काठमाडौं । बजारमा खाना पकाउने ग्याससँगै चिनीको पनि हाहाकार मच्चिएको छ । उपभोक्ताहरु बजारमा ग्यास र चिनी नपाएर सडकमा भौतारिरहेका छन् । नेपाल चिनी उद्योग संघका अनुसार स्वदेशी उत्पादनले माग धान्न नसक्नु र समयमै वैधानिक आयात हुन नसक्दा बजारमा चिनीको संकट देखिएको हो । चिनी उद्योगहरूको वार्षिक उत्पादन क्षमता करिब १ लाख ८० हजार मेट्रिक टनमात्र रहेको संघका अध्यक्ष शशिकान्त अग्रवालले जानकारी दिए ।
उनका अनुसार यो मात्राको उत्पादनले देशको कुल मागलाई धान्न सक्दैन । उत्पादन र मागबीचको यो अन्तर पूर्ति गर्न आयातमा भर पर्नुपर्ने बाध्यता छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालतर्फको आपूर्ति प्रणाली प्रभावित भएको उनको भनाइ छ ।
यसअघि सीमा नाकाबाट अनौपचारिक रूपमा केही मात्रामा चिनी भित्रिने गरेकोमा अहिले नेपाल र भारत दुवैतर्फका सुरक्षा निकायले सीमामा कडाइ गरेपछि त्यस्तो आयात ठप्प भएको अग्रवालले जानकारी दिए ।
‘भारतले निर्यात बन्द गरेपछि बोर्डर टाइट भयो, तस्करी पनि रोकियो । यो अभाव हुनुको एउटा मुख्य कारण हो,’ उनले विकासन्युजसँग भने ।
मागअनुसारको न्यून उत्पादनलाई पूर्ति गर्न समयमै चिनी आयात गरिनुपर्ने भए पनि यसपटक समयमै आयात हुन नसक्दा बजारमा अभाव चुलिएको उनले बताए ।
अहिले स्वदेशी चिनी उद्योगहरूसँग मौज्दात सकिएको अध्यक्ष अग्रवालले बताए । ‘हामीसँग भएको चिनी हामीले राज्यलाई दिइसक्यौँ, अहिले मिलहरूमा चिनी छैन,’ उनले थपे ।
सरकारले नै पहल गरेर यो अभावलाई सम्बोधन गर्नुपर्ने र उद्योगीहरूले यसमा सघाइरहेको अग्रवाल बताउँछन् । बजारमा चिनीको माग खासै नबढे पनि आपूर्ति प्रणालीमा देखिएकाे अवरोधका कारण उपभोक्ताहरूले समस्या भोग्नुपरेको उनको विश्लेषण छ ।
स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने र बाह्य मुलुकबाट हुने आयातमा समेत समस्या देखिएपछि बजारमा चिनीको अभाव बढेको उद्योगीहरू बताउँछन् । नेपालमा सञ्चालनमा रहेका चिनी मिलहरूको उत्पादनले मुलुकको कुल मागको सीमित हिस्सा मात्रै धान्ने गरेको छ ।
उद्योगीहरूका अनुसार नेपालमा रहेका चिनी मिलमध्ये अधिकांश सञ्चालनमा रहे पनि केही उद्योग लामो समयदेखि बन्द छन् । श्रीराम चिनी मिल, इन्द्र सुगर मिललगायत चारवटा चिनी मिल बन्द अवस्थामा छन् । हाल ११ वटा चिनी मिलहरू मात्रै सञ्चालनमा छन् ।
