काठमाडौं । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण निर्माणाधीन लाङटाङ खोला र माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनामा गम्भीर क्षति पुगेपछि दुवै आयोजनासँग सम्बन्धित कम्पनीको ऋण मूल्याङ्कनमा नकारात्मक असर पर्न सक्ने देखिएको छ । बाढीबाट आयोजनाका संरचनामा क्षति पुगेपछि कम्पनीको ऋण तिर्न सक्ने क्षमता तथा वित्तीय अवस्थामाथि नकारात्मक असर पर्न सक्ने भन्दै इक्रा नेपालले दुवै कम्पनीको मूल्याङ्कनलाई नकारात्मक प्रभावको निगरानीमा राखेको हो ।
इक्रा नेपालले आयोजनामा भएको वास्तविक क्षतिको पूर्ण विवरण, बीमाबाट प्राप्त हुने क्षतिपूर्ति, पुनः निर्माणका लागि आवश्यक थप रकम, विद्युत् उत्पादन सुरु हुने नयाँ समयतालिका तथा आयोजनाको संशोधित लागतका आधारमा कम्पनीको ऋणसम्बन्धी अवस्थाको पुनरावलोकन गर्ने जनाएको छ । साथै, बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकले ऋण पुनर्तालिकीकरण वा ऋणको संरचना परिवर्तनका विषयमा लिने निर्णय पनि कम्पनीहरूको आगामी वित्तीय अवस्थाका लागि महत्वपूर्ण हुने इक्रा नेपालले जनाएको छ ।
लाङटाङ खोला जलविद्युत् आयोजना
रसुवा जिल्लामा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा भदौ १० गते आएको भोटेकोशी बाढीले गम्भीर क्षति पुर्याएको छ । बाढीका कारण आयोजनाका महत्वपूर्ण संरचनामा क्षति पुगेको छ भने आयोजनामा कार्यरत करिब १०० जना कामदार तथा कर्मचारी अझै बेपत्ता रहेको जनाइएको छ ।
आयोजना निर्माणको अन्तिम चरणमा पुगिसकेको अवस्थामा बाढी आएपछि विद्युत् उत्पादन सुरु गर्ने समय पछाडि धकेलिएको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माणका लागि थप खर्च आवश्यक पर्ने भएकाले आयोजनाको कुल लागतसमेत बढ्ने कम्पनीले जनाएको छ ।
बीमा कम्पनीबाट प्राप्त हुने क्षतिपूर्तिले क्षतिको सम्पूर्ण रकम नपुगेमा बाँकी रकम आयोजनाले नै व्यहोर्नुपर्ने हुन्छ । पुनःनिर्माण तथा पुनःस्थापनाका क्रममा थप रकम आवश्यक पर्नुका साथै सो अवधिमा ऋणको ब्याज खर्चसमेत बढ्न सक्ने जोखिम रहेको छ ।
बाढीका कारण आयोजनास्थलसम्म पुग्ने सडक तथा आसपासका विद्युत् प्रसारण संरचनामा समेत ठूलो क्षति पुगेको बताइएको छ । यसले आयोजना पुनःनिर्माणमा लाग्ने समय र खर्च बढाउनुका साथै उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउनसमेत समस्या उत्पन्न गर्न सक्ने देखिएको छ ।
मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले रसुवा जिल्लामा लाङटाङ खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सन् २००५ फेब्रुअरीमा स्थापना भएको कम्पनीले नदीको बहावमा आधारित उक्त आयोजना सुरुमा ६४.७५ प्रतिशत सम्भाव्यता बहावका आधारमा २० मेगावाट क्षमतामा विकास गर्ने योजना बनाएको थियो । पछिल्लो चरणमा आयोजनालाई ४० प्रतिशत सम्भाव्यता बहावका आधारमा पुनःडिजाइन गरी क्षमता बढाएर ३० मेगावाट पुर्याउने प्रस्ताव गरिएको थियो ।
पछिल्लो ऋण मूल्याङ्कनका क्रममा आयोजनाको संशोधित अनुमानित लागत करिब ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ रहेको थियो । उक्त लागतको ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीबाट जुटाउने योजना थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ८८ करोड २० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ३ अर्ब ७८ करोड २० लाख रुपैयाँ दीर्घकालीन र १० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।
गत माघसम्म आयोजनाको वित्तीय प्रगति करिब ९५ प्रतिशत पुगेको थियो । सो समयमा आयोजना पानी परीक्षणको चरणमा रहेको थियो भने विद्युत् उत्पादन सुरु गर्नुअघि गरिने परीक्षण तथा तयारीका काम अघि बढिरहेका थिए । उक्त अवधिसम्म कम्पनीको स्वपुँजी करिब १ अर्ब ३ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।
कम्पनीको सम्पूर्ण स्वपुँजी प्रवद्र्धकहरूको स्वामित्वमा रहेको थियो । प्रमुख प्रवद्र्धकमध्ये कृष्णप्रसाद आचार्यको २८ प्रतिशत, सिड इनर्जी प्रालिको १५ प्रतिशत, सुदीप आचार्यको १२ प्रतिशत, विजयमोहन भट्टराईको ९ प्रतिशत र एक्सोलोटस एलएलसीको ७ प्रतिशत हिस्सा रहेको थियो । बाँकी करिब २९ प्रतिशत स्वपुँजी अन्य प्रवद्र्धकहरूको स्वामित्वमा रहेको थियो । प्रवद्र्धकहरूले आयोजनाका लागि आवश्यक कुल करिब १ अर्ब २९ करोड ४० लाख रुपैयाँ स्वपुँजीमध्ये करिब ८० प्रतिशत रकम लगानी गरिसकेका थिए । बाढीबाट भएको क्षतिका कारण निर्माण, पुनःस्थापना तथा विद्युत् उत्पादन सुरु गर्ने समयतालिकामा थप असर पर्न सक्ने देखिएको छ ।
माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना, त्रिशूली ३ बी केन्द्रअन्तर्गतको २२० केभी विद्युत् उपकेन्द्र तथा माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् । यसपछि त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको ऋण मूल्याङ्कनलाई पनि नकारात्मक प्रभावको निगरानीमा राखिएको छ ।
बाढीबाट भएको कुल क्षतिको विस्तृत मूल्याङ्कन अझै पूरा हुन बाँकी रहेको छ । क्षतिको पूर्ण विवरण प्राप्त नभएसम्म कम्पनीको ऋण तिर्न सक्ने क्षमता तथा समग्र वित्तीय अवस्थालाई निगरानीमा राखिने जनाइएको छ । आयोजनाका क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःनिर्माण गर्न लाग्ने समय र बीमा दाबीमार्फत प्राप्त हुने क्षतिपूर्तिको रकम कम्पनीको आगामी वित्तीय अवस्थाका लागि महत्वपूर्ण हुने देखिएको छ ।
त्यस्तै, त्रिशूली जलविद्युत् कम्पनीले उचित समयभित्र निर्माण कार्य पुनः सुरु गरी विद्युत् उत्पादन सञ्चालनमा ल्याउन सक्ने क्षमता, मर्मत तथा पुनःस्थापनाको अवधिमा ऋणको किस्ता तथा ब्याज भुक्तानी गर्न प्रवद्र्धकबाट प्राप्त हुने सहयोग, बीमा रकमको पर्याप्तता तथा समयमै हुने भुक्तानीलाई महत्वपूर्ण मानिएको छ ।
बाढीबाट उत्पन्न वित्तीय दबाबलाई सम्बोधन गर्न बैंक तथा वित्तीय संस्थाले ऋणको भुक्तानी अवधि थप गर्ने, किस्ता पुनःनिर्धारण गर्ने वा ऋण पुनर्संरचना गर्ने विषयमा लिने निर्णय पनि कम्पनीको ऋण मूल्याङ्कनका लागि महत्वपूर्ण बन्नेछ ।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले बागमती प्रदेशका नुवाकोट र रसुवा जिल्लामा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सन् २०११ को मे महिनामा स्थापना भएको यो आयोजना ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सहायक आयोजना हो । माथिल्लो त्रिशूली ३ ए ले सन् २०१९ को जुलाईदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।
माथिल्लो त्रिशूली ३ बी नदीको बहावमा आधारित आयोजना हो । आयोजना ७० प्रतिशत सम्भाव्यता बहावका आधारमा विकास गरिएको छ भने यसको विद्युत् उत्पादन क्षमताको उपयोग दर ९० प्रतिशत रहने अनुमान गरिएको छ । आयोजनाको विद्युत् खरिद सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग भएको छ ।
सम्झौताअनुसार वर्षको ६ महिना सुख्खायाम र ६ महिना वर्षायाममा विद्युत् बिक्री गर्ने व्यवस्था गरिएको छ । सुख्खायामको विद्युत् हिस्सा करिब ४६ प्रतिशत रहनेछ । आयोजनाको कुल उचाइ भिन्नता करिब ८९ मिटर, पानीको डिजाइन बहाव ५१ घनमिटर प्रतिसेकेन्ड तथा वार्षिक विद्युत् उत्पादन करिब २९ करोड ३० लाख युनिट हुने अपेक्षा गरिएको छ।
आयोजनाको अनुमानित लागत हालै संशोधन गरी करिब ११ अर्ब ४६ करोड ६० लाख रुपैयाँ पुर्याइएको छ । अघिल्लो मूल्याङ्कनका क्रममा आयोजनाको अनुमानित लागत करिब ११ अर्ब ४२ करोड १० लाख रुपैयाँ थियो । अघिल्लो अनुमानको तुलनामा लागत करिब ०.३९ प्रतिशतले बढेको हो । संशोधित लागतको करिब ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट जुटाउने योजना रहेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब २० करोड १० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ८ अर्ब ७ करोड ८० लाख रुपैयाँ दीर्घकालीन र १२ करोड ३० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । वैशाखसम्म कम्पनीको चुक्ता स्वपुँजी करिब १ अर्ब ७८ करोड ९० लाख रुपैयाँ पुगेको थियो। यो आयोजनाका लागि आवश्यक कुल स्वपुँजीको करिब ७२ प्रतिशत हो।
आयोजनाका प्रमुख प्रवद्र्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आवश्यक कुल स्वपुँजीको करिब ६० प्रतिशत रकम लगानी गरिसकेका छन्। सर्वसाधारणले पनि आवश्यक कुल स्वपुँजीको करिब १२ प्रतिशत रकम लगानी गरेका छन्। सार्वजनिक रूपमा बिक्री गरिएका सेयरमध्ये केही रकम अझै भुक्तानी हुन बाँकी रहेको जनाइएको छ।
बाँकी करिब २८ प्रतिशत स्वपुँजी भने जुटाउन बाँकी छ। उक्त हिस्सामा रसुवा र नुवाकोटका स्थानीय तह, दुवै जिल्लाका प्रभावित स्थानीय बासिन्दा, अझै सार्वजनिक रूपमा शेयर बिक्री गर्न बाँकी सर्वसाधारण, जलविद्युत् क्षेत्रमा लगानी गर्ने उद्देश्यले रसुवा र नुवाकोटमा स्थापना भएका कम्पनी तथा सहकारी संस्था तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कर्मचारीलगायतको सहभागिता रहनेछ।