काष्ठमण्डप पुनःनिर्माण पुरानै स्वरुपमा, कामपाले दियो रु ५ करोड ५० लाख

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी तीव्ररुपमा थालिएको उक्त कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेशे शाक्यले बताएका छन् । शाक्यले भने, “निर्माणको समयमा समितिले लिएको लक्ष्यअनुरुप नै काम भइरहेको हुनाले निर्धारित समयमा नै सकिनेछ ।” अध्यक्ष शाक्यका अनुसार २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गरिनेछ । यसरी, गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । निर्माणका लागि यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम सहित चार थाम उठाइएको थियो । प्रयोग गरिएका उक्त चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ । कामपाले पुनःनिर्माण समितिलाई हालसम्म पाँच करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिसकेको छ । काष्ठमण्डपलाई प्राचीनस्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुने छैन । आठ फिटभन्दामाथिका एक हजार २५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ । भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा, माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो । विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्णरुपमा क्षति पुगेको थियो । अघिल्लो वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिएको थियो । क्षमा पूजा कुनै पनि काम गर्दाको अवधिमा कुनै पनि किसिमको बाधा अवरोध नआओस् भनेर गरिने कार्य हो । रासस

मेलम्चीको पाइपलाइन बिछ्याउने जग्गाको मुआब्जा ‘१५ दिनभित्र लिनू’

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन बिछ्याउने कार्यको लागि भक्तपुरको सूर्यबिनायक ६(साविक कटुञ्चे गाविस) र मध्यपुर थिमी ९(साबिक निलबराही गाउँ पालिकाका) मा पर्ने १३ कित्ता जग्गाका धनी र मोहीहरुले मुआब्जा पाउने भएका छन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको नाममा जग्गा प्राप्त गर्नका लागि लागि मुआब्जा निर्धारण समितिको बैशाख ३१ गतेको निर्णय अनुसार मुआब्जा वितरण गर्न लागिएकाले १५ दिन भित्र सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । साबिको कटुञ्चेका विश्वराम सुवाल, उत्तम/पुष्पलाल/उद्धव/गौतम सुजखु, विष्णुकेहरी/रविभुषण/तारा/श्रीभुषण सुजखु, बासुनारायण सुवाललाई मुआब्जा लिन आउन सूचित गरिएको छ । त्यसैगरी साबिकको निलबहारीका बाबुकाजी, रामबहादुर, कान्छीमाया राजबाहक, ललिता राजबाहक, कान्छी राजबाहक, बेदभक्त/पञ्चकृष्ण श्रेष्ठ, श्यामकुमार राजबाहक र मिश्रीमाया राजबाहकलाई जग्गाधनी/मोहीहरुले आ–आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाणपत्र सहित मुआब्जा बुझिलिन काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, भैसेपाटीमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।

कलंकी-महाराजगञ्ज सडक क्षेत्रमा पर्ने संरचना नहटाए भत्काइने

काठमाडौँ । कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सडक क्षेत्रभित्र रहेका स्थायी वा अस्थायी संरचनाहरु १५ दिन भित्र नहाटाए भत्काइने भएको छ । सडकको केन्द्रबिन्दुबाट दायाँबाँया दुबैतर्फ ३१–३१ मिटर सम्मको सडक सीमा कायम गरिएको छ । सो क्षेत्रभित्र पर्ने घर, टहरा, घुम्ती, बिग्रिएका सवारी, हार्डवेयर पसलका सामान र अन्य प्रकृतिका पसल राख्न काठमाडौँ चक्रपथ सुधार आयोजनाले निषेध गरेको छ । त्यस्ता संरचना १५ दिनभित्र हटाएर सडक खाली नगरे सार्वजनिक सडक ऐन २०३१ को दफा १८ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालयले भत्काउने जनाएको छ । त्यसरी भत्काउँदा लाग्ने खर्च समेत सम्बन्धित संरचना धनीहरुसँग असुलउपर गरिने चक्रपथ सुधार आयोजनाले जनाएको छ ।