काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले हस्तकला क्षेत्रमा छलाङ मार्ने योजना राखेर अगाडि बढेको बताएका छन् । बुधबार नेपाल हस्तकला महासंघको स्वर्ण वर्षको समापन तथा १०औं हस्तकला दिवसको शुभारम्भ समारोह कार्यक्रममा बोल्दै मेयर महर्जनले यस्तो बताएका हुन् ।
ललितपुर क्षेत्रमा उत्पादित हस्तकलाका सामानहरू राख्ने कोसेली घर पाटन ढोकामा स्थापना गरेको पनि महर्जनले बताए । महानगरपालिका विश्वको ३५ औं हस्तकला सहर हो ।
महानगरलाई विश्व शिल्प परिषद्ले हस्तकला सहर भनेर सदस्यता प्रदान गरेकाे छ । सदस्यता प्राप्त गरेपछि हस्तकलामा राम्रो काम गर्ने सोचमा राखेको तर सदस्यता प्राप्त गरे पनि कोभिड–१९ का कारण राम्रो काम गर्न नसकेको महर्जनले बताए । अब भने हस्तकला क्षेत्रमा महानगरको छलाङ मार्ने याेजना रहेकाे महर्जन दाबीको छ ।
‘हामीसँग हस्तकलाका सामान उत्पादन गर्न सक्ने अनुभव छैन, एकादुईसँग राम्रो अनुभव छ, तर त्यसले पुग्दैन, हामी हस्तकलाकाे कार्यलाई अझ चुस्तदुरुस्त बनाउन हस्तकला संघसँग सहकार्य गरेर अगाडी बढ्दैछौं,’ उनले भने ।
मेयर महर्जनका अनुसार माघको पहिलो हप्ता नै कोसेली घरकाे उद्घाटन गर्ने तयारी छ । महानगर भित्र पर्यटकको बसाइ छोटिएको कारण हस्तकलाका सामानले बजार नपाएकाे उनले बताए ।
पाटनमा भिजिट गर्न आउने पर्यटकहरूले हस्तकलाका सामान खरिद गर्न नपाइएको गुनासोहरू आइरहेको पनि महर्जनले बताए । सोही कुरालाई सम्बोधन गरेर महानगरले इभी बस सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
इभी बस महानगर भित्र सञ्चालन गर्ने योजना सफल भने भइसकेको छैन । तर, अब चाँडै नै इभी बस महानगर भित्र सञ्चालन गर्ने तयारी रहेको पनि महर्जनले बताए ।