बाहिरी चक्रपथमा मुआब्जा दिन सकिन्न, ल्याण्ड पुलिङमै अघि बढाउनुः अर्थमन्त्रालय

काठमाडौं । अर्थमन्त्रालयले बाहिरी चक्रपथ आयोजनामा मुआब्जा दिन नसकिने स्पष्ट पारेको छ । अर्थमन्त्रालयले शहरी विकास मन्त्रालयलाई पत्र लेखेर बाहिरी चक्रपथ आयोजनामा मुआब्जा दिएर जमिन अधिग्रहण गर्न नसकिने स्पष्ट पारेको हो । अर्थमन्त्रालयले शहरी विकास मन्त्रालयलाई लेखेको पत्रमा -‘बाहिरी चक्रपथ निर्माणका लागि आवश्यक जग्गा मुआब्जा दिई प्राप्त गर्न व्ययभारको दृष्टिकोणले धान्न सकिने देखिँदैन । अतः ल्याण्ड पुलिङ गरि राइट अफ वे यकिन गर्ने तर्फ जारी प्रक्रियालाई पुर्णता दिने र सो पुरा भएपछि मात्र निर्माणको विभिन्न विकल्पमा छलफल गर्न उपयुक्त हुने ।’, लेखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिस्तरिय निर्णय गर्दै आयोजनाको जग्गा अधिग्रहण गर्न नसक्ने स्पष्ट पारेका हुन् । अर्थले मंसिर ५ गते शहरी विकास मन्त्रालयललाई पत्र लेखेर बाहिरी चक्रपथबारे आफ्नो धारणा स्पष्ट पारेको हो । शहरी विकास मन्त्रालयमा सो पत्र मंसिर ९ गते दर्ता गरिएको छ । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले जुलाई २२, २०१८ मा चाइना इञ्जिनियरिङ कर्पाेरेशन लिमिटेडलाई इपिसिएफ मोडलमा अघि बढाउने सम्बन्धमा अर्थमन्त्रालयको राय मागेका थिए । अर्थमन्त्रालयले मुआब्जा दिन नसकिने स्पष्ट पारेपछि बाहिरी चक्रपथ आयोजनाले ल्याण्ड पुलिङ मार्फत नै आयोजना अघि बढाउने गरि जग्गा अधिग्रहणको प्रस्ताव मन्त्रालयलाई बुझाएको आयोजना प्रमुख दिलिप भण्डारीले बताए । ‘अर्थमन्त्रालयको पत्रको राय अनुसार नै जग्गा अधिग्रहणको फाइल मन्त्रालयलाई बुझाएका छौं, केहि समयभित्रै मन्त्रिपरिषदमा पेश हुन्छ होला’, आयोजना प्रमुख भण्डारीले विकासन्युजसँग भने । मन्त्रालयले ७२ किलोमिटर लामो बाहिरी चक्रपथको डीपीआर नयाँ बनाउन लागेको थियो ।  २०७४ गत बैशाख १३ गते चोभार–सतुंगल खण्ड ६.६१३ किलोमिटरको निर्माण आरम्भ गर्ने भनिएको थियो । अनुमानित लागत ६ अर्ब ५० करोड रूपैयाँ हुने सो खण्डको काम मात्रै नभएर अब ७२ किलोमिटरकै जग्गा अधिग्रहण गर्ने तयारीमा मन्त्री पुगेका छन् । केहि खण्डको मात्रै काम अघि बढाउँदा भूमाफियाहरुको चलखेल बढ्ने भन्दै पुरै खण्डको जग्गा रोक्का गर्ने बताउँदै आएका छन् । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्ने योजना छ ।

गौरवका आयोजना निर्माणमा ढिलाइ, आयोजना प्रमुख र छोटो अवधिको सरकार कारक

काठमाडौं । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा “पार्वती”ले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय र छिटो सम्पन्न गर्न समितिले दबाब दिइरहेको बताए । राज्यको तहगत संरचना र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भई सरकारले २१ वटा महत्वपूर्ण गौरवका आयोजनाको घोषणा गरेको छ । सरकार आवश्यक बजेट दिएता पनि काम नभएको भन्दै थापाले ती आयोजना समयमा सम्पन्न हुन नसक्नुको कारण आयोजना प्रमुखको फेरवदल,बन्द हड्ताल, छोटो अवधिका सरकार रहेको बताए । यी आयोजनालाई तोकिएको समयमा गुणस्तर कायम गर्ने हिसाबले सम्पन्न गर्नका लागि केन्द्रीत भएको बताए । सभापति थापाले धेरैजसो त्यस्ता आयोजनाको समय सीमा सकिएको भन्दै काममा ढिलासुस्ती भएको भन्दै भनाई राखेका थिए । अहिले सम्म २० वटा गौरवका आयोजनाका सरोकारवालासँग समितिले छलफल गरिसकेको छ । भेरी बबई डाइभर्सन, पोखरा विमानस्थल, लुम्बिनी गौतमबुद्ध विमानस्थलमा दु्रतगतिमा काम भइरहेको छ । आयोजना रहेका रक्षाबाहेकका सबै मन्त्रालयसँग छलफल गरिसकेको जानकारी दिएका छन् । रासस

