चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु

काठमाडौं। चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु गरेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनःनिर्माण सकेपछि सडक निर्माण शुरु गरेको हो । भूकम्पले क्षति पु¥याएको सुक्खा बन्दरगाहको पुनःनिर्माणमा आएको चिनियाँ टोलीले नै सडक मर्मतको काम शुरु गरेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताए । दुई वर्षदेखि पुनःनिर्माणमा खटिएको चिनियाँ ठेकेदार ताउ नेतृत्वको टोलीले नेपाली मजदुरलाई काममा लगाइरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भोटेकोसी बाढीले कटान गरेको ठाउँमा तारजाली भर्न थालिएको छ । चिनियाँ ठेकेदारले नेपाली ठेकेदारको दुई स्काभेटर भाडामा लिएर इको रिसोर्टबाट काम थालेका छन् । कच्ची सडक ट्र्याकले मितेरी पुल जोडेपछि बाह्रबिसेको जुरे पहिरोबाट सडक फराकिलो पार्ने योजना छ । तातोपानीसम्म कच्ची सडकले जोडिएको भएपनि बर्खाको पहिरोले दर्जनौँ ठाउँमा क्षति पु¥याएका कारण पुनःनिर्माणविना ठूला सवारी साधन चल्न नसक्ने श्रेष्ठले बताए। नेपाल–चीन सीमामा रहेको मितेरी पुल पुनःनिर्माण गर्ने दुवै देशबीच सहमति भइसकेको छ । नेपालतर्फ रहेको लिपिङखोला, लार्चा, खोकुण्डोल, चाकु र बाह्रबिसे खुर्सानीबारीको पुल पनि बाढी–पहिरोले क्षतिग्रस्त बनेको छ । नेपाल–चीनका सरकारी अधिकारीले पटक–पटक संयुक्त र एकल रूपमा कोदारी राजमार्गको निरीक्षण गरिसकेका छन् । सडक निर्माणको प्रष्ट खाका र योजना आउन सकेको छैन । चिनियाँ भूमिखासादेखि मितेरी पुलसम्म सडक निर्माण सम्पन्न हुन अझै तीन महिनालाग्ने बताइएको छ । रासस

होटल टाईगर टप्स बन्द भएपछि मेघौली विमानस्थल सञ्चालनमा आउन सकेन

चितवन । पश्चिम चितवनको मेघौली विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विसं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित सञ्चालन हुन नसकेको हो । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको सो विमानस्थल २३ बिगाहा जमीनमा फैलिएको छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार एक हजार ६५ मिटर लामो घाँसे धावन मार्ग रहेको छ । विमानस्थललाई तारबार गरी सुरक्षित गरिएको छ । सो क्षेत्रका सामाजिक अगुवा मायाराम चौधरीका अनुसार होटल टाईगर टप्स सञ्चालन हुँदा नेपालका राजारानी, बेलायती रानी एलिजाबेथलगायत स्वदेशी र विदेशी विशिष्ट व्यक्ति जहाज चढेर सो क्षेत्रमा आएका थिए । थारु सांस्कृतिक सङ्ग्रहालय मेघौलीका अध्यक्ष रहेका चौधरीले दैनिक तीन/चार जहाज सो विमानस्थलमा अवतरण हुने गरेको थियो । सोही विमानस्थलमा होटल टाईगर टप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्ती पोलो खेल समेत हुने गरेको थियो । हाल खेल पनि बन्द भएको छ । विसं २०६९ बाट बन्द भएको विमानस्थल गत वर्ष नोभेम्बर र डिसेम्बरमा केही समय सञ्चालनमा आए पनि पुनः बन्द भएको हो । जहाज सञ्चालन भएमा तत्काल टावर सञ्चालनमा ल्याउन सकिने विमानस्थलका प्रमुख गौतमले बताए । भरतपुरमा दैनिक १२/१३ उडान हुँदै आएको भन्दै उनले मेघौली विमानस्थल सञ्चालन गर्न सकेमा भरतपुरको चाप घटाउन सकिने र त्यस क्षेत्रका जनताले सुविधा पाउने बताए । नेपाल एयरलायन्सले हाल तालिकामा राखेर पनि मेघौलीमा विमान चलाएको छैन । विमान सञ्चालन हुन नसक्नुको कारणबारे केन्द्रमा पत्राचार गर्ने उनले बताए । पश्चिम चितवनमा तीन ठूलासहित १० भन्दा बढी पर्यटकीय होटल रहेका छन् । नियमित उडान नहुँदा पर्यटक आगमनमा समेत प्रभाव परेको छ । पश्चिम चितवन होटल व्यवसायी सङ्घका अध्यक्ष सुवोध प्रधानले नियमित उडानका लागि पहल भइरहेको भए पनि उडान हुन नसकेको बताए । सो ठाउँमा हेलिकप्टर र समय समयमा विमान चार्टर गरेर उडान गरिँदै आएको छ । पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले सो विमानस्थल पुरानो भएकाले पश्चिम चितवनको पर्यटकीय विकास र त्यस क्षेत्रका जनतालाई सुविधा दिन नियमित उडान गर्नुपर्ने बताए । जिल्लामा हाल सञ्चालनमा रहेको भरतपुर विमानस्थलबाट दैनिक काठमाडौँं र पोखरा उडान हुँदै आएको छ । रासस

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि नयाँ ठाउँ खोजिँदै

काठमाडौं । अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्यसचिव केशव विष्टले भक्तपुरका सम्भावित तीन स्थानमा स्थलगत निरीक्षण गरी ठाउँ खोजेका हुन् । सूर्यविनायक नगरपालिका–८ को सिपाडोलको तौडोल, सूनपा–४ को चित्रपुर तथा सूनपा–९ पलासे महत गाउँको डोलमा टोलीले स्थलगत अध्ययन गरेको हो । सूर्यविनायक नगरपालिका–१० र चाँगुनारायण नगरपालिका–९ कै भकारीमुलमा विगत लामो समयदेखि मन्त्रालयले अध्ययन तथा योजना बनाई प्राविधिक टोली खटाए पनि नेपाल मजदूर किसान पार्टीको विरोधका कारण अन्य स्थानको खोजी गरिएको हो । मन्त्री विश्वकर्माले तीन स्थानमा प्राविधक टोली खटाई उत्तम स्थानको छनोट गरी तत्काल निर्माण कार्य अघि बढाइने बताए । उनले रङ्गशालाको स्थान टुङ्गोमा पुर्याइ निर्माण प्रक्रिया तत्काल शुरु गर्नुपर्नेमा जोड दिए । सांसद बस्नेतले नेमकिपाले भकारीमूलका जनताको मात्र नभई भक्तपुरका आम जनताको विकासप्रतिको भाग्य र भविष्यमाथि खेलवाड गरिरहेको दाबी गरे । उनले अन्तर्राष्ट्रिय रङ्गशाला, कबर्डहल, सभागृह, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी, वीर अस्पतालजस्ता राष्ट्रिय गौरवका आयोजना भक्तपुरमै बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेमकिपाका सांसद प्रेम सुवालले खेतीयोग्य जमीन तथा बस्ती उठ्ने गरी निर्माण गर्न लागिएको रङ्गशाला निर्माण हुन नहुने बताए । रासस