बाहिरी चक्रपथमा भूमाफिया फसे, सरकारले थाल्याे नयाँ डीपीआर र रेखांकनकाे काम
काठमाडौं । बाहिरी चक्रपथको पाइलट प्रोजेक्टमा भूमाफियाहरुले चलखेल गरेपछि डीपीआर नै नयाँ बन्ने भएको छ । शहरी विकास मन्त्रालयले चीन सरकारको सहयोगमा नयाँ डीपीआर बनाएर यसै वर्षभित्र आयोजनाको काम अघि बढाउन लागेको हो । ‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको खण्डमा भूमाफियाहरुले चलखेल गरेपछि नयाँ डीपीआर बनाउन लागेका छौं, नयाँ रेखांकन (अनाइनमेन्टं)सहित यसै वर्ष काम थाल्छौं’, शहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईले विकासन्युजसँग भने । बाहिरी चक्रपथ आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा काम अघि बढाउन लागेको थियो । तर सो खण्डमा भूमाफियाहरुले २ हजार ९५३ कित्ता जमिन ३ आना भन्दा सानो आकारमा कित्ताकाट गरिदिएका छन् । ७६ वटा घरहरुसहित ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नुपर्ने पाइलट प्रोजेक्टमा भूमाफियाहरुले चलखेल गरेपछि नयाँ डीपीआर बनाएर रेखांकन नै नयाँ गर्ने तयारीमा मन्त्रालय जुटेको हो । मन्त्री राईका अनुसार चीन सरकारले चार महिनाभित्र निःशुल्क डीपीआर बनाईदिने प्रतिवद्धता व्यक्त गरेको छ । ‘पुरानो डीपीआर र अध्ययन प्रतिवेदनहरु प्राप्त गरेमा ४ महिनाभित्र निःशुल्क नयाँ डीपीआर बनाईदिन्छौं भनेका छन्, हामीले प्रारम्भिक सहमतिका लागि अर्थमन्त्रालय पठाएका छौं’, शहरी विकास मन्त्री राईले भने । उनले अर्थमन्त्रालयको सहमतिपछि कानुन मन्त्रालयमा पठाउने र कानुनले सहमति दिएसँगै मन्त्रिपरिषद मार्फत पास गराएर डीपीआर बनाउने प्रक्रिया अघि बढाउने पनि बताए । मन्त्रालयले ७२ किलोमिटर लामो बाहिरी चक्रपथकै डीपीआर नयाँ बनाउन लागेको हो । चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड रूपैयाँ अनुमान गरिएको छ । सोमध्ये १ अर्ब रुपैंयाँ भने ७६ वटा घरहरुलाई क्षतिपूर्तिका लागि उपलब्ध गराउनुपर्ने अवस्था छ । २०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्वीकृत भएको थियो तर अब भने सो डीपीआरले काम नगर्ने पक्कका भएको हो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्ने योजना छ ।
विकास निर्माणका कामलाई प्रभावकारी बनाउन भूमिका खेल्छुः सभापति खड्का
काठमाडौं । संसदको विकास समितिकी नवनिर्वाचित सभापति कल्याणी खड्काले विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छिन् । सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै सभापति खड्काले विकास निर्माणमा देखिएका अन्यौल हटाउने, गुणस्तर कायम गराउने तथा समयमै कार्य सम्पन्न गराउन समितिको भूमिकालाई प्रभावकारी बनाउने बताएकी हुन् । विकास निर्माणमा देखिएका अवरोध हटाउने, नीतिगत सुधारको काम गर्ने, विकासमा देखिएको अन्तर सरकारी समन्वय अभावलाई हटाउने लगायतका काममा समितिलाई केन्द्रित गराउने पनि बताइन् । समितिको बैठक असोज १० गतेका लागि डाकिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणसँग पुननिर्माणको प्रगति तथा देखिएका समस्याहरुका बारेमा छलफल हुनेछ ।
झापामा विर्तामोड-भद्रपुर चार लेनको सडक बन्दै
काठमाडौं। झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो सडकलाई कालोपत्र गर्दै स्तरोन्नति गर्ने काम शुरु भएको हो । रु २७ करोडको लागतमा उक्त सडकको स्तरोन्नति २०७६ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी आशिष प्रेरा जेभीका सञ्चालक राजकिशोर गुप्ताले ठेक्का लिनुभएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनीयर माधव पौडेलले जानकारी दिए। अस्तव्यस्त हुँदै गएको विर्तामोडदेखि सदरमुकाम भद्रपुर जोड्ने मुख्य मार्गको स्तरोन्नतिको काम शुरु भएसँगै अब विकासका कामले गति लिन थालेको विर्तामोड नगरपालिका प्रमुख धु्रवकुमार शिवाकोटीले बताए। विर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत २ दशमलव ८ किलोमिटर सडक चार लेनको बनाइने र बाँकीलाई दुई लेनअन्तर्गत फराकिलो बनाइने इञ्जिनीयर पौडेल बताउँछन्। ठेकेदार गुप्ताले तोकिएको समयमा काम सम्पन्न गर्ने बताए। जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडदेखि सदरमुकाम भद्रपुरसम्मको सडकखण्ड भत्किएको वर्षौं बिते पनि बन्न सकेको छैन । एशियाली विकास बैंक (एडिबी)को सहयोगमा तीन वर्ष अघि नै उक्त सडक निर्माणको ठेक्का सम्झौता गरिएको थियो । ठेकेदार कम्पनी ‘थोदुङ–लोहनी–सिंह एण्ड ब्रदर्श जेभी’ले सम्झौताबमोजिम काम नगरेपछि सडक निर्माण ओझेलमा परेको थियो । रासस