छोसेर–कोरला सडक स्तरोन्नति, ४८ करोड लागत लाग्ने अनुमान

काठमाडौं । चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो । जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजना मध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले बताएका छन् । ट्र्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्यावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ । २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको उक्त सडक निर्माणमा ४८ करोड लागत लाग्ने अनुमान गरिएको छ । छोसेर–कोरला सडक स्तरोन्नतिका लागि दिवा–रौताह–एपेक्स जेभीले २९ करोडमा ठेक्का लिएको थियो । समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइको भूगोलमा प्रतिकूल मौसम भएपनि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर सम्झौता अवधिभित्रै काम सकेको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताएका छन् । यस ११० किलोमिटर दूरीको जोमसोम–कोरला सडकअन्तर्गत अन्य छवटा प्याकेजको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नतिसँगै कोरला नाका खुलाउनका लागि सुरक्षा तयारी र चीन सरकारसँग कूटनीतिक पहल भइरहको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताएका छन् । रासस

सिटामोलका लागि सातघण्टा हिड्नु पर्ने स्थानियमा स्वास्थ्यसंस्थासँगै हर्ष थपियो

काठमाडौं । मार्मा गाउँपालिका–६ जन्नीगाउँमा सिटामोलका लागि दैनिक सात घण्टा उकाली ओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नु पर्ने थियो। सिटामोलको लागि घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली पाँच घण्टा गर्दा झण्डै सात घण्टा धाउनुपर्ने अवस्था अवस्था रहेको थियो । स्थानीय सरकार गठन भएको डेढवर्षमै मार्मा गाउँपालिकाले गाउँगाउँमा सुविधा पुग्नेगरी सामुदायिक स्वास्थ्य एकाई थपेसँगै दुर्गम गाउँका नागरिकले सहज स्वास्थ्य सेवा पाउन थालेका छन् । स्थानीय सरकारले स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीमा सामुदायिक स्वास्थ्य एकाइ थपेपछि स्थानीयवासीको स्वास्थ्य चेकजाँच गर्ने गरेको छन् । मार्मा गाउँपालिका–६ को विकट बस्ती जन्नीगाउँ, माङदाङ र छिपान बस्तीका लागि माङदाङमा एकाइ स्थापना गरेपछि समस्या समाधान भएको स्थानीयवासीले जनाएका छन् । गाउँमा सिंहदरबार आएको अनुभूति बल्ल गर्न पाएको भन्दै माङदाङमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले उद्घाटन गरेका छन् । सामुदायिक स्वास्थ्य एकाइसँगै सामुदायिक स्वास्थ्य एकाइमा अहेब श्यामसिंह महता र अनमीको रुपमा कान्ती डडाललाई नियुक्त गरिएको छ । दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य समस्याबाट वञ्चित नहोस् भन्नका लागि सो एकाइ स्थापना गरिएको छ । गाउँसभाको निर्णय अनुसार स्वास्थ्य एकाइ स्थापना गरिएको हो । भवन निर्माणका लागि यसवर्ष छ लाख बजेट विनियोजन गरिएको छ । चाँडै सामुदायिक स्वास्थ्य एकाइमा बर्थिङ सेन्टर स्थापनाको प्रक्रिया थालिने बताउँदै गाउँपालिकाले प्रसूति गर्न महिलालाई टाढा हिँड्न नदिने लक्ष्य लिएको जनाएको छ । यसैवर्ष गाउँपालिका–१ ताकुमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरि सकिएको छ । आउँदा जाँदा आठ घण्टा बढी लाग्ने ठाउँका नागरिकको लागि सहजताका लागि स्थापना गरिएको हो । ताकुमा स्थापना गरिएको स्वास्थ्य एकाइको भवन निर्माणका लागि यसवर्ष १३ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले हरेकवर्ष दुर्गम बस्तीमा स्वास्थ्य सेवा पर्याउने लक्ष्य राखेको जनाएको छ । यसैवर्ष गाउँपालिका–६ शेरीमा बर्थिङ सेन्टर स्थापना गरिएको मार्मा गाउँपालिका एकाइ प्रमुख चक्रसिंह धामीले बताएका छन् । मार्मा गाउँपालिका केन्द्र लटिनाथमा रहेको स्वास्थ्यचौकीलाई क्रमशःअस्पतालको रुपमा विकास गर्ने प्रक्रिया अगाडी बढेको छ । सुविधा सम्पन्न भवन निर्माण गरिएकाले डाक्टरको खोजी भइरहेको बताइएको छ । गाउँपालिकाबाटै भए पनि लटिनाथमा डाक्टर व्यवस्थापन गरेर मार्मा र अपी हिमाल गाउँपालिकाका लागि सेवा पुग्ने अध्यक्ष धामीको भनाइ छ । रासस

सदरमुकाम नै बसपार्क विहिन, टर्मिनल भवनसहित १० करोडकाे लागतमा निर्माण हुँदै

काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवामा सुविधा सम्पन्न बसपार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । १० करोडको लागतमा निर्माण हुने उक्त बसपार्कका लागि १ बिघा जग्गा इनरुवा नगरपालिकाले उपलब्ध गराएको हो । विकास निर्माणका दृष्टिकोणले पछि परेको उक्त सदरमुकामा हाल सम्म बसपार्क नभएको जनाउँदै व्यवस्थापकीय सहयोगमा निर्माणाधिन बसपार्क चाँडै सञ्चालनमा आउने इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताएका छन् । सङ्घीय सहरी विकास आयोजना कार्यान्वयन एकाइअन्तर्गत तराईका जिल्ला सदरमुकाम क्षेत्रमा विभिन्न विकास निर्माणका काम गर्ने सरकारको नीतिअनुसार स्मार्ट सिटी कार्यक्रममा सो बसपार्क परेको छ । उक्त लागतमा एक टर्मिनल भवनसहित यात्रु प्रतीक्षालय, मर्मत क्षेत्र, गाडी बिक्री गन्त्वयमा पुग्न नसक्ने अवस्थामा यात्रुलाई बास बस्न मिल्ने रेष्टुराँ, सुरक्षाका लागि सिसी टिभी क्यामरा, सौर्य बत्ती जडान गरिएको सङ्घीय शहरी विकास अयोजना कार्यान्वयन एकाइ विराटनगरका सव इञ्जिनीयर राजकुमार मिश्रले जानकारी दिएका छन् । निर्माण कम्पनी कालिका कन्ट्क्सनका इञ्जिनीयर प्रेम लामाले सम्झौता समयअघि नै निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएका छन् । बसपार्कमा पूर्व तथा पश्चिम दुवैतर्फबाट प्रवेश गर्ने तथा बाहिर निस्कने व्यवस्थासहितको एक किलोमिटर सडकसमेत बनाइएको छ । रासस