खानेपानी मन्त्री मगरले भनिन्- विकासको काममा कसैले अवरोध नगरौं

कंचनपुर । खानेपानी मन्त्री बिना मगरले विकासको काममा रचनात्मक र सकारात्मक भुमिका खेल्न प्रतिपक्ष दललाई आग्रह गरेकी छन् । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा थारु कल्याणकारी सभाले आयोजना गरेको प्रथम बेलौरी माघी मेलाको उद्घाटन कार्यक्रममा पुगेकी खानेपानी मन्त्री मगरले विकासको काममा सबैको भुमिका अपरिहार्य भएको बताइन् । विकासको काम सबैको दायित्व भएको बताउँदै यसमा कसैले अवरोध पुर्याउन नहुने धारणा राखिन् । थारू संस्कृतिको सम्बर्द्धनको विषयमा उनले गाउँगाउँ बीच संस्कार तथा परम्पराहरु आदानप्रदान हुनुपर्ने बताइन् । नेपालका विभिन्न जातिले माघी पर्व मनाउने गरेको भन्दै उनले घरआँगनमा सिमित भएको माघी पर्व अब मेला र महोत्सवको रुपमा विकास भएको जानकारी दिइन् । उनले कञ्चनपुरको क्षेत्र नम्बर १ आफ्नै निर्वाचन क्षेत्रमा माघि खेल्न आएको बताइन् । उनले चौधरी समुदायमा देखिएको सिकल सेल एनिमियाको परिक्षण र उपचारमा सरकार गम्भीर रहेको प्रतिबद्धता जनाएकी छिन्। मन्त्री मगर यसै क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । थारूहरूको महान पर्व माघे सकान्तिको अवसरमा थारू कल्याणकारिणी सभा बेलौरी नगर समितिले आयोजना गरेको यस माघी मेला ३ दिन सम्म चल्नेछ । कार्यक्रममा उपस्थित कार्यक्रमका विशिस्ट अतिथि प्रदेश सभा सदस्य सांसद कुलवीर चौधरीले थारु संस्कृतिलाई जगेर्ना गर्न सबैलाई आह्वान गरिन् । उनले थारु संस्कृति, खाना, रितिरिवाजको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । “थारू एकता हमार सान, शिक्षा भाषा सँस्कृती पौर्हैटी लैजीना हमार अभियान” भन्ने मुल नाराका साथ बेलौरीमा पहिलो पटक आयोजना भएको बृहत् मेलामा जातिय पहिचान, भाषा, धर्म तथा सँस्कृतीको जगेर्ना गर्ने मुख्य उद्देश्य राखिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताइन् । तराईका चौधरी समुदायमा देखिने वंशाणुगत रूपमा सर्ने रक्तअल्पता सम्बन्ध रोग सिकल सेल एनिमिया’का कारण धेरैले ज्यान गुमाउनु परिरहेको सिकल सेल एनिमिया रोग न्यूनीकरण समिति बेलौरीका संयोजक पिताम्बर चौधरीले बताए । उनले रोगको पहिचान गर्दै ल्याव तथा औषधिउपचारमा निशुल्क व्यवस्था गर्न नेपाल सरकारलाई खानेपानी मन्त्री वीना मगरमार्फत आग्रह गरे । मेलामा थारू खानाका परिकार बंगुरको मासु, माछा, बयरको चटनी, ढिक्री, सिन्की, तिलको अचार, जाँडको झोल आदी राखिएका छन् । कार्यक्रममा थारु समुदायको कला संस्कृति झल्किने झाँकी, मघौटा नाच, मुङ्ग्रह्वा नाच, झुम्रा नाचको प्रदर्शन गरिएको छ । छुट्टै पहिचान बोकेको थारु संस्कृतिको जगेर्नागर्दै नयाँ पुस्तालाई आफ्नो कलासंस्कृति प्रतिको सम्मान र सम्बर्द्धन गर्न मेला आयोजना गरिएको थारू कल्याणकारिणीसभा बेलौरी नगर संयोजक खड्ग बहादुर चौधरीले जानकरी गराए । थारु समुदायको बाहुल्यता भएको कञ्चनपुर जिल्लाको पुनर्वास, लालझाडी, बेलौरी र बेलडाँडीका १० हजारभन्दा धेरैले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वाले जानकारी दिएका छन् ।