नारायणगढ-मुग्लिन सडकमा ४ पुल बन्दै, ५० % काम सकियो
भरतपुर । नारायणगढ-मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ । ‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ”, खनालले भने, “जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत र अन्य पुलको ७० प्रतिशत माथि छ ।” जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको हो । अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर हुनेछ । “लामा कन्स्ट्रक्सनले जिम्मा पाएको चार पुल निर्माणको काम वैशाखभित्रै सम्पन्न हुन्छ भने रौताहा कन्स्ट्रक्सनले जिम्मा लिएको जलवीरे पुल निर्माणमा समय लाग्ने देखिएको” उनले बताए । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भइरहेको छ । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिएकाले सवारी आवागमनमा पुलले कुनै बाधा पुर्याएको छैन । जलवीरे पुल १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत १३ करोड छ । सडकखण्डमा अझै १४ पुल निर्माणको काम भने अघि बढ्न सकेको छैन । १८ पुलमध्ये चार वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणको काम छिट्टै शुरु हुने आयोजना प्रमुख रोहित विसुरालले जानकारी दिए । सात ठाउँमा भौगर्भिक अध्ययन नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न क्षेत्रमा भासिएको सडकको भौर्गर्भिक अध्ययन शुरु गरिएको छ । भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर खनालले जानकारी दिनुभयो । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ । भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महीनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ । आयोजनाका प्रमुख विसुरालले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताए । रासस
फागुन २ गते केपी ओलीले खोल्दैछन् पानी जहाज कार्यालय
काठमाडौं । फागुन २ गते पानी जहाज कार्यालय स्थापना हुने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना हुने पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् । कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले विकासन्युजलाई जानकारी दिए । ललितपुरको एकान्तकुनामा प्रधनमन्त्री केपी ओलीले पानी जहाज कार्यालयको उद्घाटन गर्नेछन् ।
२० अर्बको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो लाइसेन्स, ८ अर्बको आईपीओ एक बर्षभित्रै
काठमाडौं । २० अर्ब पुँजीको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाइसेन्स पाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सञ्चालन अनुमति दिएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम नेपाल सरकार सहित केही प्रतिष्ठित वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानी र प्रयासबाट मिति २०७५ जेष्ठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले मिति २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालबाट वित्तीय कारोबार गर्ने इजाजत प्राप्त गरेको हो । एक वर्षभित्रै ८ अर्बको आईपीओ बैंकले आगामी एक वर्षभित्रै ८ अर्बको आईपीओ जारी गर्ने तयारी गरेको छ । बैंक स्थापनाका लागि मूख्य भूमिका निर्वाह गरेका बिनोद आत्रेयका अनुसार आगामी एक वर्षभित्र आईपीओ निष्काशन गर्ने योजनासहित काम अघि बढेको बताए । हाल बैंकको अधिकृत पूँजी ४० अर्ब छ भने २० अर्ब जारी पूँजी र १२ अर्व चुक्तापूँजी रहेको छ । बाँकी ८ अर्ब पुँजीको जोहो गर्न बैंकले आईपीओ जारी गर्न लागेको हो । ‘हामीलाई ठुलो पुँजीको आवश्यकता छ, १२ अर्ब चुक्ता पुँजी जुटेको छ, बाँकी ८ अर्बका लागि एक वर्षभित्रै आईपीओ ल्याउँछौं’, आत्रेयले विकासन्युजसँग भने । उनले आईपीओ जारी गर्नेबारे धितोपत्र बोर्डसँग छलफल अघि बढिसकेको जानकारी समेत दिएका छन् । उनले दिर्घकालिन प्रकृतिका स्वदेशी निक्षेप र विदेशी निक्षेपका लागि बैंकको ब्राण्डिङलाई समेत अघि बढाईने बताए । बैंकले यातायात, कृषि, उर्जा, पर्यटन, बिषेश आर्थिक क्षेत्र, आधुनीक शहरी पूर्वाधार, सूचना प्रविधीलगायतका क्षेत्रमा लगानी गर्नेछ । नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको बैंकको मुख्य कार्यक्षेत्र अन्र्तगतराष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्नेछ । पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्य स्रोत जुटाउने रहेको छ ।