महाकाली सुगर मिलका महाप्रबन्धक रन्जित गुप्ताका अनुसार नेपाली बजारमा चिनीको न्यूनतम खपत नै करिब २५/२६ हजार मेट्रिक टन रहेको छ । स्वदेशी उत्पादनले मात्रै बजारको माग पूरा गर्न नसक्ने अवस्थामा अपुग चिनी आयातबाट पूर्ति गर्नुपर्ने भए पनि पछिल्लो समय आयातमा समस्या देखिँदा बजारमा अभाव बढेको उद्योगीहरूको भनाइ छ ।
उद्योगीहरूका अनुसार नेपालमा चिनी उत्पादनको क्षमता विस्तार हुँदै गए पनि त्यसको प्रभाव तत्काल बजारमा देखिन सक्दैन । चिनी मिलको उत्पादन बढाउन पर्याप्त उखु उत्पादन, उद्योगको क्षमता विस्तार तथा नियमित सञ्चालन आवश्यक हुन्छ । त्यसैले तत्कालको माग व्यवस्थापनका लागि आयातलाई सहज बनाउनुपर्ने उनीहरूको जोड छ ।
यसैगरी, बजारमा विभिन्न प्राविधिक र नीतिगत समस्याका कारण खुद्रा पसलसम्म चिनी पुग्न नसकेको नेपाल खुद्रा व्यापार संघका महासचिव तुलाधरले दाबी गरे ।
उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी मौज्दात भए पनि उसले डिलरमार्फत खुद्रा व्यापारीसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउन सकेको छैन । डिलरहरूले खुद्रा व्यापारीलाई चिनी नदिँदा उपभोक्ताले सहुलियत दरको चिनी पाउन नसकेको उनको गुनासो छ ।
निजी आयातकर्ता र थोक व्यापारीहरूले चिनीको मूल्य बजारमा १२५ रुपैयाँसम्म पुर्याएका छन् । तर, उनीहरूले खुद्रा व्यापारीलाई बिल दिँदा भने कम मूल्यको बिल दिने गरेका छन् ।
सरकारले प्यान अनिवार्य गरेको र बजार अनुगमन कडा पारेको अवस्थामा वास्तविक खरिद मूल्यभन्दा कमको बिल लिएर सामान बेच्न नसकिने भएकाले खुद्रा व्यापारीहरूले चिनी किन्नै छाडेको तुलाधरको भनाइ छ ।
यस्तै, पछिल्लो समय केही ठाउँमा बाटो बन्द भएका कारण पनि आपूर्ति व्यवस्थामा सामान्य असर परेको उनले बताए । महासचिव तुलाधरले बजारमा चिनीको मूल्यमा एकरूपता नभएको र व्यापारीहरूले मनलाग्दी मूल्य भन्न थालेको समेत जानकारी दिए ।
‘उपभोक्ताले बिल खोज्छन्, तर हामीलाई थोक विक्रेताले सही बिल दिँदैनन् । यस्तो अवस्थामा खुद्रा व्यापारीहरू चिनी नबेच्ने मुडमा पुगेका छन्,’ उनले विकासन्युजसँग भने ।
यसअघि पनि चिनीको संकट पर्दा नेपाल खुद्रा व्यापार संघले वाणिज्य विभागसँगको समन्वयमा गैर–नाफामूलक ढंगले चिनी वितरण गरेको स्मरण गर्दै तुलाधरले अहिले पनि सरकारले संघमार्फत चिनी उपलब्ध गराएमा उपभोक्तालाई उचित मूल्यमा चिनी पुर्याउन तयार रहेको बताए ।
‘यदि वाणिज्य विभागले हामीलाई चिनी उपलब्ध गराउँछ भने हामी पहिले जस्तै न्यूनतम नाफामा वा लागत मूल्यमै बजारमा चिनी वितरण गरेर अभाव हटाउन सहयोग गर्न सक्छौं,’ उनले भने ।
के छ सरकारको तयारी ?
बजारमा चिनीको अभाव बढ्दै गएपछि सरकारले आपूर्ति सहज बनाउन २५ हजार मेट्रिक टन चिनी ल्याउने निर्णय गरेको छ । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत चिनी आयात तथा खरिद गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
मन्त्रिपरिषद्ले दुवै सरकारी कम्पनीलाई १ प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न स्वीकृति दिएको छ । सामान्य अवस्थामा चिनी आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा बजारमा अभाव देखिएपछि सरकारले भन्सार दर घटाएर आयातको बाटो सहज बनाएको हो ।
सरकारको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भारतबाट सरकार-सरकारबीच (जिटुजी) प्रक्रियामार्फत २ हजार ५०० मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार चिनी आयातका लागि बोलपत्रसमेत आह्वान भइसकेको छ ।
उनले भने, ‘खाद्य कम्पनीले यसअघि नै १ हजार क्विन्टल चिनी आयात गरिसकेको छ । थप १ हजार ५०० क्विन्टल चिनी ल्याउने तयारी भइरहेको छ ।’ उनले दशैं–तिहारअघि नै थप चिनी बजारमा पुर्याउने लक्ष्य राखेको उनको भनाइ छ।
भारत सरकारसँग जिटुजी प्रक्रियाबाट चिनी खरिद हुने भएकाले खरिद मूल्य टुंगिएपछि आयात प्रक्रिया अघि बढाउन समस्या नरहेको कम्पनीले जनाएको छ । यद्यपि पछिल्लो समय आएको बाढीपहिरोले चिनी ढुवानीमा भने चुनौती थपिएको छ ।
भोटेकोशीको बाढीपछि विभिन्न सडक तथा पुलमा क्षति पुगेकाले आयातित चिनी काठमाडौंलगायतका प्रमुख बजारसम्म पुर्याउन समस्या हुन सक्ने खाद्य कम्पनीले जनाएको छ । सडक पूर्वाधारमा भएको क्षतिका कारण दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली नै प्रभावित भएकाले चिनी ढुवानीमा समेत यसको असर पर्ने देखिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्री केन्द्र तथा गोदाममा अहिले करिब १५/१६ हजार क्विन्टल चिनी मौज्दात रहेको छ । कम्पनीले बजार मूल्यभन्दा सस्तोमा प्रतिकेजी १०९ रुपैयाँमा चिनी बिक्री गरिरहेको जनाएको छ ।
तर सरकारी बिक्री केन्द्र सीमित हुनुका साथै बजारको मागको तुलनामा मौज्दात न्यून रहेकाले सरकारी चिनीको आपूर्तिले मात्रै समग्र बजारको माग धान्न सकेको छैन । यही कारण सरकारले आयातसँगै स्वदेशी उद्योगबाट चिनी खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको हो ।
साल्ट ट्रेडिङ भन्छ– ‘बिहीबारसम्म आइपुग्छ
बजारमा चिनीको अभाव देखिएपछि सरकारले आयातको प्रक्रिया अघि बढाए पनि भारतबाट चिनी ल्याउन त्यहाँको निर्यातसम्बन्धी प्रक्रियाले केही जटिलता सिर्जना गरेको छ । भारत सरकारले चिनी निर्यातमा विभिन्न प्रक्रिया तोकेका कारण नेपालले चाहेजति चिनी तत्काल आयात गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ ।
कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीका अनुसार भारतले चिनी निर्यातमा निश्चित प्रक्रिया अपनाउँदै आएको छ । भारतमा उत्पादित चिनी तथा कच्चा चिनी आयात गरी प्रशोधन गरेर पुनः निर्यात गर्ने उद्योगका लागि समेत छुट्टाछुट्टै व्यवस्था रहेकाले नेपालले प्रत्यक्ष रूपमा चिनी खरिद गरेर ल्याउन सहज नभएको उनले बताए ।
‘भारत सरकारले चिनी निर्यातको आफ्नै प्रक्रिया बनाएको छ । त्यहाँका सम्बन्धित संस्थामार्फत मात्रै निर्यात गर्नुपर्ने व्यवस्था भएकाले हामीले प्रयास गर्दा पनि केही प्रक्रिया पूरा गर्नुपर्ने अवस्था छ,’ भण्डारीले विकासन्युजसँग भने ।
