एक महिनादेखि बन्द नुवाकोटकाे क्रसर उद्योग सञ्चालनमा अायाे
काठमाडौं । एक महिनादेखि बन्द रहेका नुवाकोटका क्रसर उद्योग सर्वोच्च र उच्च अदालतको आदेशमा सञ्चालनमा आएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय नुवाकोटमा दर्ता भएर सञ्चालनमा रहेका तर, दुई वर्षदेखि नवीकरण नहुँदा मापदण्ड उल्लंघन भएको भन्दै गत वैशाख २५ गते सर्वोच्चको आदेशमा बन्द भएका ती उद्योग पुनःअदालतको आदेशमा सञ्चालनमा आएको प्रजिअ उद्धबहादुर थापाले बताए । अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा रहेको र त्यसबाट वातावरणीय क्षति पुगेको दाबी गर्दै बेलकोटगढी नगरपालिका– ८ का राजेन्द्र चित्रकारले माग गरेको उत्प्रेषण परमादेशअनुसार सर्वोच्चले बन्द गराउन दिएको आदेशले रोकिँदै आएकोमा उच्च अदालत पाटनको निषेधाज्ञा आदेश र सर्वोच्च अदालतको प्रतिषेध आदेशमार्फत सञ्चालनमा आएको हो । यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको सयुक्त इजलाशले उक्त स्थानको त्रिशूली, तादी लगायतका नदीबाट उत्खनन् गरी सञ्चालनमा रहेका क्रसरले घरेलु उद्योग शाखामा नवीकरण नभएको र कच्चापदार्थ उत्खननमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) तथा प्रारम्भिक वातावरणीय परीक्षण (आइई) समेतको पालना नभएको निवेदकको दाबी अनुसार अदालतले क्रसर उद्योग बन्द गराउन आदेश दिएपछि गत जेठ १ देखि प्रशासनले बन्द गराएको थियो । त्यसको विरुद्धमा व्यवसायीकोतर्फबाट नाट्यश्वरी रोडाढंगा उद्योगले नुवाकोट प्रशासनलाई विपक्षी बनाएर उच्च अदालतमा दर्ता गराएको निषेधाज्ञामा न्यायाधीशद्वय भानुभक्त शर्मा र रमेशकुमार पोखरेलको अन्तरिम आदेशमार्फत सञ्चालनमा रोक नलगाउन विपक्षीलाई आदेश दिनुभएको हो । यस्तै, त्रिशूली बालुवा प्रशोधन उद्योगका सञ्चालक दाताराम अकौलिया र विभिन्न आठ वटा क्रसर व्यवसायीकोतर्फबाट निरञ्जना रोडा उद्योग प्रालिका सञ्चालक शिवप्रसाद अधिकारी सहितले सर्वोच्चमा छुट्टाछुट्टै दर्ता गराएको प्रतिषेधमा न्यायाधीश विश्वम्भर श्रेष्ठले आइई गरी दर्ता भएका उद्योगलाई मुद्दाको अन्तिम किनारा नभएसम्म सञ्चालन गर्न दिनु भन्ने अन्तरिम आदेश दिएअनुसार एक महिनादेखि बन्द क्रसर उद्योग सञ्चालनमा आएका छन् । उद्योग बन्द हुँदा निर्माण सामग्री अभावले नुवाकोट र रसुवामा सञ्चालित रु १५ अर्ब भन्दा बढीको विकास निर्माणका योजना प्रभावित भएको छ । यसैगरी, रसुवाका २० हजार र नुवाकोटका ७० हजार परिवारको भूकम्पले क्षति पुगेको घर पुनःनिर्माण रोकिएको र जिल्ला समन्वय जिससले लगाएको रु १० करोड २४ लाखको निकासी कर समेत जोखिममा परेको दाबी अनुसार उच्च र सर्वोच्चको छुट्टाछट्टै तीनवटा आदेशले खुला भएको हो । रासस
केपी ओलीको चीन भ्रमणसँगै रेल निर्माणले गति लिन्छः भीम रावल
काठमाडौं । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणसँगै रेल निर्माणले गति लिने दावी गरेका छन् । उनले ओलीको चीन भ्रमणसँगै केरुङ–काठमाडौं रेलमार्ग निर्माणले गति लिने दावी गरेका हुन् । उनले रसुवागढी हुँदै नेपाल र चीन जोड्ने रेल निर्माणको सहमतिलाई ठोस रुपमा कार्यान्वयन गर्ने पहल पनि यो पटकको भ्रमणमा हुने विश्वास दिलाए । उनले भने,‘अहिलेसम्म आएको जानकारी अनुसार वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री हुनु भएको बेलामा १० बुँदे सहमति भएका थिए, ती १० विषयहरुका साथसाथै अरु थप विषयहरुमापनि सहमति तथा सम्झौता हुने कुरा जानकारीमा आएको छ, प्रधानमन्त्रीको यो भ्रमणसँगै रेल निर्माण सहमतिले गति लिन्छ ।’ राजधानीमा आयोजीत एक कार्यक्रममा रावलले चीनसँग पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने पनि जनाए । यसअघि चीनसँग भएको १० बुँदे सहमतिहरुमा सबैभन्दा महत्वपूर्ण, उल्लेखनीय र दिर्घकालिन चरित्रको विषयहरुमा नेपालले चीनीयाँ भूमी भएर पारवाहन सुविधाको उपभोग गर्न पाउने कुरा रहेको बताउँदै रावलले भने,‘हामीले यसभन्दा अगाडि जहिल्यैपनि पारवाहन सुविधाको कुरा गर्नेवित्तिकै भारतमात्रै गर्ने कुरा थियो, तर अब त्यसो होईन, नेपालले भारतबाटपनि चीनबाटपनि भुपरिवेष्ठित मुलुकको हैसियतबाट पारवाहन सुविधा लिनसक्छ, पाउँछ, यो अन्र्तराष्ट्रिय कानूनबाट प्रदत्त कुरा हो भन्ने कुरालाई हामीले स्थापित गरेका छौं ।’
स्याङजामा पाँच डिब्बे रेलसहितको गोरखा स्मारक बन्दै, ९ अर्बकाे लागत
स्याङजा । कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम तथा दोस्रो विश्वयुद्धका क्रममा दिवंगत हुने ६० हजार गोर्खाली सैनिकको सम्झनामा स्मारकसहित संग्रहालय तथा पाँच डिब्बाको रेल, गोर्खा भ्यू टावर र जातीय सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको हो । तीनसय रोपनी जग्गामा निर्माण गरिने स्मारकमा भौतिक संरचना तयार गर्न कूल नौ अर्ब रुपैयाँ खर्च हुने र हालसम्म ब्रिटिश सेनामा कार्यरत नेपालीले नौ करोड रुपैयाँ तथा शहरी विकास मन्त्रालयबाट पाँच करोड रुपैयाँ संकलन भएको स्मारक निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङले जानकारी दिए । रोजगारीको क्रममा जन्मभूमि छोडी ब्रिटिश सेनामा गएका गोर्खाली युवा ब्रिटिश साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएको बताउँदै उनले तिनै वीर गोर्खालीको समग्र विवरण स्मारकमा समेटिने जानकारी दिएका छन् । नेपालमा जातीय सद्भाव कायम गर्ने उद्देश्यका साथ १७ जातिका मानिसलाई लक्षित गरी लगभग ३०० जना क्षमताको जातीय अनुसन्धान केन्द्र भवन, अत्याधुनिक टावर, रेष्टुराँसमेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए । उनका अनुसार साल्मेडाँडाबाट मट्टिखान हुँदै कास्कीको दक्षिणभेगस्थित भरतपोखरीसम्म करीब १५ देखि २० किलोमिटर दूरीको पाँच डिब्बाको रेल सञ्चालनमा ल्याउने तयारीमा समिति जुटेको छ । पोखराको दक्षिणी भेगमा पर्ने उक्त क्षेत्रबाट रेलमा शयर गर्दै धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृंखला एवं फेवातालसहित पोखरा बजारको दृष्यावलोकन गर्न सकिने उनले बताए । यसैबीच, प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त क्षेत्रको निरीक्षण गर्दै स्मारक प्रदेशकै महत्वपूर्ण गहना हुने बताए । उनले निर्माणाधीन संरचना पूरा भएसँगै यसको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन हुने विश्वास व्यक्त गरेका छन् । वीर नेपाली गोर्खालीकै कारण नेपालको शिर उच्च रहेको बताउँदै उनले स्मारक निर्माणले ती वीर गौर्खालीको योगदानलाई स्मरण गराउनुका साथै गौरवको अनुभूति हुने उल्लेख गरेका छन् । उनले प्रदेश सरकारका तर्फबाट स्मारक निर्माणलाई सहयोग पुर्याउने बताए । रासस