो एक वर्षमा २० करोड रुपैयाँभन्दा बढीको काम भएको छ ।’ वडा नं २२ का अध्यक्ष एवं नेकपा ९एकीकृत समाजवादी०का महानगर अध्यक्ष विष्णुराज महतो दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका छन् । उनको भनाइमा वडाध्यक्षका धेरै चाहना हुने भए पनि अधिकांशजसो सम्बोधन गर्ने काममा दाहाल सकारात्मक छन् । महानगरको बजेटभन्दा प्रदेश र सङ्घबाट धेरै बजेट ल्याएर वडामा विकासका काम भएको महतोको भनाइ छ । पटिहानी क्षेत्रमा पर्ने उक्त वडामा सडक, खेलकुदसँगै पर्यटन क्षेत्रमा धेरै विकास निर्माण भएका छन् । महानगर प्रमुख दाहाल आफ्नो अघिल्लो कार्यकालमा वडाध्यक्षले ल्याएका कुनै योजना फिर्ता गर्नु नपरेको बताउँछन् । केही वडाध्यक्षले योजना नल्याएपछि आफैँले फोन गरेर योजना ल्याउन लगाएर काम गरेको उनको भनाइ छ । त्यस्ता एकाध वडाध्यक्षबाहेक अधिकांशले महत्वपूर्ण योजना ल्याएर काम गरेको उनी बताउँछन् । दाहालले भने, ‘वडाध्यक्षको मागअनुसार आयोजनाका लागि बजेट उपलब्ध गराउन सकियो ।’ आफूले राजनीतिक दलको नेताको हिसाबले नभएर समान दृष्टिकोणबाट न्यायोचित बजेट वितरण गरेको उनको भनाइ छ । महानगरभित्रका सडकसँगै भौतिक पूर्वाधारको अवस्था जो-कोहीले पनि देख्न सक्ने उनले बताए । कोही एक व्यक्तिले महत्वपूर्ण आयोजना लिएर आउँदासमेत आफूले सम्बोधन गर्ने गरेको दाहाल बताउँछन् । उनले भने, ‘मैले व्यक्ति र टोल सुधार समितिसँग पनि आयोजना माग गरेर सम्बोधन गरेकी छु ।’ आफ्नो दोस्रो कार्यकालमा सर्वाधिक मतका साथ विजयी हुनुको प्रमुख कारण विकास निर्माण भएको उनको बुझाइ छ । दाहालले आफ्नो पाँच वर्षको अवधिमा महानगरबाट २० अर्ब रुपैयाँभन्दा बढीको काम गर्दैगर्दा प्रदेश र सङ्घबाट ४५ अर्ब रुपैयाँभन्दा बढी बजेट ल्याउन सफल भएको बताए । रासस

काठमाडौं उपत्यकामा हैजा फैलिएपछि महानगरले लगायो सडकमा खानेकुरा बेच्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र हैजा फैलिएपछि सडकमा खानेकुरा बेच्न निषेध गरिएको छ । महानगरपालिकाले हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको हो । हैजा फैलिएपछि महानगर पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामुलक र उपचारका कार्यक्रम गरिरहेको छ । सो कार्यक्रममा हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय भएको महानगरपालिकाले बताएको छ । हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग पनि महानगरपालिकाले सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै, पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । महानगरपालिका भित्र पनि हैजा फौलिएसँगै हटलाइनमा यसको लक्ष्यण बुझन् फोन आउने क्रमम बढेको छ । महानगरले कल सेन्टरमा स्वास्थ्य सम्बन्धी सूचना दिन २४ घण्टा टोल फ्रि नंम्बर ११८० सञ्चालन गरेको छ ।

मेयर बालेनले किराना र मासु व्यापारीलाई बढाए कर, यस्तो छ नयाँ दर (सूचिसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कृषि तथा खाद्यान्न व्यापारमा कर बढाएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शुक्रबार आर्थिक विधेयक सार्वजनिक गर्दै कृषि तथा खाद्यान्नको व्यापारमा कर बढाएका हुन् । उनले अधिकतम २ हजार रुपैयाँसम्म कर बढाएका छन् । मेयर बालेनले सार्वजनिक गरेको आर्थिक विधेयकका अनुसार अब खुद्रा किराना पसल सञ्चालन गर्नेले २ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ । यसअघि यस्तो कर १२ सय रुपैयाँ मात्रै थियो । यसअघि प्रशोधित मासुजन्य बिक्री व्यवसायमा लाग्दै आएको ३ हजार रुपैयाँ कर अब ५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ भने यसअघि माछा/मासु तथा अण्डा खुद्रा बिक्री १५ सय रुपैयाँ लाग्दै आएको कर २५ सय रुपैयाँ लाग्ने भएको छ । यस्तै, अब थोक किराना पसल गर्नेले ५ हजार, खाद्यान्न बिक्री गर्नेले १० हजार, मौरी पालन गर्नेले २ हजार र कुखुराका चल्ला बिक्री गर्नेले ३ हजार र फलफुल तरकारी खुद्रा १ हजार रुपैयाँ कर तिर्नु पर्ने भएको छ । यस्तै, फलफुल तरकारी थोक व्यापार गर्नेले हजार र माछा मासु तथा अण्डा खुद्रा बिक्री गर्नेले २५ सय रुपैयाँ कर तिर्नु पर्ने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण समस्यामा परेका व्यवसायीलाई एकै पटक दोब्बरले कर बढाउँदा समस्यामा पर्ने देखिन्छ । कर बढाएसँगै अब खाद्यान्न तथा माछा, मासु तथा अण्डाकाे मूल्य पनि बढ्ने भएकाे छ ।