काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका आफ्ना कर्मचारीलाई उपचार खर्चसहित करिब २० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
प्राधिकरण सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकममा उपचार खर्च र प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसारको क्षतिपूर्ति समावेश छ ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका-१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर गत चैत ११ गते विद्युत् दुर्घटनामा परी घाइते भएका थिए ।
१५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा मगरलाई करेन्ट लागेको थियो । दुर्घटनापछि उनलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो ।
विद्युत् प्राधिकरणको विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार घाइते कर्मचारीलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।
मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ विनियमावलीअनुसार सम्बन्धित वितरण केन्द्रमार्फत उनलाई उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले जानकारी दिए ।
प्राधिकरणले कार्यक्षेत्रमा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारीको उपचार तथा क्षतिपूर्तिका लागि विनियमावलीअनुसार रकम उपलब्ध गराउँदै आएको छ ।