काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ जना न्यायिक सहजकर्ता (इन्टर्न) मागेको छ । महानगरपालिकाको कानून तथा मानव अधिकार विभागले न्यायिक समितिअन्तर्गत निःशुल्क कानूनी सेवा प्रवाह तथा न्यायिक कार्यमा सहजीकरण गर्ने उद्देश्यले ३५ जना इन्टर्न छनोट गर्न लागेको हो ।
महानगरपालिकाले इच्छुक तथा योग्य विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । छनोट भएका विद्यार्थीले महानगरपालिकाको चालु आर्थिक वर्ष २०८३/८४ मा ६ महिनासम्म इन्टर्नका रूपमा काम गर्ने अवसर पाउनेछन् ।
महानगरपालिकाको न्यायिक समितिअन्तर्गत कानून तथा मानव अधिकार विभाग तथा विभिन्न वडा कार्यालयमा रहेर इन्टर्नहरूले सेवाग्राहीलाई निःशुल्क कानूनी सेवा प्रदान गर्न र न्यायिक प्रक्रियामा सहजीकरण गर्न सहयोग गर्नेछन् ।
इच्छुक विद्यार्थीले १५ दिनभित्र महानगरपालिकाको अनलाइन आवेदन प्रणालीमार्फत निवेदन पेस गर्न सक्नेछन् । प्राप्त आवेदनमध्येबाट योग्य उम्मेदवारको संक्षिप्त सूची तयार गरी अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिने महानगरपालिकाले जनाएको छ । छनोट हुने इन्टर्नले पाउने सेवा तथा सुविधासम्बन्धी व्यवस्था महानगरपालिकाको निर्णयअनुसार हुनेछ ।