आइतबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको गृह घोषणा

चितवन । भरतपुर महानगरपालिकामा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तामझामसहित गृह घोषणा तथा डीपीआर शुभारम्भ आइतबार गरिने भएको छ । गत माघ १६ गते काठमाडौंबाट निर्माण थाल्ने घोषणा गरिएको रंगशालाको निर्माणस्थलमा काम थालनी गर्ने गरी समारोह आयोजना गरिएको छ । शनिबार बिहान महानगर कार्यालयमा सम्पन्न सर्वपक्षीय छलफलले तय गरेको कार्यक्रमअनुसार रंगशाला निर्माण गर्ने धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलसहितको र्‍याली भरतपुरको चौबिसकोठीबाट निर्माणस्थलसम्म जानेछ । आइतबार बिहान १० बजे कट्टेललाई भरतपुर विमानस्थलमा स्वागत गरेपछि चौबिसकोठीबाट र्‍याली सुरु गरिनेछ । यस्तै, मंगलपुरबाट १६ नम्बर वडा कार्यालय हुँदै निर्माणस्थल पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले जानकरी दिइन् । र्‍याली तथा समारोहमा उपस्थित हुन दाहालले सबै खेलप्रेमीलाई राष्ट्रिय झण्डासहित उपस्थित हुन आह्वान गरेकी छन् । र्‍यालीमा खेलाडी, उद्योगपति, पेशाकर्मी, नागरिक समाज, युवा विद्यार्थी सबैलाई सहभागी हुन उनकोे आग्रह छ । र्‍यालीपछि निर्माणस्थलमा रंगशालाको जिल्ला घोषणा र डीपीआर शुभारम्भको घोषणा गरिने छ । रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर १५ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको छ । २० विघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्ने भएको हो । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ ।

१३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण शुरु, ५१ करोडमा ठेक्का सम्झौता

भरतपुर । चितवनमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माणको काम शुरु भएको छ । पूर्वी चितवनमा विद्युत् आपूर्ति सहज बनाउन निर्माण गर्न लागिएको सवस्टेशनको ठेक्का सम्झौता गरेर काम थालिएको हो । राप्ती नगरपालिका–६ हर्दिको साढे तीन बिघा क्षेत्रफलमा सवस्टेशन निर्माण गरिनेछ । अनुमानित लागत ५३ करोड रहेको आयोजनाको ५१ करोडमा ठेक्का सम्झौता भएको हो । नेपाल सरकारको लगानीमा निर्माण हुन लागेको आयोजना निर्माणको जिम्मा चीनको सिक्युएनइसी र नेपालको नेपाल हाइड्रो जेभीले पाएका छन् । सम्झौता लागू भएको मितिले २१ महिनामा आयोजना निर्माणको काम सक्नुपर्ने पूर्वी चितवन १३२ केभी सवस्टेशन आयोजनाका प्रमुख रमणराज शर्माले जानकारी दिए । आयोजना निर्माण सम्पन्न भइसकेपछि पूर्वी चितवन र समग्र चितवनलाई कम्तीमा १० वर्षका लागि सहजरुपमा विद्युत् आपूर्ति गर्न सकिने उनले बताए । “नयाँ सवस्टेशनबाट अहिले आइरहेको भन्दा ठूलो कन्डक्टरबाट एक सर्किट बढी क्षमतामा ३३ केभी विद्युत् चैनपुर सवस्टेशनलाई उपलब्ध गराउँछौँ”, शर्माले भने, “११ केभी सवस्टेशनबाटै वितरण हुनेछ ।” हेटौँडा भरतपुर १३२ केभी प्रसारण लाइनबाट हर्दि सवस्टेशनमा विद्युत् जोडिने जानकारी दिए । सवस्टेशन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालित भएर प्रारम्भिक चरणको काम शुरु गरिएको छ । भरतपुरबाट प्रसारण हुने विद्युत्को क्षमताले पूर्वी चितवनलाई धान्न नसकेकाले सवस्टेशन निर्माण गर्न लागिएको चितवन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए । आयोजना समयमै निर्माण सम्पन्न गर्नका लागि निरन्तर निगरानी गरिने उनको भनाइ छ । भरतपुर सवस्टेशनबाट अहिले पूर्वी चितवनका लागि ३३ केभी प्रसारण लाइनबाट ३० एमभिएको पावर ट्रान्सफर्मररबाट चैनपुर सवस्टेशनमा विद्युत् आपूर्ति हुने गरेको छ । भरतपुर सवस्टेशनबाट पश्चिम चितवनका लागि ३३ केभी प्रसारण लाइनबाट ३० एमभिएकै ट्रान्सफर्मरमार्फत चनौली सवस्टेशन र ११ केभी प्रसारण लाइनमार्फत १५ र २२।५ एमभिएको दुईवटा पावर ट्रान्सफर्मरबाट भरतपुर र नारायणगढ क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ । हर्दिमा १३२ केभी क्षमताको विद्युत् सवस्टेशन निर्माण भए भरतपुरबाट पूर्वी चितवन जाने विद्युत् भरतपुर क्षेत्रमै खपत गर्न सकिने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए । उनले सवस्टेशन नहुँदा दैनिकरुपमा ट्रान्सफर्मर जल्ने, बिग्रने र विद्युत् भोल्टेजलगायतका समस्या देखिने गरेको बताए । रासस

दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम द्रुत गतिमा

काठमाडौं । समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर छ । विमानस्थलको नाली निर्माण र तारबार लगाउने काम सकिएको र गिट्टी फिजाएर अल्कत्रा छर्ने काम मात्रै बाँकी रहेकाले आउँदो फागुन महीनासम्म कालोपत्र पनि गरिसक्ने त्यहाँ कार्यरत सपना गाल्भा जेभी निर्माण कम्पनीले जनाएको छ । रु ६ करोडको लागतमा सो विमानस्थल निर्माणका लागि बोलपत्र स्विकृत गरिएको थियो । करीब डेढ दशकभन्दा बढी समयसम्म बन्द रहेको उक्त विमानस्थल विसं २०७५ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भए पनि निर्माण व्यवसायीको लापरवाहीका कारण एक वर्ष ढिलो गरी निर्माण हुन थालेको स्थानीयवासीले बताए । लम्बाइ ४९५ मिटर र २० मिटर चौडाइको धावनमार्ग भएको उक्त विमानस्थल कालोपत्र हुन थालेसँगै स्थानीयवासी खुशी भएका दीपायल–सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काको भनाई रहेको छ । निर्माणकार्य पहिले नै सक्नुपर्ने हो तर फागुनमा सकिने जानकारी दिएकाले स्थानीयवासी खुशी भएका छन् ।” पछिल्लो समय विमानस्थलको काम देखेर वर्षौंदेखिको विमान सञ्चालन हुने सपान अब पूरा हुन्छ कि भन्ने आशा पलाएको अर्का स्थानीयवासी मोहन पनेरुले बताएका छन् । विमानस्थल सञ्चालनमा आउन सकेको खण्डमा सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका स्थानीयवासीलाई समेत हवाई यात्राका लागि सहज हुनुका साथै यहाँको पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काको भनाई छ। रासस