सोलुखुम्बुको स्थानीयस्तरमा विकास कार्यक्रम सुरु, जिल्लाभित्र २० योजना छनोट

काठमाडौं । सोलुखुम्बुका स्थानीयस्तरमा विकासका कार्यक्रम सुरु गरिएको छ । पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेको हो । छनोट गरिएका योजनामा सोलुदुधकुण्ड नगरपालिकाअन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि १० लाख, झाप्रे पिके हुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि र २० लाख, तिङ्ला संसारीडाँडा भुद्रुङ कुर्लङ देविस्थान डाँडा सडकका लागि २० लाख र उद्धार सामग्री खरिद तथा गोदामघर जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्माणका लागि १० लाख रकम विनियोजन गरिएको छ । माप्यदुधकोशी गाउँपालिकाअन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाबाट माप्यदुधकोशी १ जोड्ने ओलाङघाट मोटरेबल पुल निर्माणमा ९० लाख, वडा नं ६, ७ कायाघाटमा बेलीब्रिज निर्माणमा र १० लाख र थालेम भुमेस्थान मर्मत वडा नं ६ काँकुमा र १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी थुलुङदुधकोशी गाउँपालिकाअन्तर्गत नेले चारघरे मुक्ली जोड्ने सडक स्तरोन्नतिमा र ६० लाख रकम विनियोजन गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्युटर अधिकृत भोजनारायण राजभण्डारीको भनाई रहेको छ । लिखुपिके गाउँपालिकाको खानेपानी शुद्धीकरण तथा संवद्र्धन योजनाका लागि र १५ लाख, किबीखेती प्रवद्र्धनमा र १० लाख र लिखुखोला पिके पर्यटन पदमार्ग मर्मतसम्भारमा १५ लाख, सोताङ गाउँपालिकाअन्तर्गत छनोटमा परेका योजनामा सभाहल निर्माणका लागि र १५ लाख र रिमुछा पतिसेसम्मको पर्यटन प्रवद्र्धनका लागि ट्र्याकओपनमा १० लाख विनियोजन गरिएको छ । नेचासल्यान गाउँपालिकाअन्तर्गत छनोट भएका योजनामा खहरे मुहान श्रीचौर देवीस्थानडाँडा हुँदै केउरेनी चुहान सिँचाइ आयोजना वडा नं २ का लागि १० लाख, बोसिमखोला मुहान फुर्के चुहान खानेपानी निर्माण वडा नं ३, ४ र ५ का लागि २६ लाख र शिवमन्दिर निर्माण तथा मर्मतका लागि १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत वडा नं २ मगरटोलमा पुल निर्माणका लागि १५ लाख रकम विनियोजन गरिएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुलाई प्रशासनिक खर्चका लागि रु चार लाख रकम सांसद क्षेत्र विकास कोषबाट विनियोजन गरिएको कम्प्युटर अधिकृत राजभण्डारीले बताएका छन् । त्यसैगरी महाकुलुङ गाउँपालिकाअन्तर्गत वडा नं ४ पोम्लालुङ पर्यटन पदमार्ग निर्माणमा २० लाख, वडा नं ५ योउ लुबुम मन्दिर भवन निर्माणमा १० लाख र वडा नं १ को हिमचुली सामुदायिक भवन निर्माणमा १० लाख रकम विनियोजन गरिएको छ । रासस

विश्व बैंकले रामेछापको गाइखुरामा भूकम्प पीडितलाई एकिकृत बस्ती बनाईदिने

रामेछाप । अर्थमन्त्री डा युवराज खतिवडाले २०७२ सालको भूकम्पले क्षति पुर्याएका संरचनाहरुको पुनःनिर्माणका लागि बजेटको अभाव नरहेको बताएका छन । रामेछापको मन्थली नगरपालिका–८ स्थित गाईखुरामा निर्माण गर्न लागिएको एकीकृत नमूना बस्तीको अवलोकन गर्दै अर्थमन्त्री खतिवडाले भूकम्पपछिको पुनःनिर्माणमा देखिएको बजेट समस्यालाई व्यवस्थापन गर्ने कार्यमा सरकार जुटेको बताएका हुन । उनले पुनःनिर्माणको कार्यमा सरकारले विशेष ध्यान दिएको पनि बताए । भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत विश्व बैंकको सहयोगमा गाईखुरामा २५ घरसहितको एकीकृत नमूना बस्ती निर्माण हुन लागेको हो । अर्थमन्त्री खतिवडासँगै पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद श्यामकुमार श्रेष्ठ, शान्तिप्रसाद पौडेल, रीता माझी र विश्व बैंकका प्रतिनिधि एकीकृत बस्तीको निरीक्षणका लागि गाईखुरा पुगेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिँदै, लागत एक अर्ब छ करोड

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई नयाँ ‘पार्किङ-वे’ थपिने भएको छ । जहाज पार्किङमा समस्या भोग्दै आएको विमानस्थलले विमानस्थल विकास कोष (एडिएफ)को एक अर्ब छ करोडको लागतमा ‘रिमोट पार्किङ वे’ र ‘पार्किङ वे’ निर्माण हुने भएको छ । विमानस्थलको उत्तरपूर्वतर्फ र दक्षिणपश्चिम क्षेत्रमा पाँच/पाँचवटा विमान अट्ने गरी दुईवटा पार्किङ वे निर्माण भइरहेका छ । अबको पाँच महीनामा निर्माण कार्य सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । निर्माणाधीनमध्ये उत्तरपूर्वतर्फको ‘रिमोट पार्किङ वे’ निर्माणमा ४७ करोड र दक्षिणपश्चिमतर्फको ‘पार्किङ वे’ निर्माणमा ५९ करोड खर्च हुने भएको छ। विमानस्थलका अनुसार उत्तरपूर्वतर्फ दुईवटा वाइड बडी जहाज र तीनवटा साना (एटिआर) जहाज तथा दक्षिणपश्चिमतर्फ दुईवटा वाइड बडी र तीनवटा एटिआर जहाज राख्न सकिने छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार उत्तरपूर्वतर्फको रिमोट पार्किङ-वे आगामी फागुनभित्र सम्पन्न गरिनेछ भने दक्षिणपश्चिमतर्फको पार्किङ वैशाखभित्र पूरा गर्नेगरी काम अघि बढाइने भएको छ । पार्किङ थपिएपछि विमानस्थलमा परेको बढ्दो चाप केही हदसम्म न्यूनीकरण हुने अपेक्षा रहेको छ । हाल विमानस्थलमा अन्तर्राष्ट्रिय पार्किङका लागि नौवटा विमानको क्षमता छ जहाँ तीनवटा वाइड बडी ए ३३० र बाँकीमा एयरबस ३२० जहाज पार्किङ गर्न सकिन्छ । रिमोट पार्किङ–वे विमानस्थलको मुख्य पार्किङ-वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ भएकाले विमानमा बम विस्फोट वा आतङ्ककारी गतिविधिको शङ्का भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गरिन्छ । विमानस्थलबाट तीनवटा नेपालीसहित ३१ वटा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ३० वटा विमान पार्किङ गर्न सकिन्छ । रासस