उनका अनुसार भारतबाट चिनी आयातका लागि साल्ट ट्रेडिङले प्रक्रिया अघि बढाइसकेको छ । आयातका लागि आवश्यक रकम पठाउनेलगायतका कामसमेत भइरहेको र भारतबाट आउने चिनी भोलि बेलुकासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको उनले बताए ।
मौज्दात घट्दै, बजारको माग उच्च
बजारमा चिनीको माग उच्च रहे पनि साल्ट ट्रेडिङसँग रहेको मौज्दात सीमित रहेको छ । भण्डारीका अनुसार अहिले साल्ट ट्रेडिङसँग करिब १ हजार ४ सय मेट्रिक टन चिनी मौज्दात छ । त्यसमध्ये पनि केही चिनी स्वदेशी उद्योगबाट प्राप्त भएको हो । मौज्दातमा रहेको चिनी बजारमा पठाउने काम निरन्तर भइरहेको उनले बताए ।
नेपालमा चिनीको माग भने निकै ठूलो छ । साल्ट ट्रेडिङका अनुसार नेपाली बजारमा महिनामा करिब ३० हजार मेट्रिक टन चिनी खपत हुने अनुमान छ ।
मागको तुलनामा स्वदेशी उत्पादन पर्याप्त नहुँदा नेपालले चिनीमा आयातको भर पर्नुपर्ने अवस्था छ । नेपालका चिनी उद्योगको उत्पादन क्षमता बढ्दै गए पनि बजारको मागअनुसार नियमित उत्पादन हुन नसक्दा हरेक वर्ष ठूलो परिमाणमा चिनी आयात गर्नुपर्ने अवस्था रहेको भण्डारीले बताए ।
दशैंअघि चिनीको अभाव टार्ने प्रयास
दशैं, तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा चिनीको माग अझ बढ्ने भएकाले सरकारले बजारमा अभाव हुन नदिन आयातलाई तीव्रता दिएको हो । चाडपर्वका बेला चिनीको माग बढ्ने भएकाले समयमै आयात हुन नसके बजारमा थप अभाव र मूल्यवृद्धिको दबाब पर्न सक्ने जोखिम छ । त्यसैले साल्ट ट्रेडिङले भारतबाट चिनी ल्याएर बजारमा आपूर्ति सहज बनाउने तयारी गरेको हो ।
भण्डारीका अनुसार भारतबाट चिनी बिहीबार (भोलि) बेलुकासम्म नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । आयातित चिनी बजारमा पठाउन थालेपछि अहिले देखिएको अभाव केही हदसम्म सहज हुने अपेक्षा गरिएको छ ।
नेपालमा चिनीको माग करिब ३० हजार मेट्रिक टन मासिक भए पनि स्वदेशी उद्योगको उत्पादनले मात्रै उक्त माग धान्न नसक्ने अवस्था छ । त्यसैले स्वदेशी उत्पादन बढाउनेसँगै तत्कालका लागि आयातलाई सहज र नियमित बनाउनुपर्ने देखिएको छ ।
साल्ट ट्रेडिङले स्वदेशी चिनी उद्योगबाट १५ हजार मेट्रिक टन चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । साल्ट ट्रेडिङका अनुसार सरकारले स्वदेशी उद्योगबाट चिनी खरिद गर्ने नीतिअनुसार उक्त परिमाणमध्ये १२ हजार मेट्रिक टन साल्ट ट्रेडिङ र ३ हजार मेट्रिक टन खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने व्यवस्था गरिएको छ ।
साल्ट ट्रेडिङले करिब १ हजार ८०० मेट्रिक टन चिनी खरिद गरिसकेको जनाएको छ । सरकारले एकातिर १ प्रतिशत भन्सार महसुलमा चिनी आयातको सुविधा दिएको छ भने अर्कोतिर स्वदेशी उद्योगबाट समेत ठूलो परिमाणमा चिनी खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।
आयात र स्वदेशी खरिद दुवै माध्यमबाट चिनीको आपूर्ति बढाएर दशैं–तिहारको समयमा बजारमा हुन सक्ने अभाव कम गर्ने सरकारको तयारी छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा नेपालमा ५५३ केजी चिनी आयात भएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा ३ लाख ६७ हजार ३ सय ३८ केजी चिनी आयात भएको थियो ।