१३२/३३ केभीको रुपनी सबस्टेसन संचालन, ‘३६ करोड रुपैयाँमा तयार’

काठमाडौँ । सप्तरीको विद्युत् आपूर्तिलाई विश्वसनीय र गुणस्तरीय बनाउन रुपनीमा निर्माण गरिएको १३२/३३ केभी सब स्टेसन संचालनमा आएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ३६ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको रुपनी सबस्टेसन सोमबारबाट संचालन (चार्ज)मा आएको हो । अब पूर्व पश्चिम १३२ केभी राष्ट्रिय प्रसारण प्रणालीबाट प्रवाह भएको विद्युतलाई रुपनी सबस्टसन मार्फत सप्तरीमा आपूर्ति हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘सिराहाको लाहानबाट करिब २५ किलोमिटर ३३ केभी लाइनमार्फत विद्युत् ल्याएर रुपनीमा रहेको ३३/११ केभी सबस्टेसनबाट सम्तरी विभिन्न ठाउँमा आपूर्ति भइरहेको थियो, लामो दुरीबाट विद्युत ल्याएर आपूर्ति गर्दा कम भोल्टेज, प्राविधिक चुहावट, लाइन ट्रिप हुने लगायतका समस्या थिए,’ घिसिङले भने । ‘अब पूर्व पश्चिम १३२ केभीमार्फत प्रवाह भएको विद्युत्लाई रुपनी सबस्टेसन मार्फत सप्तरीमा वितरण हुन्छ, यसबाट त्यस क्षेत्रको भोल्टेजमा सुधार हुन्छ, प्राविधिक चुहावट घट्छ र उपभोक्ताले विश्वसनीय तथा गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउँछन् ।’ रुपनी सबस्टेसनबाट ५ वटा फिडरमार्फत सप्तरीका राजविराज, बलरदा, बरसाइन लगायतका क्षेत्रमा विद्युत आपूर्ति गरिएको आयोजना प्रमुख निरञ्जन साह सुडीले जानकारी दिए । सबस्टेसन निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशन र मुडबरी एण्ड जोशीको संयुक्त उपक्रम (जेभी)सँग २०७२ को भदौमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ । मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजरकोटको कुदु, प्यूठानको दम्ती, वर्दियाको राजापुर, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् । चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुनेछन् । प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ । सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

६ करोडको लागतमा सडक विस्तार शुरु, लम्बाई कति ?

भक्तपुर । सङ्घीय सरकारको रु छ करोडको लागतमा सूर्यविनायक नगरपालिका–२ बालकोट हुँदै वडा नं १ सिरुटारबाट बिरुवासम्मको सडक विस्तारकार्य शुरु भएको छ । उक्त सडक करीब छ किलोमिटर लम्बाइ र फुटपाथसहित ३६ फिट चौडाइ रहने गरी सडक विस्तारसँगै कालोपत्र गर्ने कार्य आजबाट शुरु भएको हो । सडक विस्तारको कार्यको शिलान्यास कार्यक्रममा सोमबार साँझ भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले विकासमा पछाडि परेको भक्तपुरमा विकासको मूल फुटेको र सिङ्गो भक्तपुर मानसरोवर रहेको बताए । बस्नेतले भने, “भक्तपुरको विकासले मुहार फेर्न शुरु गरेको छ, अरनिको राजमार्गसँग जोड्ने १३ भित्री सडक विस्तार भइरहेको छ, काठमाडौँको बालकुमारीदेखि रानीकोट, साँगासम्मको भित्री सडक निर्माण हुँदैछ, बालकोटदेखि ललितपुरको लुभु सडक, ठिमीबाट दधिकोट बिरुवा जाने सडक विस्तार हुँदैछ, पछाडि परेको भक्तपुरले अब विकासको मुहार फेर्छ ।” उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु दुई करोड ५० लाखको कार्यक्रम भक्तपुरमा शुरु हुनलागेको बताउँदै खानेपानीको अभावसमेत मेट्ने गरी विकासका लागि आफू लागिपरेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य शशीजङ्ग थापाले भक्तपुरमा पनि विकासमा पछाडि परेको सूर्यविनायकमा जनप्रतिनिधि आएसँगै विकासको लहर आएको बताए ।

९३.६ किमी विद्युतीय रेलमार्ग निर्माण, एक हजार ५६ किमीको अध्ययन

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६ किमी मार्ग निर्माण सम्पन्न भएको उल्लेख छ । यसैगरी जयनगर-कुर्था ३५ र कुर्था-बिजुलपुरा १७ किमीको ट्रयाक बेडको निर्माण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका मेट्रोरेलअन्तर्गत सातदोबाटो-नारायणगोपालचोक २० किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । खोकना-सातदोबाटो र नारायणगोपाल चोक बूढानीलकण्ठसम्मको १० किमीको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको छ । बिजुलपुरा बर्दिवास खण्डको मुआब्जा वितरण शुरु भएको जनाइएको छ । चीन सरकारको सहयोगमा केरुङ-काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भएको छ । पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विस्तृत अध्ययनको प्रक्रिया अघि बढेको सर्वेक्षणमा उल्लेख छ । भारत सरकारको सहयोगमा वीरगञ्ज-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन शुरु भएको छ । मेची-महाकाली रेलमार्गको लम्बाइ ९४५ किमी छ । लिङ्क मार्गसहित एक हजार ५६ किमी रेलमार्गको विस्तृत अध्ययन सम्पन्न भएको जनाइएको छ ।