नारायणगढ-मुग्लिन सडकका १४ पुल बनाइँदै, एक महिना भित्र प्रक्रिया थालिने
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महिना भित्रमा थालिने भएको छ । सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवतजावत गर्न कठिन हुँदै आएको छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनियर दीपक भट्टराईका अनुसार नक्साङ्कन गरी निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिँदै छ । उनले आवश्यक कागजपत्र अन्तिम चरणमा पुगेकाले विश्व बैंकसँग सहमति लिनुपर्ने भएकाले केही दिन लाग्ने बताए । सवारी साधन आवागमनमा समस्या भइरहेकाले छिटो पुल निर्माण सक्ने गरी काम अघि बढाइने उनले जानकारी दिए । सडक नौ देखि ११ मिटर चौडा छ । सडक बराबर चौडा पुल बनेपछि मात्र सवारी साधन आवागमनमा सहज हुनेछ । भट्टराईका अनुसार पुल निर्माणमा एक अर्ब हाराहारी खर्च लाग्ने अनुमान छ । शुरुमा नेपाल सरकारले भुक्तानी गर्ने गरी पुल बन्ने बताउँदै उनले पछि सो भुक्तानी विश्व बैंकले ऋण स्वरुप दिने जानकारी दिए । सो सडकका १८ पुलमध्ये चारवटा पुल निर्माणको क्रममा रहेका छन् । जटिल काम भएकाले ठेकेदार कम्पनीले नक्साङ्कनका लागि विदेशी विज्ञसमेत झिकाउनुपर्ने देखिएको छ । राजधानी काठमाडोँ भित्रने र बाहिरने देशकै प्रमुख सडक भएकाले दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् । रासस
रङ्गशाला बनाउन जुटे धुर्मुस-सुन्तली, साढे पाँच करोड रकम सङ्कलन
चितवन । रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म पाँच करोड ५० लाख सङ्कलन भएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिए । धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि तीन अर्ब लाग्ने जनाएको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको उनले जानकारी दिए । चितवनवासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उनले बताए । “रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने । रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताए । आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको छ । अध्यक्ष कट्टेलले हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको बताए । समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागी रहेको बताउँदै उनले यसपछि यही कामबाट अन्य काम गर्ने बताए । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । “विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ”, उनले भने । रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उनको भनाइ थियो । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताए । एक महिना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेशनसँग जग्गा सम्झौता भएको थियो । रासस
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु
जिरी । दोलखामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु भएको छ । आयोजनाको लट २ अन्तर्गतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको हो । चार सय ५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ लिमिटेडले गर्न नसकेपछि काम टुक्र्याएर अष्ट्रियाली कम्पनी एन्ड्रिज हाइड्रो जिएमबीलाई दिएको डेढ महिनामै पाइप जडानको काम शुरु भएको हो । आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्ड्रिजले पाएको छ । तल्लो पेनस्टक साफ्ट ३७३ मिटरको ठाडो सुरुङ छ । आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङसहित बाँकी काम टेक्सम्याको आफैँले गर्ने सहमतिअनुसार उसले पनि पाइप जडानको काम शुरु गरेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । सम्झौता भएलगत्तै एन्ड्रिजले काम शुरु गरेको थियो । दुवै साफ्टको सम्पूर्ण तयारी पूरा गरेर सुरुङको माथिबाट तल पाइप झारेर जडान शुरु भएको उनले बताए । अब पाइप जडानको काम शुरु भएकाले आयोजना समयमै बन्नेमा विश्वास बढेको प्रतिक्रिया दिए । पेनस्टक पाइप ढुवानी र जडानकै कारण आयोजनाको उत्पादन मिति लम्बिरहँदा आयोजना व्यवस्थापन, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयको पहलमा भएको वार्तापछि उक्त काम एन्ड्रिजलाई दिने सम्झौता भएको थियो । गत पुसको तेस्रो साता एन्ड्रिलाई तल्लो पेनस्टक साफ्टको काम दिनेबारे त्रिपक्षीय सम्झौता भएको छ । आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्ड्रिजलाई दिएको हो । सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ । टेक्सम्याकोले अहिले कबुल गरेको कामसमेत गर्न नसके ती पनि एन्ड्रिजलाई दिनसक्ने स्थिति रहेको डा न्यौपानेले बताउनुभयो । आयोजनाको हाइड्रोमेकानिकलअन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदिको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङको काम गर्नेछ । आयोजनामा एक हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नुपर्नेछ । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कङ्क्रिटिङको कामसमेत रोकिएको छ । विसं २०७३ साउनदेखि उत्पादन शुरु गर्ने लक्ष्य राखेको आयोजनाले भूकम्पपछि संशोधित गरी २०७५ असारदेखि उत्पादन शुरु गर्ने लक्ष्य निर्धारण गरेको थियो तर लट २ कै कारण नौ महिना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कात्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ । भूकम्प र नाकाबन्दी, अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने प्रशासनिक खर्चलगायतका कारण रु ३५ अर्ब २९ करोड अनुमानित लागतसमेत बढेर ब्याजसहित दोब्बर हुने अनुमान छ । आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युत्गृह गोङ्गरबाट खिम्तीसम्म २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माण चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकल टेक्सम्याको रेल एण्ड इञ्जिनीयरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकल अष्ट्रियाको एन्ड्रिज हाइड्रो जिएमबी र प्रसारणलाइन तथा सबस्टेशन निर्माण भारतको केइसी इन्टरनेशनल लिमिटेडले गरिरहेका छन् । तर फुलासीमा बनाउने सबस्टेशनको काममा पनि ढिलाइ छ । रासस