अब एक करोड सम्मका योजनामा डोजर प्रयोग गर्न नपाइने

जाजरकोट । वातावरणमा नराम्रो प्रभाव परेको भन्दै कुशे गाँउपालिकाले रु एक करोडमुनिका आयोजनामा डोजर/स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । साना आयोजनामा पनि डोजर प्रयोग गर्दा स्थानीय युवा बेरोजगार भई विदेश पलायन हुन थालेपछि गाउँपालिकाले डोजर प्रतिबन्ध लगाउने निर्णय गरेको हो । रु एक करोडभन्दा कम बजेटका आयोजनामा यसै आर्थिक वर्षदेखि डोजर प्रयोग गर्न नपाइने गरी कार्यपालिकाले निर्णय गरेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् । तर प्राविधिकले डोजर प्रयोग नगर्दा आयोजना सम्पन्न गर्न नसकिने भन्दै सिफारिश गरेको खण्डमा भने प्रयोग गर्न सकिने जनाइएको छ । गाउँपालिकाले दुई वर्षको अवधिमा १२ सडक आयोजनाअन्तर्गत १४२ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको छ । अब तीन वटा सडकको मात्र ट्र्याक खोल्न बाँकी छ । ट्र्याक खोल्न बाँकी र सडकको स्तरोन्नति पनि स्थानीय युवा परिचालन गरेर गरिने अध्यक्ष बस्नेतले बताएका हुन् । उनले भने, “गाँउका सडक आयोजनामा डोजरबालाको एकाधिकार देखियो, युवाहरु काम नपाएर खाडी मुलुक र भारत जान थालेपछि युवा पलायन रोक्न पनि डोजर प्रतिबन्धको निर्णय गर्न बाध्य भएका हौँ ।” अर्कोतर्फ वातावरणीय प्रभाव मूल्याङ्कनविनै जथाभावी डोजर प्रयोग गर्दा पहिराको जोखिम बढ्दै गएपछि पनि सचेतना अपनाइएको गाउँपालिकाले जनाएको छ । “डोजरले काम छिटो भए पनि भू–क्षयको जोखिम निकै बढाउँदोरहेछ, त्यही भएर पनि प्रतिबन्ध लगाउन बाध्य भएका हौँ”, उनले भने । डोजर प्रतिबन्धको निर्णय नगर्न डोजर मालिक रहेका केही जनप्रतिनिधिले कार्यपालिकाको बैठकमा विरोध गरेका थिए । विरोधका बाबजुद पनि निर्णय गरिएको छ । निर्णय कार्यान्वयन गरेर युवा परिचालनका माध्यमबाट गाउँमै रोजगारी सिर्जना गरी युवा पलायन रोक्ने उनले जानकारी दिएका छन् । अध्यक्ष बस्नेतले भने, “कुशे गाउँपालिकाका नौ वटै वडामा सडकको ट्र्याक खुलिसकेको छ, अब स्तरोन्नति गर्न बाँकी छ, त्यो सबै काम स्थानीय नागरिकबाटै गराउँछौं ।” कुशेका तीन वडाध्यक्ष डोजर मालिक छन् । वडा नं २ का वडाध्यक्ष जनकबहादुर शाही, वडा नं ३ का वडाध्यक्ष टेकबहादुर हमाल र वडा नं ६ का वडाध्यक्ष अमरबहादुर शाहीले चुनाव जितिसकेपछि डोजर किनेका बताइएको छ । गाउँपालिकाभित्र खनिएको अधिकांश सडकमा उनीहरुकै डोजरको प्रयोग गरिएको थियो । सडक खन्न डोजर प्रतिबन्ध लगाउने गाउँपालिकाको निर्णयको स्थानीयवासीले स्वागत गरेका छन् । केही वर्षयता डोजर भित्रिएपछि गाउँलेले कामै पाउन छाडेका थिए । काम नपाउँदा उनीहरु कालीपार (भारत) जान बाध्य रहेका थिए । थानीयवासी रामचन्द्र शर्माले भने, “यो एकदमै राम्रो र जनपक्षीय निर्णय छ ।” रु एक करोडमुनिका आयोजना स्थानीय उपभोक्तामार्फत हुने र डोजरवालाले मनोमानी काम गरेर सबैको रोजगारी खोसेकाले यस्तो निर्णय गरिएको वडा नं १ का वडाध्यक्ष गोपाल नेपालीले बताएका छन् । रासस

एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना

गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् । निर्माणाधीन अवस्थामा रहेका, निर्माणको चरणमा प्रवेश गरेका र विद्युत् विभागसँग ‘पिपिए’ गरिएका साना र ठूला गरी १२ जलविद्युत् आयोजनामध्ये अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, छ मेगावाट क्षमताको घलेम्दी खोला र सोही गाउँपालिका–६ घारमा १४ मेगावाटको घारखोला गरी ६२ मेगावाट क्षमताका तीन जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाका अध्यक्ष क्या। डमबहादुर पुनले जानकारी दिए । त्यसैगरी सोही गाउँपालिका–४ नारच्याङमै ३८ मेगावाट क्षमताको निलगिरि प्रथम, ६२ मेगावाटको निलगिरि दोस्रो र ९।१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माणका लागि छुट्टै प्रवेशमार्ग निर्माण भइरहेको नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए । नारच्याङमै २० मेगावाट क्षमताको निलगिरि ग्यास्केट र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज पनि निर्माण हुने भएको छ । प्रस्तावित १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनियाँ कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीसँग संयुक्त लगानीका लागि सम्झौता भइसकेको उनले जानकारी दिए । वडा नं ३ स्थित दानामा चार मेगावाट क्षमताको रुप्सेखोला, ५० मेगावाट क्षमताको मध्यकालीगण्डकी, वडा नं २स्थित तातोपानीमा ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी र वडा नं ६ घारमा ६४ मेगावाट क्षमताको कालीगण्डकी तिप्ल्याङ जलविद्युत् आयोजना सञ्चालन गर्न विद्युत् विकास विभागसँग ‘पिपिए’ भइसकेको उक्त गाउँपालिकाले जनाएको छ । रासस

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु, लागत साढे दुई करोड

काठमाडौं । विभिन्न अध्ययनका आधारमा काठमाडौँमा सबैभन्दा धेरै पैदल यात्रुले सडक वारपार गर्ने स्थानका रूपमा पाइएको नयाँ बानेश्वरमा आकाशे पुल निर्माण शुरु भएको छ । आकाशे पुलको निर्माण आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने योजना रहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । बीचमा फलाम र दुवैतर्फ कङ्क्रिट भएको आकाशे पुल निर्माण गर्न लागिएको डिभिजनका प्रमुख कैलाशकुमार श्रेष्ठले बताएका छन् । सो स्थानमा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालय अगाडि रहेको पुल जस्तै डिजाइनमा पुल निर्माण हुनेछ । पुल निर्माण तोकिएको अवधिभन्दा पनि चाँडो सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । उनले भने, “पुलको निर्माण सकेसम्म चाँडो सम्पन्न गर्न हामीले ठेकेदार कम्पनीलाई भनिरहेका छौँ ।” रु दुई करोड ५० लाख बजेटमा कात्तिकसम्ममा सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएपछि अहिले काम शुरु भएको डिभिजनले जनाएको छ । नयाँबानेश्वर जस्तै कोटेश्वर र बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण गर्ने योजना रहेको प्रमुख श्रेष्ठले जानकारी दिएका छन् । कोटेश्वरमा आकाशे पुल निर्माणका लागि बजेट भए पनि उपयुक्त स्थानको खोजी भइरहेको छ । उनले भने, “स्थान छनोट हुनासाथ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।”