काठमाडौं महानगरको वार्षिक खरिद गुरुयोजनाका लागि छलफल सम्पन्न
काठमाडौं । काठमाडौं महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ र स्लाइसिङ्का विषयमा छलफल भएको छ । आज महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका अधिकारीविच छलफल भएको हो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महानगरको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना र खरिद गुरुयोजना अन्तरसम्बन्धित भएको बताए । ‘निर्माण कार्य गर्नु पर्ने सार्वजनिक निर्माण विभाग र सम्पदा तथा पर्यटन विभागले अलि धेरै काम गर्नुपर्नेछ,’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने, ‘मंसिरबाट धेरै काम सुरु हुने विभागीय प्रमुखहरुको भनाइ छ, यस अघि थालिएका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ, पछाडि फर्किनु पर्दैन, बाँकी योजनालाई प्याकेजिङ् गरेर एउटै प्याकेजबाट काम गरौँ, यसबाट नतिजा मापन गर्न सजिलो हुन्छ ।’ छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको थियो । यस क्रममा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रुपमा प्रस्ताव पेश भएको थियो । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना प्याकेजिङ् गर्दा हुने सवल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राखेका थिए । चालुृ आर्थिक बर्षका लागि महानगरले १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ । यी योजनालाई खरिद सम्बन्धी कार्यविभाजन र खरिद कार्यको बर्गीकरणअनुसार प्याकेजिङ् गरेर १ हजारको हाराहारीमा राख्न सकिने देखिएको छ । परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाईका प्रमुख धु्रव काफ्लेले भने, ‘योजनाको प्याकेजिङ् र स्लाइसिङ् नयाँ अभ्यास हो, यसभन्दा तलका वार्षिक खरिद योजना र खरिद गुरुयोजनामा हामीले यस अघि पनि काम गरेका थियौँ, यस बर्षबाट प्याकेजिङ्को काम थालिएको छ ।’
अव्यवस्थित फुटपाथ र होर्डिङ बोर्ड हटाउन महानगरले साढे दुई सय जनालाई हायर गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले म्यादी प्रहरी राख्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायलाई व्यवस्थित गर्नको लागि एक वर्षका लागि म्यादी प्रहरी राख्ने तयारी गरेको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु नाथ पाण्डेले म्यादी प्रहरी राख्नका लागि तयारी भइरहेको बताए । फुटपाथ नियन्त्रण र सहरी व्यवस्थापनमा अहिले भएको जनशक्ति कम भएको भन्दै महानगरले जनशक्ति थप गर्ने तयारी गरिरहेको उनको भनाइ छ । प्रहरी प्रमुख पाण्डेका अनुसार महानगरले एक सय ६२ जना म्यादी प्रहरी भर्ना गर्ने योजना बनाएको छ । महानगरसँग अहिले एक सय ७१ जना नगर प्रहरी छन् । उनले अबको एक महिनाभित्र म्यादी प्रहरीको छनोट प्रक्रिया सक्ने बताए । ‘हामीसँग अहिले जनशक्तिको कम छ, जनशक्ती कम भएकै कारण योजना अनुरूपमा काम गर्न सकिरहेका छैनौं, भएको जनशक्ति परिचालन गरी महानगर भित्र सुरक्षा गर्नुको साथै फुटपाथ व्यवसायीलाई व्यवस्थित गर्नको लागि चोक चोकमा नगर प्रहरी परिचालन गरेका छौं,’ उनले भने । नगर प्रहरीहरूले बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म काम गर्दै आएको पनि पाण्डेले जानकारी दिए । म्यादी प्रहरीलाई नियुक्त गरी चोकचोकमा राख्ने योजनामा महानगरको छ । फुटपाथमा भइरहेको व्यवसायलाई र अनधिकृत भौतिक पूर्वाधार हटाउने अभियानलाई महानगरले निरन्तरता दिएको छ । काठमाडौंको सडकपेटी तथा फुटपाथमा मानिसहरुले व्यवसाय गर्न लागेको धेरै समय भइसकेको छ । फुटपाथमा भइरहेको व्यवसायलाई व्यवस्थित गर्नुपर्छ भनेर विषय उठ्न थालेको पनि झण्डै ३ दशक भएको छ । काठमाडौंको फुटपाथ व्यवसायलाई दीगो व्यवस्थापन गर्ने विषय चुनौतिका रुपमा रहेको छ । ‘हाम्रो नयाँ उद्देश्य भनेको व्यवस्थित फुटपाथ बनाउने हो, केही समयपछि दैनिक रूपमा हामी माइकिङ गर्छौं, त्यसपछि हटाउँछौं,’ उनले भने । होडिङ बोर्ड हटाउन १०० सय हायर काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको होर्डिङ बोर्ड (परिचय पाटी) हटाउने भएको छ । महानगरपालिकाले ३० वर्ग फुट भन्दा माथिका सबै परिचय पाटी हटाउने भएको हो । सो पाटी हटाउनको लागि काठमाडौं महानगरपालिकाले एक सय जना कर्मचारीहरू केही समयको लागि राख्ने भएको छ । कर्मचारी राखेर परिचय पाटी हटाउने योजनामा महानगर छ । ‘हामीले एक सय जना मान्छे हायर गर्छौं, उनीहरूले १०÷१० जनाको टोली बनाई १० वटा समूह बनाउँछौं, विभिन्न ठाउँमा उनीहरुलाई पठाउँछौं,’ उनले भने ।
सबै पालिकाका गतिविधिको निगरानी सिसिटिभीबाट
जाजरकोट । सदरमुकामसहित सबै पालिकाकाबाटै सिसिटिभी क्यामराद्वारा निगरानी सुरु गर्न लागिएको छ । भेरी नगरपालिको सदरमुकाममा तीन वर्षदेखि बिग्रिएका क्यामरा मर्मत गरेर सञ्चालनमा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष निरौलाले जानकारी दिए । पालिकाको सहकार्यमा प्रहरीले सबै पालिकाको मुकाममा सिसिटिभी क्यामरा जडान गर्न लागेको उनले बताए । शान्तिसुरक्षा तथा अनुसन्धानलाई प्रभावकारी बनाउन क्यामरा जडान गर्नुपरेको उनले बताए । शिवालय गाउँपालिकाको सहयोगमा छेडाबजारमा, नलगाड नगरपालिकाको सहयोगमा दल्लीमा, कुशे गाउँपालिकाको सहयोगमा भाम्रमा, छेडागाडको सहयोगमा मनघाट तथा बारेकोटको बारेकोटमा र जुनिचाँदेको सहयोगमा त्यहाँको मुकाममा सिसिटिभी जडान गर्न थालिएको हो । मुख्यमुख्य नाकामा भने सिसिटिभीबाट निगरानी गर्न थालिएको छ । भिडभाड हुने ठाउँमा विभिन्न आपराधिक घटना हुने भएकाले सिसिटिभीको सहयोग लिनुपरेको बताइएको छ ।