मस्र्याङ्दी करिडोर प्रशारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न समिति गठन
काठमाडौँ । सरकारले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधानका लागि एक समिति गठन गरेको छ । समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, गोरखाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद, पालुङटार नगरपालिकका प्रमुखलगायत रहेको समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र समस्या समाधान गर्ने ठोस कार्ययोजनासहितको प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको छ । प्रसारण लाइनबाट प्रभावित हुने हाल बन्द अवस्थामा रहेको पालुङटार विमानस्थल र प्रस्तावित स्मार्ट सिटीलाई कुनै समस्या नहुने गरी आयोजना अगाडि बढाउनुपर्ने माग उठ्दै आएको छ । बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले उक्त प्रसारण लाइन रणनीतिक महत्वका भएकाले तोकिएको समयमै सम्पन्न गर्ने गरी सरोकार भएका सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिएका थिए । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, शहरी विकासमन्त्री इस्तियाक मोहम्मद राई, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रियसभा सदस्य सुरेन्द्र पाण्डेलगायतको सहभागिता रहेको थियो । रासस
मर्मत हुँदै पूर्वपश्चिम राजमार्ग, सडक कार्यालयले उपलब्ध गरायो साढे २७ करोड
भिमदत्तनगर । मुलुककै जेठो पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीदेखि अत्तरियासम्म ‘पाइलोट सडक मर्मत’ कार्यक्रमअन्तर्गत महेन्द्र राजमार्ग मर्मत शुरु भएको छ ।डिभिजन सडक कार्यालयले राजमार्ग मर्मतका लागि रु २७ करोड ७३ लाख ७७ हजार बजेट उपलब्ध गराएकामा रु १७ करोड ९६ लाखमा मर्मत गर्ने गरी कालिका–जोशी जेभी निमार्ण कम्पन्नीसँग गत फागुनमा ठेक्का सम्झौता भएको थियो। उक्त कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीले कैलालीको चिसापानीदेखि अत्तरीया बजारसम्मको नियमित मर्मत सो कम्पनीले गर्नेछ । सो योजनाअन्तर्गत सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने, नाला मर्मत, रेलिङ मर्मत, कल्भर्ड मर्मत र सडक बन्द भए अवरोध पनि हटाउने कार्यसमेत हुने उनको भनाइ थियो ।“गत फागुनदेखि पाइलोट सडक मर्मत कार्यक्रमअन्तर्गत राजमार्ग मर्मत हुँदैछ ।” सूचना अधिकारी जोशीले भने, “राजमार्ग जीर्ण हुनाका साथै दुर्घटना पनि बढ्न थालेपछि मर्मत गर्न लागिएको हो ।” त्यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत गड्डाचौकीदेखि भीमदत्तनगर बजारसम्म पाँच किलोमिटर सडक दुवैतर्फ चौडा गरिएको उनले जानकारी दिए । चालू आवमा गड्डाचौकीदेखी कैलालीको अत्तरियासम्म सडक मर्मतका लागि रु पाँच करोड विनियोजन गरिएको थियो ।“पश्चिमी सिमानादेखि नै राजमार्ग मर्मत शुरु गर्छौ ।” उनले भने, “नेपाल भ्रमण वर्षलाई पनि टेवा पुगोस् भन्ने हाम्रो पनि उद्देश्य हो ।” कार्यालयले चालू आवमा राजमार्ग छेउमा रहेका बिजुलीका पोल र रुख हटाउने कार्य गर्ने जनाएको छ । रासस
व्यस्त सडक नै बन्याे तेलका ट्याङ्करको पार्किङस्थल, जाेखिममा स्थानीयबासी
भद्रपुर । नेपाल आयल निगमको चारआली कार्यालयमा पार्किङस्थलको अभाव भएकाले सदरमुकाम जोड्ने व्यस्त सडक नै तेलका ट्याङ्करको पार्किङस्थल बन्न पुगेको छ । मेचीनगर–१३ चारआलीमा रहेको निगमको कार्यालयमा पेट्रोलियम पदार्थ बोकेका दैनिक ५० वटासम्म ट्याङ्कर भित्रिने गरेका छन् । तेल अनलोड गरिसकेपछि खाली ट्याङ्कर झापाको सदरमुकाम जोड्ने चारआली–चन्द्रगढी सडकमा दिनरात लस्कर लागेर पार्किङ गरिँदै आएका छन् । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाबाट आउने सवारीसाधन चारआलीको सोही सडक हुँदै चन्द्रगढी जाने गर्छन् तर बाटोभरि ट्याङ्करको अव्यवस्थित पार्किङ हुँदा दुर्घटनाको जोखिम बढेको छ । निगमको कार्यालय परिसर छ बिघाको मात्र छ । साँघुरो परिसर भएकाले निगमभित्रै खाली ट्याङ्करलाई पार्किङको व्यवस्था मिलाउन नसकिएको कार्यालयका सूचना अधिकारी लोकमणि पौडेलले बताएका छन् । तेल अनलोड गरिसकेपछि ट्याङ्करलाई व्यस्त सडक र बस्तीमा पार्किङ गर्न दिन नहुने स्थानीयवासीको माग छ । दिनरात पार्किङ गरिँदा ट्याङ्करबाट निस्कने प्रदूषणयुक्त धुँवाले वातावरण बिग्रिएको, आगलागी र दुर्घटनाको उच्च जोखिम भएको र गाडीका स्टाफले अश्लिल कुरा बोल्ने गरेकाले बालबालिकामा नकारात्मक असर परेको स्थानीय सर्पदंश टोल विकास संस्थाका सचिव हेमराज भट्टराई बताउँछन् । सडकबाट पार्किङ हटाउन पटकपटक माग गर्दा प्रहरी प्रशासनले समेत बेवास्ता गरेको स्थानीयको गुनासो छ । केही वर्ष अघि यसरी नै पार्किङ गरिएको ट्याङ्करमा आगलागी हुँदा त्रास फैलिएको थियो । त्यसबेला बेलैमा आगो निभाइएका कारण धेरै क्षति हुन पाएको थिएन । चारआली–चन्द्रगढी सडकखण्ड झापाको व्यस्त सडकमध्येमा पर्दछ । यही बाटो भएर चन्द्रगढी विमानस्थल र मेची अञ्चल अस्पतालमा सर्वसाधारण यात्रा गर्छन् । ट्याङ्कर पार्किङ हुँदै आएको यही सडक क्षेत्रमा नेपाली सेनाको चारआली गण र सर्पदंश उपचार केन्द्रसमेत रहेको छ । साँघुरो सडकका दुवै किनारमा लस्करै राखिएका ट्याङ्करका कारण जोखिम मोलेर सवारी चलाउनु परिरहेको सो सडकमा मिनी बस चलाउँदै आएका सवारी चालक कनक राजवंशी बताउँछन् । अधिकांश ट्याङ्करका चालकले सडक आसपासका घरमा नै डेरा लिएर बसेका छन् । निगमले उचित पार्किङ स्थानको व्यवस्था गरिदिए सडकमा यसरी अस्तव्यस्तता सिर्जना हुने गरी पार्किङ नगरिने ट्याङ्कर चालकहरु बताउँछन् । रासस