माइतीघर र चाबहिलमा आकाशे पुल बन्ने, कामपाले छुट्टायो १२ करोड बजेट
काठमाडौं । काठमाडौं महानगरपालिकाले पैदल यात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा १२ करोड रुपैयाँ नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले बताए । यी दुई बाहेक अरु कुन स्थानमा आकाशे पुलको खाँचो छ भन्ने अध्ययन भइरहेको छ । उनले भने, “माइतीघर र चाबहिलपछि अरु स्थानमा पनि त्यस्तो पुल निर्माण गरिनेछ ।” पहिलो चरणमा यी दुई स्थानमा आकाशे पुल निर्माण गरिने छ । अन्य स्थानमा आवश्यकता हेरी निर्णयको तयारी भइरहेको छ । दुबै स्थानमा निर्माण गर्न लागिएको पुलको लागि नमूना तयार भइसकेको छ । छठ लगत्तै निर्माणको लागि बोलपत्र आह्वान गरिने इञ्जिनीयर थापाले बताए । चालु आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने कामपाले योजना बनाएको थियो । उपत्यकाकै सबैभन्दा बढी यात्रुले बाटो काट्ने सडकका रुपमा रहेको नयाँ बानेश्वर चोकमा भने तत्काल आकाशे पुल बनाउने योजना महानगरको छैन । प्रतिनिधिसभा भवन चोकमा नै भएकाले सुरक्षा खतरा हुनसक्ने भन्दै यस स्थानमा विकल्पको खोजी भइरहेको इञ्जिनीयर थापाले बताए । उनले भने, “सव–वे निर्माण गर्न सकिन्छ कि भन्ने हामीले छलफल गरिरहेका छौं ।” दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि कामपाले एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिने पुल निर्माण गर्न लागेको हो । ट्राफिक प्रहरी र सडक विभागसँग समेत सहकार्य गरी पुल निर्माणको काम अघि बढ्ने कामपाले जनाएको छ । आकाशे पुल बनाउने अन्य सम्भावित स्थानका रुपमा टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौँ जिल्ला अदालत), पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोक रहेको छ । सवारीसाधनको अत्यधिक चाप हुने सो क्षेत्रमा त्यस्तो पुलको अभावमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ । पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी चापको अवस्था देखिँदै आएको छ । इञ्जिनीयर थापाले भने, “एकातिर पैदलयात्रुलाई बाटो काट्न सजिलो हुन्छ, भने अर्कोतिर ट्राफिक व्यवस्थापन सहज हुनेमा शङ्का छैन ।” अब बन्ने सबै पुलमा विज्ञापन राख्न पाइने छैन । विज्ञापन राख्न नमिल्ने गरी नै आकाशे पुलको ढाँचा तयार भएको र अन्यको तयारी चरणमा छ । महानगरले यसअघि निर्माण गरेको आकाशे पुलमा विज्ञापन राखेर आम्दानी गर्दै आएको थियो । सहरको सुन्दरतालाई ध्यान दिँदै कामपाले केही समयदेखि जथाभावी विज्ञापन, पर्चा पम्पलेट, पोस्टर टाँस्न रोक लगाएको छ । यसअघि स्थानान्तरण गर्न सकिने पुल पहिलो पटक परीक्षणका रुपमा पुरानो बसपार्क अगाडि बनेको थियो । अहिले कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क-भोटाहिटी, जमल, रत्नपार्क-बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा छन् । रत्नपार्कमा एउटा सव-वे छ । भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ । वीरअस्पताल अगाडिको पुल अत्यन्त जीर्ण छ । कामपाभित्रका यसअघिका पुल निजी क्षेत्रले बनाएकोले मर्मत पनि निजी क्षेत्रले नै गर्नुपर्ने उनले बताए । सबै पुराना पुल मर्मतको लागि पनि महानगरले समन्वय गरिरहेको छ । कामपाले चालु आव २०७५/७६ को लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रूपैयाँको बजेट प्रस्तुत गरेको थियो । जसअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालु आवमा ४ अर्ब ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी महानगरभित्रका सडक विस्तार र मर्मतमा खर्च गरिने छ । रासस
रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्निविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिहरुको उपस्थितमा मंगलबार भएको बैठकले मन्दिरको शैलीमा पुनर्विचार गर्न निर्देशन दिएको हो । ‘रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्बन्धमा काठमाडौं महानगरपालिकाद्धारा गत मिति २०७४/०९/१३ मा गठन गरेको विशेषज्ञ समिति तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट मिति २०७५/७/१८ मा गठन गरिएको विज्ञ समितिबाट प्राप्त प्रतिवेदनहरुले उक्त मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनर्निर्माण गर्न सुझाव दिएको हुँदा उल्लेखित प्रतिवेदनहरुलाई समेत आधार मानी पहिलेको गुम्बज शैलीमा पुनर्विचार गरी आवश्यक कार्य अघि बढाउन पुरातत्व विभागलाई निर्देशन दिने’- बैठकको निर्णयमा उल्लेख गरिएको छ । बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो । पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो । बैठकले रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर र पोखरीको पुनर्निर्माण कार्यमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयोजनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं, महानगरपालिका एवं सम्बन्धित विज्ञहरुको समेत प्रतिनिधित्व रहने गरी रानीपोखरी पुनर्निर्माण समन्वय तथा अनुगमन समिति गठन गर्ने र यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण एवं काठमाडौं महानगरपालिकाले आवश्यक बजेटको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । पुरातत्व विभागका पूर्व महानर्दिशक विष्णुराज कार्की, सम्पदाविद् डा। सुदर्शनराज तिवारी, स्ट्रक्चरल ईन्जिनियर एवं प्राध्यापक डा। प्रेमनाथ मास्के, सहरी योजनाविद् एवं पूर्व महानिर्देशक सूर्यभक्त साँगाछे रहनु भएको विज्ञहरुको टोलीले सोमबार मात्रै ग्रन्थकुट शैलीमा मन्दिर निर्माणका लागि आधार सहितको प्रतिवेदन दिएको थियो । विज्ञहरुले ग्रन्थकुट शैलीबाट गुम्बज शैलीमा निर्माण गर्दा ग्रन्थकुट शैलीकै मन्दिरको भूईतलाको मन्दिरको नाप नक्सामा निर्माण गरिएको, ग्रन्थकुट शैलीमा निर्माण भएको काठ बन्धन तथा शिलाको संगार लगायतका भागहरु दुई पटक पुनर्निर्माण (गुम्बज शैलीमा) गर्दा पनि प्रयोग भएको, दुई पटक पुनः (गुम्बज शैलीमा) निर्माण गर्दा पनि गर्भगृहको गाह्रोको पर्खालको नाप नक्सा मल्लकालीन मन्दिरको नाप नक्सा अनुसार नै निर्माण भएको प्रतिवेदन दिएका थिए । यस्तै तत्कालीन वास्तुशास्त्र सम्मत भएको र बाह्य नाप ४ह चौडाई पर्खालको चौडाई १३ु०ू हुनु र पर्खालको मोटाइ ३ फिटर३ इन्च हुनुलाई पनि ग्रन्थकुट शैलीको आधार मानिएको छ । उल्लेखित प्रमाण र गर्भगृहको नाप नक्साको आधारमा यस ग्रन्थकुट मन्दिरको उचाई गर्भ गृहको सतहबाट गजुरको अमालकसम्मको ३९ फिट हो र गजुरको उचाई १३ इन्च समेत गरी कुल उचाई ५२ फिट हुने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा मन्दिरको जिर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कंक्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामाग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने र जगको किसिम तथा अवस्था एकीन गर्न गर्भगृहको उत्तर दक्षिण वा पूर्व पश्चीम क्रस उत्खनन् गर्ने पनि उल्लेख छ । यसअघि गठन भएको विज्ञहरुको समितिले पनि बालगोपालेश्वरको मन्दिर ग्रन्थकुट शैलीमा निर्माण गर्न सुझाव दिएको थियो । त्यसमा पुरातत्व विभागको असहमति रहेकाले विवाद बल्झिएको थियो । विवादलाई अन्त्य गर्नका लागि प्राधिकरणले विज्ञ विष्णुराज कार्की नै संयोजक रहनु भएको अर्को टोली बनाएको थियो । रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पुनर्निर्माण सम्बन्धमा काठमाडौं महानगरपालिकाद्वारा प्रस्तावित डिजाइन तथा यस सम्बन्धमा हाइड्रोलोजिष्ट तथा जियोलोजिष्टहरुको टिमले दिएको सुझावअनुसार रानीपोखरीको पिँधमा कालो माटो र बालुवा जस्ता निर्माण सामग्रीहरुको प्रयोग गरी निर्माण कार्य अघि बढाउने, पोखरीको वरिपरीको सबैभन्दा तल्लो खण्डमा कालोमाटोको प्रयोग गर्ने र सबैभन्दा बाहिरी भागमा ईँट्टाको क्ललेडिङ गर्ने र पोखरीको वरिपरिको फुटपाथमा सुर्खी मोर्टारको सट्टामा ढुंगाको धुलो प्रयोग गरिने भएको छ ।
हनुमानढोका क्षेत्रको पुनःनिर्माण तीव्र
काठमाडौ। हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्र रूपमा भइरहेको छ । यहाँ झण्डै तीन दर्जन सम्पदा छन्, जसमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ गत सोमबार भएको छ । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको छ । त्यसैगरी भूकम्पका कारण क्षति पुगेका अन्य सम्पदा पुनःनिर्माणको प्रक्रियामा रहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए। उनका अनुसार काष्ठमाण्डप आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न हुन्छ भने माजु देग पुनःनिर्माण दुई वर्षमा सम्पन्न गरिने योजनाको साथ काम भइरहेको छ । केही सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणको अवस्थामा रहेकाले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । यस क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । रु ४९ करोड हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाहरुको पुनःनिर्माणका लागि बजेट छुट्याइएको कामपाको भौतिक पूर्वाधार महाशाखाले जनाएको छ। रासस